Nepali Traditional Home Treatment System "नेपाली परम्परागत घरेलु उपचार विधि"
शम्भु घिमिरे
shambhughimire7@gmail.com
shambhughimire7@gmail.com
सारसंक्षेप
हाम्रो समाजमा परम्परागत घरेलु तथा मौलिक उपचार विधि अनुसार
उपचार गर्दा कुनै पनि दुष्प्रभाव नहुने तथा रोग निर्मूलहुने विश्वास पाइन्छ । यी उपचार विधिमा रोगको जडलाई पत्तालगाई सोही जडलाई
उपचार गरिने भएकोले निश्चित समयसम्म औषधी सेवन गरेपछि विरामिहरु पूर्णरुपमा
निकोहुने हुँदा दैनिक औषधी सेवन गरिरहनु पर्दैन । त्यसैले यी उपचार विधिका
विज्ञहरु सँग प्रत्यक्ष/परोक्ष सम्पर्कमा रही वहाँहरुको उपचार विधिको अवलोकन गर्दै
तत् तत् विषयमा गहन छलफल गरी वहाँहरुका अनुसार रोग लाग्नुका कारण तथा उपचार विधि
बारे संक्षिप्तरुपमा प्रकाश पार्दै धेरै जसो विज्ञहरुमा समानता रहेका केही रोगको
उपचार विधिहरुलाई संग्रहगरी यस लेखमा प्रस्तुत गरिएको छ ।
परिचय
आफ्ना अग्रज पुर्खाहरुबाट प्राप्त ज्ञानको आधारमा प्राकृतिकरुपमा
प्राप्त जडि-बुटी तथा अन्य वस्तुबाट घरमा औषधी तयार गरी गरिने उपचार पद्धतिलाई परम्परागत
घरेलु उपचार विधि भनिन्छ भने कुनै एक समुदायमा मात्र कायम रहेको उपचार पद्धतिलाई
मौलिक
उपचार विधि
भनिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले परम्परागत उपचार विधिलाई
यसरी परिभाषित गरेको छ "Traditional medicine is the sum total of the
knowledge, skills, and practices based on the theories, beliefs, and
experiences indigenous to different cultures, whether explicable or not, used
in the maintenance of health as well as in the prevention, diagnosis,
improvement or treatment of physical and mental illness".
परम्परागत घरेलु उपचार विधि आयुर्वेद विज्ञानबाट प्रभावित भएको हुन्छ ।
आफना पिता/पुर्खाको अनुभववाट परिष्कृतहुँदै आएकोहुँदा यस विधिको प्रभावकारितामा
आत्मविश्वास पाइन्छ । यस विधि सम्बन्धी जानकारीहरु विभिन्न भोजपत्र, पाण्डुलिपि,
श्रुति, पुस्तकहरुमा पाइन सक्छन् । इच्छुक व्यक्तिले तीव्रइच्छा देखाएमा यो विधा
सिक्ने अवसर उपलब्ध हुनसक्छ ।
मौलिक उपचार विधि कुनै एक समुदायमामात्र सीमित उपचार विधि हो जसको आफ्नै
मौलिक मान्यता, विश्वास, नियमहरु हुन्छन् । यो आयुर्वेद विज्ञानवाट प्रभावित नहुन
सक्दछ । मौलिक उपचार विधि सकभर आफ्नो समुदाय भन्दा बाहिरको व्यक्तिलाई सिकाइँदैन ।
यी दुवै उपचार विधिका उपचारकहरु प्राय जसो कुनै पनि शैक्षिक संस्थामा गई
ज्ञान हासिल नगरी आफ्ना अग्रजहरुबाट परम्परागतरुपमा ज्ञान हासिल गरेका हुन्छन् ।
पुस्तैनिरुपमा आ-आफ्नो कुल परम्परा अनुसार परम्परागत ज्ञानको हस्तान्तरण
हुनेभएकोले यी विधाको मान्यता, विश्वास, आचारण, परीक्षणगर्ने तरिका, उपचार विधि
आधुनिक उपचार विधि भन्दा नितान्त फरक हुन सक्दछ ।
यी दुवै उपचार विधिमा रोगको कारणको उपचार गरिने भएकोले निश्चित समय सम्म
औषधी सेवन गरेपछि विरामीहरु पुर्णरुपमा निको हुने हुँदा खाना खाए जस्तो सधैं भरि औषधी
खाइरहनु पर्दैन । हाम्रो समाजमा यी उपचार विधिका विज्ञ (गुरुवा,
वैद्य, गुभाजु,
ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, धामी झाँक्री, झारफूके लामा, आम्ची, समाजसेवी) हरुले
यस्लाई निरन्तरता दिइरहेका छन् । यिनीहरु शारीरिक तथा मानसिक रोगको उपचार गर्न
सक्षम हुन्छन् ।
आजभोलि रक्तचाप, चिनीरोग जस्ता विभिन्न रोगका
विरामीहरुले जिन्दगी भर औषधी खाइरहनु परिरहेको छ । दैनिक नियमित रुपमा खाना खाने
मानिस पनि समय समयमा खाना नखाएर (उपवास) बस्न सक्दछ । तर यस्ता रोगका रोगीहरुले
उपवासको समयमा समेत अनिवार्य औषधी खानु पर्दछ । सधैंभरि त खाना पो खाइन्छ ।
त्यसैले जिन्दगीभर खानु पर्ने भएमा त्यसलाई कसरी औषधी भन्ने ?
हाल समाजमा पित्तथैलिमा पत्थरी परेमा पित्तथैलि नै निकालेर फाल्नु पर्ने, किड्नीमा समस्या आएमा किड्नी
डाएलोसिस (Kidney Dialysis) गर्नुकासाथै कहिलेकाहीं किड्नीनै
निकालेर फाल्नु पर्ने, रक्तचापका विरामीहरुले दैनिक औषधी सेवन गर्नु पर्ने,
चिनीरोग सञ्चो नहुने, थाइराइड, अम्लपित्तका रोगीले लामो समयसम्म औषधी खाइरहनुपर्ने
जस्ता समस्याहरु बढ्दै गइरहेको देखिन्छ । यदि पित्तथैली, किडनी आवश्यक नभएको भए
प्रकृतिले किन बनायो त ? आवश्यक भएर प्रकृतिले बनाएको हो भने त्यसलाइ काटेर
फाल्नुको विकल्पमा उपचार गरेर सञ्चो बनाउन के गर्नु पर्ला ?
रक्तचाप, चिनीरोग, थाइराइड, वात,
अम्लपित्त जस्ता विभिन्न रोगका विरामीहरुले यी रोगवाट छुटकरापाउन कस्तो उपचार विधि
अपनाउनु पर्दछ ? कतै परम्परागत घरेलु उपचार विधि तथा
मौलिक उपचार विधिलाई बेवास्ता गर्दा आफ्ना शरीरका अङ्गहरु काटेर फाल्नु पर्ने,
दैनिक औषधी सेवन गर्नु पर्ने अवस्थामा पुगेका त छैनौ ? यस विषयमा गम्भीर मनन गर्दा
हाम्रा परम्परागत घरेलु उपचार विधि तथा मौलिक उपचार विधिमा यी रोगहरुका निराकरणका
उपायहरु हुन सक्ने भएकोले यस विषयमा अनुसन्धान गर्न अत्यावश्यक देखिन्छ ।
अध्ययनको उद्देश्य
परम्परागत घरेलु उपचार विधि तथा मौलिक उपचार विधि
सँग सम्बन्धित निम्न लिखित विषयमा प्रकाश पार्ने उद्देश्यले यो अध्ययन गरिएको छ ।
परम्परागत घरेलु उपचार विधि तथा मौलिक उपचार विधिको सम्बन्धमा प्रकाश
पार्नु ।
यस विषयका विज्ञहरुका अनुसार रोग लाग्ने कारण र सोको उपचार विधिवारे
छोटकरीमा प्रकाश पार्नु ।
विभिन्न विज्ञहरुले अभ्यास गरेका केही रोगका उपचार विधिलाई एकै स्थानमा लिपिबद्ध
गर्नु ।
अध्ययन विधि
अनुसन्धानकर्ताद्वारा परम्परागत घरेलु उपचार विधि तथा मौलिक उपचार विधि
सम्बन्धमा विभिन्न भाषामा लेखिएका ठुला ठुला पुस्तक/लेखहरुमा लेखिएका कुराहरु भन्दा
यस विषयका विज्ञहरु सँग अत्यधिक समय बिताएर उनीहरुको उपचार विधिको अवलोकन तथा त्यस
सम्बन्धमा अन्तर्वार्ता, गहन छलफलगरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ । कितावी
ज्ञान भन्दा परम्परागत तथा मौलिक रुपमा उपयोग गरिदै आएको विषयलाइ समेट्ने प्रयास
गरिएकोले सन्दर्भ सूची धेरै लामो छैन । अनुसन्धानकर्ता स्वयंले आफ्नो समुदायमा
अभ्यास गरेका उपचार विधि समेत समावेश गरिएको छ ।
परम्परागत घरेलु तथा मौलिक उपचार विधिका विज्ञ सम्बन्धी संक्षिप्त
परिचय ।
परम्परागत घरेलु तथा मौलिक उपचार विधिका विज्ञहरुलाई गरिने सम्बोधन भौगोलिक
स्थान तथा कामको प्रकृति अनुसार फरक पाइन्छ । नेपालमा प्रमुखरुपमा गुरुवा,
वैद्य, गुभाजु,
ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, लामा, आम्ची, समाजसेवीहरुले यस विधिलाई
निरन्तरता दिइरहेको पाइन्छ । नाम तथा अर्थोपार्जन भन्दा सामाजिक कल्याण सेवाभावमा ध्यानदिइने
भएकोले समाजमा अन्य विज्ञहरु पनि चर्चामा नआई सेवा प्रदान गरिरहेका हुन सक्दछन् ।
यसका विज्ञहरुले सहज तरिकाले आफ्नो परिवारका सदस्य भन्दा अन्य व्यक्तिलाइ
आफ्नो ज्ञान सिकाउन चाहँदैनन् । धेरै जनालाई सिकाएमा 'सहजाने' (विद्याले काम
नगर्ने) उनीहरुको मान्यता तथा विश्वास पाइन्छ । विभिन्न वाचा कसम खाएर आर्थिक उपार्जनका
लागि विद्याको दुरुपयोग नगर्ने जस्ता कुराहरुमा विश्वास दिलाउन सकेमा मात्र
उनीहरुले आफ्नो शिष्य बनाएर यस्तो ज्ञान सिकाउँदछन् । यी उपचार विधि सिक्न तिथि,
नक्षत्र, वार, मुहुर्त, ग्रहण लागेको समय जस्ता विभिन्न अवस्थाहरु मिल्नु पर्दछ ।
यी उपचार विधिका विज्ञहरुले रोगलाई आ-आफ्नो मान्यता अनुसार विश्लेषण
गर्ने भएकोले एउटै रोगको कारण तथा उपचार विधि फरक फरक हुन सक्छ । तर सबैको
उद्देश्य रोगको जडलाई निर्मूल गर्नु हो । यसरी हेर्दा यिनीहरुले एउटै रोगलाई
विभिन्न आयामबाट अध्ययन तथा विश्लेषण
गर्ने गरेको पाइन्छ । यस लेखमा गाउँघरमा स्थानीय बोलचालका भाषामा प्रयोग
हुने परिभाषा, शब्दावली, शब्दार्थ उल्लेख गरिएको छ । त्यसैले यहाँ उल्लेख गरिएका
परिभाषा, शब्दावली, शब्दार्थहरु र विद्वानहरुको परिभाषा तथा शब्दकोषमा अन्तर हुन
सक्दछ । समाजमा विद्यमान परम्परागत घरेलु उपचार विधि तथ मौलिक उपचार विधिका केही विज्ञ
सम्वन्धी सम्क्षिप्त परिचय, रोगलाग्नुका कारण तथा उपचार विधिहरु संक्षिप्तरुपमा तल
उल्लेख गरिएको छ ।
गुरुवा
थारु समुदायमा उपचार गर्ने व्यक्तिलाइ गुरुवा भनिन्छ । यिनीहरुले पाति बसेर
तथा अक्षता हेरेर उपचार गर्दछन् । माटोको धागोमा झुण्ड्याएको पालामा बत्ती बालेर
विभिन्न मन्त्रोच्चारण गरी रोग पत्ता लगाउने तथा उपचार गर्ने गर्दछन् । यस विधिलाई
पाति बस्ने भनिन्छ । यिनीहरुले शारीरिक तथा मानसिक रोगको उपचार गर्दछन् । गुरुवाहरुमा
मानिसको रुप परिवर्तन गरी विभिन्न जनावर बन्न सक्ने क्षमता हुनसक्दछ । पहिला आफ्नो
रुप परिवर्तन गरी वाघ/चितुवा बनेर हिमालमा गई जडि-बुटी संकलन गरी ल्याउनसक्ने
गुरुवाहरु पाइन्थे । हाल समाजमा विद्यमान गुरुवाहरुमा त्यस्तो चामत्कारिक क्षमता
नपाइएपनि जडि-बुटीहरुका अतिरिक्त विभिन्न वस्तु जस्तै सर्पको काँचुली, विभिन्न चरा
चुरुङ्गीको हड्डी, प्वाँख, विष्टा तथा जनावरको गिदी, रगत, मासु आदिको उपयोग गरी औषधी
तैयार गरि उपचार गर्ने ज्ञान पाइन्छ । यिनीहरुले आफ्नो परिवारका सदस्यभन्दा अन्य
व्यक्तिलाई आफ्नो ज्ञान सिकाउँदैनन् । छोरीहरु विवाहगरी अन्यत्रजाने हुँदा
उनीहरुलाई समेत उपचार विधि सिकाउँदैनन् । आफ्नो विश्वास प्राप्त व्यक्ति वा छोरालाई मात्र
आफूले जानेको ज्ञान सीप सिकाउने भएकोले हाल यो विधि प्रायः लुप्त हुने अवस्थामा पुग्दैछ
।
गुरुवा अनुसार रोग लाग्नुका कारण
वायु बिग्रेर, भयाँर बिग्रेर, भुत्वा रिसाएर, पितृ बिग्रेर, देउता
रिसाएर आदि ।
गुरुवा अनुसार उपचार विधि
पाती बसेर, झारफूक गरेर, भयाँर पुजेर, अक्षता फुकेर, जडि-बुटी तथा अन्य विभिन्न
वस्तुको प्रयोग गरेर आदि ।
वैद्य
आफ्ना अग्रजहरुवाट परम्परागतरुपमा जडि-बुटी तथा अन्यवस्तुको उपयोग तथा
उपचार विधि सिकेर उपचार गर्दै आएका व्यक्तिलाई वैद्य भनिन्छ । यिनीहरु विभिन्न जडि-बुटीहरुको
प्रयोगबाट शारीरिक रोगको उपचार गर्न निपुण हुन्छन् । हाल विभिन्न शिक्षालयमा गएर
अध्ययन गरी जडिबुटी सम्वन्धी व्यवसाय गरेका व्यक्तिलाई पनि वैद्य भन्ने चलन छ । तर
यस अध्ययनमा शिक्षालयमा गएर पढेलेखेका व्यक्तिलाई नभई परम्परागतरुपमा अग्रजहरुबाट ज्ञान
हासिल गरेका व्यक्तिलाई वैद्य भनेर सम्बोधन गरिएको छ ।
वैद्य अनुसार रोग लाग्नुका कारणहरु
वात, कफ, पित्तको असन्तुलनको कारण । गलत आहार-विहार, रहन-सहन, आधुनिक जीवनशैली,
वंशाणुगत कारण, परस्पर विरोधी खाद्यपदार्थको सेवन, अत्यधिक खाद्यपदार्थको सेवन आदि
कारणहरुले गर्दा रोग लाग्दछ ।
वैद्य अनुसार उपचार विधिहरु
वात कफ पित्तलाई समभावमा ल्याउन विभिन्न जडि-बुटीहरु, रसायन, तेल तथा
अन्यवस्तुको प्रयोग, पञ्चकर्म, आहार-विहार सम्वन्धी नियमको पालना, झारफूकआदि गरेर ।
यसका साथै आवश्यकता अनुसार हावापानी, बासस्थान बदलेर, जीवनशैलीलाई प्राकृतिक
अवस्थामा ल्याएर, शरीर मालिस, सूर्यको किरणको उपयोग, ग्रह सम्बन्धी औषधी तयार गरी
उपचार गर्दछन् ।
ज्ञाता
विभिन्न व्यक्तिहरुको सङ्गत तथा अध्ययनबाट जडि-बुटी चिन्नुका साथै उपचार
विधि समेत जानेका, इच्छुक व्यक्तिलाई उपचार विधि सिकाउने तर आफूले औषधी तयार गरी उपचार
नगरी बजारमा पाइने औषधिको प्रयोग विधि बारे जानकारी गराउने व्यक्तिलाई परम्परागत
घरेलु उपचार विधिका ज्ञाता भनिन्छ ।
ज्ञाता अनुसार रोग लाग्नुका कारणहरु
वात, कफ र पित्तको असन्तुलको कारण रोग लाग्दछ । एन्टिवायोटिक्सको जथाभावी
तथा अत्यधिक प्रयोग गरिएका जनावर तथा चराचुरुङ्गीको मासुको उपयोग, साधारण रोगमा
समेत अत्यधिक तथा उच्च मात्राको औषधिको प्रयोगको दुष्प्रभाव, वेमौसमी, विषादियुक्त,
मिसावटयुक्त, उन्नत तथा वर्णसंकर, अत्यधिक आधुनिक मलखाद (विकाशेमल) को प्रयोग गरी
उत्पादन गरिएको खाद्यपदार्थको उपयोग, स्वच्छ हावाको कमी, पारिवारिक तनाव, शारीरिक
परिश्रम कमगर्ने प्रवृत्ति (शहरी जीवनशैली) आदि विभिन्न कारणहरुले गर्दा रोग लाग्छ
।
ज्ञाता अनुसार उपचार विधिहरु
रोगीको शारीरिक तथा मानसिक स्थिति, सामर्थ्य, विश्वास अनुरुपको उपचार
विधि चयन गरेर ज्ञाताले उपचार सुरु गर्न सल्लाह दिन्छन् । यसका साथै उपचारमा
आवश्यकवस्तु तथा औषधी प्राप्त गर्ने स्थान तथा त्यसको अनुपान बारे प्रष्टरुपमा
जानकारी दिन्छन् ।
ज्योतिष पण्डित
हाम्रो समाजमा ज्योतिष पण्डितहरुको स्थान उच्च पाइन्छ । यिनीहरु पनि
परम्परागत उपचार विधि तथा मौलिक उपचार विधिका सम्वाहक हुन । हामीहरुले सधैभरि सुख
दुःखमा यिनिहरुको साथ पाइरहेका छौं । हाम्रो परम्परलाई निरन्तरता दिन यिनीहरुको
महत्वपूर्ण योगदान छ । प्रायः जसो सबै जात जातिमा पण्डित/पुरोहित हुने भएको यिनीहरुलाई
सम्बोधन गर्ने नाम पनि फरक फरक हुन्छ ।
ज्योतिष
जन्म पत्रिका, हस्तरेखा, प्रश्न-उत्तर, नवग्रहको अवस्थाको अध्ययन,
जोखाना हेरी रोगलाई ग्रहदशाको प्रभावको कारण मानी उपचार विधि बताउने वा उपचार समेत
गर्ने व्यक्तिलाई ज्योतिष भनिन्छ ।
पण्डित/पुरोहित
सत्य र असत्य छुट्टयाउन सक्ने विवेक जो संग छ त्यही पण्डित हो । अर्थात आफ्नो
कुल धर्म अनुसार आचरणगरेका, समाजलाई मार्ग दर्शन गर्न सक्ने, व्यापार व्यवसाय
नगरेका एवं सदैव समाजको उत्थानमा चिन्तन गर्ने, काम, क्रोध लोभ, मोह बाट टाढारहेका,
सत्य र असत्य छुट्टयाउन सक्ने विवेक भएका व्यक्तिलाई पण्डित भनिन्छ ।
ज्योतिष तथा पण्डित अनुसार रोग लाग्नुका कारणहरु
ग्रहदशा प्रतिकूल भएर, पूर्व जन्मको कर्मको फल, विभिन्न प्रकार योग तथा
दोष (वास्तु, पितृ, मातृ, भातृ, गुरु दोष)को कारण, गलत स्थानमा बासस्थान, नकारात्मक
विचार, खराब आचरण, आफ्नो कुल परम्पराअनुसारको आचरण पालना नगर्नु आदि कारणहरुले
गर्दा रोग लाग्दछ ।
ज्योतिष तथा पण्डित अनुसार उपचार विधिहरु
ग्रह सम्वन्धी शान्ति कर्म गरेर, आवश्यकतानुसार जडि-बुटीको प्रयोग गरेर,
रत्नधारण, रङ्ग चिकित्सा, सूर्य चिकित्सा, स्वर चिकित्सा, पाठ-पूजा, यज्ञ, मन्त्रजाप,
हवन, मार्जन, तर्पण, दान-दक्षिणा, प्राणायाम, योग, ध्यान, यम नियमको पालन, आफ्नो
कुल परम्परा अनुसारको आचरण पालना आदि गरेर यिनीहरुले उपचार गर्दछन् ।
धामि झाँक्री, झारफूके
आफ्नो गुरुसंग विद्या सिकेर साधनागरी पारङ्गत भएपछि गुरुको अनुमति
अनुसार धामी झाँक्री तथा झारफूकेहरुले उपचार गर्दछन् । यिनीहरु मानसिक रोगको उपचार
गर्न निपुण हुन्छन् । यिनीहरुले विभिन्न मन्त्रको उच्चारण गर्दै जोखाना हेर्ने,
ढ्याङ्ग्रो ठोक्दै तथा काम्दै, आगोको भुक्रोमा नाच्दै कुचो, मजुरको प्वाँख आदिले
विरामीको शरीर झार्दै आवश्यकतानुसार विभिन्न जडि-बुटी प्रयोग गरी उपचार गर्दछन् । यिनीहरुमा
जोखाना हेरेर आफू कहिल्यै पनि नगएको स्थानको बारेमा हु-वहु बताउन सक्ने क्षमता
भएपनि हाल आएर यो विधा प्रति युवा पुस्तामा आकर्षण पाइँदैन ।
धामी झाँक्री, झारफूके अनुसार रोग लाग्नुका कारण
भुत/प्रेत/श्मशान वाधा भएर, वायु बिग्रेर, पितृ रिसाएर आदि ।
धामी झाँक्री, झारफूके अनुसार उपचार विधि
झारफूक गरेर, जोखाना हेरेर, सिमे-भुमे पुजेर, जडि-बुटी तथा विभिन्न
वस्तुको प्रयोग गरेर, ढ्याङ्ग्रो ठोकेर, कामेर, अक्षता फुकेर आदि विभिन्न तरिका
अपनाएर धामी झाँक्री तथा झारफूकेहरुले उपचार गर्दछन् ।
विशेष उपचारक
कुनै एक विषयमा पोख्त रही सोही सम्बन्धी उपचार गर्ने व्यक्तिलाई विशेष
उपचारक भनिन्छ । जस्तै सर्पको विष झार्ने/चुस्ने, हात खुट्टाका भाँच्चिएका हाड
जोड्ने, हाड जोर्नी सम्बन्धी ज्ञान भएका, मिर्गि, रतन्धो, चिनीरोग, रक्तचापआदि
रोगको उपचार गर्ने व्यक्ति । यिनीहरु आफूले जानेको कुनै विशेष विधा बाहेक अन्य
विधा जान्दैनन् तर आफ्नो विधामा पारङ्गत हुन्छन् । आधुनिक डाक्टरले नसकेको ढाड
भाँचिएको अवस्थाका विरामी यिनीहरुको ४/६ महिनाको उपचारले तन्दुरुस्त भएका धेरै
उदाहरण छन् । साँपले टोकेको विरामी अन्तिम नाडी चल्दा सम्म सर्पको विष झार्ने
चुस्ने व्यक्तिको सम्पर्कमा पुगेमा सञ्चो भएका व्यक्तिको लामो सूची वन्दछ ।
विशेष उपचारक अनुसार रोग लाग्नुका कारणहरु
विभिन्न घटना अथवा दुर्घटनाको कारण रोग लाग्दछ ।
विशेष उपचारक अनुसार उपचार विधिहरु
चुसेर, मन्त्रको प्रयोग गरेर, जडि-बुटी तथा अन्य बस्तुको उपयोग गरेर,
झारफूक गरेर आदि ।
यसरी समाजमा विभिन्न विज्ञहरुले आ-आफ्नो तर्फबाट उपचार गरिरहेकाछन् ।
परम्परागत घरेलु उपचार विधि तथा मौलिक उपचार विधिमा
मानिसहरुले विश्वास गर्नुका कारणहरुः
हामीहरुले सानैदेखि परम्परागत घरेलु तथा मौलिक उपचार विधिबाट मानिसहरु निको भएको
देखेकोले यस विधिप्रति स्वतःस्फूर्तरुपमा विश्वासको भावना आउँदछ । बाल्यकाल देखि नै
उपचार सामग्री संगको सामीप्यतालेगर्दा यस विधिप्रति अपनत्वको विकास हुन्छ । यी
उपचार विधिहरुमा प्रयोग हुने सामाग्रीहरु सहज तरिकाले वन-पाखा, डाँडा-काँडामा प्राकृतिकरुपमा
उपलवब्ध हुन्छन् । यसका उपचारकले अर्थोपार्जन भन्दा सामाजिकसेवा भावले उपचार गर्ने
भएकोले उपचारमा कुनै पनि मूल्य तोकिंदैन । आफ्नो क्षमतानुसार उपचार वापत रुपैयाँ
दिइने भएकोले आर्थिक अभावका कारण कुनै पनि व्यक्ति उपचारबाट वञ्चितहुनु पर्दैन । सबैले
सर्वसुलभ तरिकाले उपचार गर्न पाउँदछन् । यिनीहरुले रोगको कारणलाई उपचार गर्ने भएको
यस विधिबाट उपचार गरेका विरामीहरुले सधैंभरि उपचार गरिरहनु तथा औषधि खानु पर्दैन ।
यी उपचार विधिबाट तैयार गरिएका औषधि उचित अनुपानकासाथ सेवन गरेमा प्रभावकारी
हुनुका साथै कुनैपनि दुष्प्रभाव हुँदैन भन्ने विश्वास पाइन्छ ।
आयुर्वेदका अनुसार "यस्य देशस्य यो जन्तुस्तज्जं तस्यौषधं हितम्"
'जुन देशमा हुर्केको प्राणी हो त्यसको लागि त्यहींको औषधि बढी हितकर हुन्छ' । गौतम
(२०५९, शुभकामना) अनुसार "केवल अंग्रेजी शिक्षाको प्रभाव पछि मात्र
निरोधात्मक एलोप्याथिक चिकित्सा प्रणालीले जनमानसलाई आकर्षण गर्न खोजे पनि उसको
परिणाम ज्ञानबाट पुनः आयुर्वेदिक उपचारतर्फ नै वर्तमान समाज तीव्ररुपमा उन्मुख
भइरहेको अवस्था छ" ।
यी विविध कारणहरुले गर्दा मानिसमा परम्परागत घरेलु तथा मौलिक उपचार विधि
प्रति अगाध विश्वास पाइन्छ ।
परम्पराग घरेलु उपचार विधि अनुसार केही रोगहरुको उपचार विधि
परम्परागत घरेलु तथा मौलिक उपचार विधिका प्रायः सबैजसो विज्ञहरुले जडि-बुटीको
प्रयोग गर्दछन् । उनीहरुले उपयोग गर्ने जडि-बुटीमा पनि समानता पाइन्छ । यस सम्बन्धमा
गाउँघरमा विभिन्न विज्ञहरुले अभ्यास गरिरहेका केही समान उपचार विधि संक्षिप्तरुपमा
तल उल्लेख गरिएको छ । केही रोगको उपचारमा एक भन्दा बढी उपचार विधि उल्लेख गरिएको
भएपनि सवै विधि अपनाउनु पर्दैन कुनै एक विधि अपनाए पुग्दछ । यहाँहरुको
जानकारिकालागि मात्र धेरै विधि उल्लेख गरिएको हो । यी उपचार विधि बाट यहाँहरुले लाभ
लिनुहुनेछ ।
अप्रेसन गरेमा
गाउँ घरमा भएको विश्वास तथा
मान्यता अनुसार केही खाद्य पदार्थहरुले घाउलाई सुकाउन भन्दा पाक्नमा मद्दत गर्दछन्
। त्यसैले यो समयमा घाउ पाक्न सक्ने सम्भावना ज्यादा हुने भएकोले खानामा पहरेज
गर्नु पर्दछ, जे पायो त्यही खानु हुँदैन । गुरुवा, वैद्य, पण्डित, ज्योतिषका
अनुसार शरीरमा घाउ भएमा, अप्रेसन गरेको समयमा आलु, काउली, फर्सि, पिंडालु, लसुन,
प्याज, माछा मासु खानु हुँदैन । परवलको तरकारी, बोक्रा सहितको मुँगको दाल खाने गर्नु
पर्दछ । कुनै कारणवश पेटमा अपरेसन गरी टाँका लगाएको समयमा खोकी लागेमा टाँका
फुस्कन सक्ने भएकोले सो समयभर खोकी लाग्न नदिन खोकी लाग्ने वस्तु खानु हुँदैन ।
कब्जियत भएमा
वैद्य, पण्डित, ज्यौतिष, दीक्षित (२०१२),
देवकोटा (२०७१), हरिप्रसाद (२०५८) अनुसार कव्जियत भएमा १ चिया चम्चा त्रिफला चूर्ण
साँझ सुत्नु भन्दा पहिला मह वा भेली (सख्खर गुड) सँग मिलाएर खाने गर्नु पर्दछ ।
सुख्खा त्रिफला खाएपछि एक गिलास मनतातो पानी खानु पर्दछ । त्रिफला मनतातो पानी
अथवा दूध सँग पनि खान सकिन्छ ।
गानो /पुत्रेनो बिग्रेमा
गानो/पुत्रेनो बिग्रेमा १ गिलास
दहीमा १ चिया चम्चा वेसार राखेर राम्ररी फिटेर बिहान खाली पेटमा खाने । १ हप्ता
खाएमा गानो/पुत्रेनो सम्वन्धी समस्या समाधान हुन्छ ।
पाचनशक्ति कमजोर भएमा
शरीरमा पाचन शक्ति कमजोर भएको कारण
बिभिन्न रोगको उत्पत्ति हुने गर्दछ । त्यसैले स्वस्थ तथा निरोगीहुन चाहने
व्यक्तिले सर्वप्रथम आफ्नो पाचन शक्ति बलियो बनाउनु पर्दछ । पाचन शक्ति बलियोहुन
अग्नि तत्त्व राम्ररी सक्रिय हुनु पर्दछ । खप्तड स्वामी (२०६९,१४९), पंचगव्य अनुसन्धान
केंद्र (२०१५), देवकोटा (२०७२), पण्डित, ज्यौतिषका अनुसार अग्नि तत्व को सम्बन्ध घिउ
सँग छ । जसरी बलिरहेको आगोमा घिउ राख्दा आगो जोडले बढ्दछ त्यसैगरी खानाको
शुरुवातमा खाएको घिउले जठराग्निलाई बढाउँदछ र खाएको खाना पूर्णरुपमा पच्दछ ।
त्यसैले नियमित घिउ खाने गरेमा जठराग्नि राम्ररी प्रदीप्त भई अम्लपित्तबाट पूर्णरुपमा
छुटकारा पाइन्छ ।
घिउखाने तरिका
घिउखाने भन्दैमा एकैपटक धेरै घिउ
खाने होइन । यसो गरेमा शरीरले घिउलाई पचाउन नसकी नयाँ समस्या उत्पन्न हुन सक्छ ।
त्यसैले दैनिक रुपमा मात्रा मिलाएर आधा चम्चाबाट सुरु गरी विस्तारै परिणाम बढाउँदै
घिउ खाने गर्नुपर्छ । यसरी घिउखाने गरेमा केही समयको अन्तरालमा एक माना घिउ पचाउन
सक्ने क्षमताको विकास हुन्छ । घिउ सकभर काठको अथवा माटोको भाँडामा राख्नु पर्दछ ।
खप्तड स्वामी (२०६९,१४९), सुवेदी (२०७२) अनुसार एक वर्ष पुरानो घिउ औषधीय
प्रयोजनको लागि उत्तम मानिन्छ । घिउ सकभर जुरो भएको स्थानिय गाईको अथवा भैंसीको
हुनु पर्दछ । जर्सी, होलेष्टीएन, फ्रिजिएन गाईको घिउले खासै फाइदा गर्दैन ।
देवकोटा (२०७२), लामिछाने (२०७१), वैद्य,
पण्डित, ज्योतिष अनुसार आधा चिया चम्चा शुद्ध गाईको घिउ खाना खाने समयमा पहिलो सात
गाँस भात वा रोटीसंग खाइसक्नु पर्दछ । बिस्तारै ७ दिनको फरकमा घिउको मात्रा थोरै बढाउँदै
जाने गर्नु पर्दछ । नून (दाल तरकारी)मा मिसाएर खाएको घिउ पचाउन गाह्रो हुने भएकोले
घिउ कहिल्यैपनि नूनराखेको परिकारमा मिसाएर खानु हुँदैन । यसै कारणले गर्दा किरीया
पुत्रीले जति घिउ खाए पनि पचेको पाइन्छ ।
अम्लपित्त भएमा
देवकोटा (२०७२) अनुसार अम्लपित्त
भएमा साँझ सुत्ने समयमा १ चम्चा ज्वानो र २/३ बटा छोडा भिजाएर राख्ने र बिहान
उठ्ने बित्तिकै खालिपेटमा वीरेनून संगखाने गर्नु पर्दछ ।
रुघा खोकिलागेमा
रुघा खोकी लागेमा लहरे गुर्जो, तुलसीको
पात, अदुवा, बेसार, दालचिनीको पात, अर्जुन(खरी)को बोक्रा, मरिचको काँडा बनाएर खानेगर्नु
पर्दछ । वैद्य, आचार्य बालकृष्ण (२०११), बाबा रामदेव (२०१४), रौनियारका
(२०७२) अनुसार यसरी बनाएको काडा स्वाइन फ्लुमा समेत अत्यन्त लाभप्रदछ ।
अनुसन्धानकर्ताको व्यक्तिगत अनुभव
अनुसार लहरे खोकि लागेमा गोरखपान (गोरखमुण्डी) मुखमा राखेर चुसेमा तुरुन्त खोकी
लाग्न छोड्दछ ।
देवकोटा (२०७२), दीक्षित (२०१२), आचार्य
बालकृष्ण (२०१४) अनुसार रुघाखोकी लागेमा बेसारवाला दूध खाने गर्नु पर्दछ । बेसारवाला
दूध बनाउने तरिकाः १ गिलास दूधमा आधा चिया चम्चा बेसारको धूलो राखेर आगोको सानो
आँचमा दूध तिनभागको १ भाग नघट्दा सम्म उमाल्ने । यसरी तैयार भएको सुनौलो रंगको दूध
चिया खाए जस्तै सुरुप सुरुप गरेर बिस्तारै खाने गर्नु पर्दछ ।
वच्चालाई खोकी लागेमा रुदेलोको
जरालाई पानीमा पिसेर चटाएमा खोकी सञ्चो हुन्छ ।
गुरुवा, चौधरी (२०७१), वैद्य, देवकोटा
(२०७२), अनुसार खोकिमा असुरोको मुन्टा, खयर, पिप्ला पकाएर खाने गर्नु पर्दछ । अथवा
असुरोको खोटी खाने गर्नु पर्दछ ।
घाँटी खसखस भएमा
देवकोटा (२०७२) अनुसार घाँटी खसखस
भएमा खयरको खोटी अथवा खयरको काढा खाने गर्नु पर्दछ ।
टन्सिलभएमा
दीक्षित (२०१२) अनुसार घाँटीमा
टन्सील भएमा दिनमा २ पटक हलेदोको १ चिया चम्चा रस जिव्रोमा राखी बिस्तारै र्र्याल/थुकसंग
निल्ने तथा साँझ सुत्नु भन्दा पहिला मनतातो सुनौलो बेसार वाला दूध खाने गरेमा २/३
दिनमा टन्सील सञ्चो हुन्छ । हलेदोको रस खाएको १ घण्टा सम्म केही पनि खानुहुँदैन ।
Ruby, Dwivedi र Chauhan (ISBN
2248-9193), गाउँघरमा
जडि-बुटी बेच्न आउने जुम्लीका अनुसार पाखनवेदको काँडा खाएमा टन्सिल निको हुन्छ ।
पाखनवेद जुम्लीहरुसंग अथवा वैद्यको पसलमा सजिलै किन्न पाइन्छ ।
वात भएमा
वात प्रायजसो रक्त विकारले हुने
भएकोले यसबाट छुटकारा पाउन रक्त शुद्धि गर्ने वस्तु सेवन गर्नु पर्दछ । धेरै
प्रोटिन पाइने वस्तु, कोइरालाको साग, मुला, सलगम, सिमि, फर्सि तथा फर्सिको मुन्टा, आदि खानु हुँदैन । मेथी तथा मेथीको साग, अम्बा,
चम्सुर तथा चम्सुरको साग, करेला, बोक्रा सहितको मुङ्गको दाल, परबल, पुनर्नवा, गाजर,
उँखु, बेल खान हुन्छ। आयोडिन युक्त नूनको सट्टामा सिधेनून खानु पर्दछ । दैनिक
नुहाउनु पर्दछ । शिलाजित रक्त सुद्ध गर्ने तथा नसा सफा गर्ने राम्रो औषधि भएकोले वातका
रोगीले मनतातो गाईको दूध अथवा मनतातो पानी सँग शिलाजित खाने गर्नु पर्दछ । कुनै
कारणवश शरीरको कुनै अङ्गमा रगत पुग्न नसकेको स्थानमा समेत शिलाजितको तत्व पुग्दछ
र रगतलाई सफा गर्दछ ।
गौतम (२०७२) अनुसार बिहान
खालिपेटमा १० मिलि ग्राम गोअर्क १ गिलास पानीमा मिलाएर खाने तथा ४/५ अङ्गुल लहरे
गुर्जोको डाँठ चपाएर रस खाने अथवा त्यसलाई राम्ररी पिसेर रस निकाली मिश्री संग
बिहान खालिपेटमा लगभग १ महिना सम्म खानु पर्दछ ।
जुम्लीका अनुसार काँचो सिम्रिक,
शिलाजित, पदमचालनो, रक्तचन्दन घोटेर लेदो बनाइ दैनिक २ पटक १५-२० दिन सम्म बिहान बेलुका
खाने गर्नु पर्दछ । यदि वातले गर्दा शरिरको कुनै अंग सुन्निएकोछ भने सुन्निएको
स्थानमा यसरी बनाएको औषधिको लेदो लगाउने तथा ३/३ दिनमा सुन्निएको स्थानमा पुनः
औषधिको लेप थप्ने गर्नु पर्दछ ।
हरिप्रसादका (२०६०) अनुसार हिल
जुत्ता नलगाउने गरेमा वात रोगमा आराम हुन्छ ।
आगोले पोलेमा
घिमिरे(२०७०), रौनियार (२०७२)
अनुसार आगोले पोलेमा वरको हरीयो मुण्टा, कोपिला वा पातलाई आगोमा राम्ररी डढाएर
खरानी बनाउने । यसरी बनाएको खरानीमा गाईको तर/छाली वा नरिवलको तेल मिलाएर आगोले
पोलेको घाउमा दिनमा ३-४ पटक लगाउने गर्नु पर्दछ । साधारणतया ७ दिनमा घाउ सञ्चो
हुन्छ । यो विधि गाउँघरमा अत्यन्त लोकप्रिय छ ।
शरीरमा पिलो आएमा
शरिरमा पिलो आएमा पिलोलाई निचोरी
राम्रो सँग सफा गरी घाउको चारैतिर मुख मात्र बाँकी राखेर बिस्काभ्रेलाई राम्ररी
पिसेर लगाउने र घाउको मुखमा तोरीको तेल र पानी फिटेर कपासमा भिजाएर राख्ने । कपास
दिनमा ४/५ पटक वदल्ने गर्नु पर्दछ । बिस्काभ्रेले पिलोको वीष जति आफूले लिन्छ र
घाउलाई बिस्तारै दाब्दै जान्छ । तेल पानी फिटेर लगाएको कपासले घाउको मुखलाई सुक्न
दिंदैन र जम्मा भएको पिपलाई बिस्तारै बाहिर निकाल्दछ । २/३ दिनमा पिलो सञ्चो हुन्छ
। यसरी सञ्चो भएको पिलो पुन: फर्केर आउँदैन । दाङ्ग जिल्लामा यो विधि लोकप्रिय छ ।
यसरी बिस्काभ्रेको प्रयोग गरी पिलोबाट उन्मुक्ति पाएका मानिसहरु प्रशस्त पाइन्छन्
।
पाइतला र घुँडाको बिच भागमा भित्र
नलीहाड दुःखेमा
गहुँको गेडा जति खानेचुन दहीमा
मिसाएर दिनमा एक पटक बिहान खालि पेटमा १-२ महिना सम्म खाने गर्नु पर्दछ । दही
नपाइएमा सुन्तलाको रस, अनारको रस, दाल अथवा पानीमा मिसाएर खाएपनि हुन्छ । चुनमा
क्याल्सियमहुने भएकोले पाइतला र घुँडाको बिच भागमा भित्र नली हाड दुःखेमा फाइदा
गर्दछ । पत्थरीको समस्या भएका व्यक्तिले कहिल्यै पनि चुन खानु हुँदैन ।
हड्डी भाँच्चिएमा
कुनै कारणबस हड्डी भाँच्चिएमा
हिमाली भेकमा पाइने सानो खालको चिप्लेकीरा खाने गर्नु पर्दछ । जिउँदो चिप्ले कीरा
भएमा केराको बीचमा चिप्ले कीरा राखी नचपाई निल्ने गर्नु पर्दछ । सुकेको भएमा घोटेर
खाने वा रोटी पकाउँदा पिठोमा मिलाएर पकाएर खाने गर्नु पर्दछ ।
जुम्लीका अनुसार शिलाजित, काँचो
सिम्रिक १०-१५ दिन सम्म घोटर खाने गर्नु पर्दछ ।
दीक्षित (२०१२) अनुसार पत्थरीको
समस्या नभएमा मात्र दैनिक एक पटक गहुँको गेडा जति खानेचुन दहीमा मिसाएर बिहान खालि
पेटमा १-२ महिना सम्म खाने गर्नु पर्दछ । दही नपाइएमा सुन्तलाको रस, अनारको रस,
दाल अथवा पानीमा मिसाएर खाएपनि हुन्छ । चुनमा क्याल्सियमहुने भएकोले टुटे फुटेको हाड
चाँडो जोडिन्छ, क्याल्सियम चक्की खाइरहनु पर्दैन । पाइतला र घुँडाको बिच भागमा भित्र
नली हाड दुःखेमा समेत चुन खाँदा फाइदा गर्दछ ।
घुर्ने, एलर्जि, पिनास, राति
बारम्बार पिसाव लाग्ने, आधा टाउको दुख्ने (माइग्रेन)मा
सुत्दा घुर्ने बानी भएमा, पिनास
परेमा, नाक बाट पानी/सिंगान आइरहेमा, हाच्छिउँ आइरहेमा, नाकको एलर्जी भएमा, नाक
भित्र मासु पलाएमा, आधा टाउको दुःखने (माइग्रेन) भएमा, राति बारम्बार पिसाव लाग्ने
समस्या भएमा शुद्ध स्थानीय गाईको घिउ १/१ थोपा दुवै नाकमा सुत्नु भन्दा पहिला
हाल्ने । अथवा १/१ थोपा घिउ औंलाले नाक भित्र लगाउने गरेमा घुर्ने बानी तुरुन्तै
हट्दछ । १/२ महिना सम्म नाकमा १/१ थोपा घिउ राखेमा नाक तथा आधा टाउको दुख्ने सम्बन्धी
धेरै जसो समस्या सञ्चो हुन्छ । वैद्य, पण्डित, दीक्षित(२०१३), देवकोटा (२०७२)
अनुसार घिउको वास्ना शरीरको सबै अंगमा पुग्दछ । 'जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछ
कवि' भनेझैं रगत पुग्न नसकेको शरीरको स्थानमा समेत घिउको वास्ना पुगी आफ्नो कार्य गर्दछ
।
कपालमा चायाँ परेमा
कपालमा चायाँ परेमा घृत कुमारीको
रसलाई कपालमा लगाएर सुक्न दिने र आधा घण्टा पछि पुन: घृत कुमारीको रस कपालमा लगाएर
कपाल मसाज गर्ने र नुहाउने गर्नु पर्दछ । ५/७ दिन लगातार यसको प्रयोगले चायाँ पर्ने,
कपाल फुस्रो हुने समस्या निर्मूल हुन्छ । घृतकुमारीको रसले कपाल नुहाउन लागेमा
सावुनको आवश्यकतानै पर्दैन । सावुन लगाउने समयमा भन्दा राम्रो, कालो, चम्किलो तथा
बलियो कपाल हुन्छ ।
आँखामा पानी कम भएमा, आँखा सुख्खा
भएमा
दीक्षित (२०१२), वैद्यका अनुसार आँखाको
नानीमा पानी कम भएमा, आँखा सुख्खा भएमा सफा भाँडोमा गोमुत्र संकलन गरी सफा मलमलको
कपडामा 7/8 पटक छानेर दिनमा १/१ थोप्ला आँखामा राखेमा २/३ महिनामा नै आँखाको
सुख्खापन समाप्त हुन्छ । ६ महिना सम्म गोमुत्र आँखामा राखेमा आँखाको धेरै जसो
समस्या समाधान हुन्छ । गोमुत्र अल्मुनीयमको भाँडामा कहिल्यै पनि राख्नु हुँदैन ।
नाथ्रि फुटेमा (नाकवाट रगत आएमा)
शाह (२०७१) अनुसार गर्मीले नाकबाट
रगत आउने, नाथ्रो फुट्ने भएमा बिहान शीत सहितको दुवो पिसेर त्यसको रस दिनमा १ पटक
१ थोपा तीन दिन सम्म नाकमा राखेमा सञ्चो हुन्छ । रामवाण हो ।
गर्मिभएमा
देवकोटा (२०७२), वैद्य, लामिछाने
(२०७१) अनुसार गर्मिभएमा छोकडा (सम्भवभए कालो छोडा) ४ बटा राति भिजाएर राखने र बिहान
उठ्ने बित्तिकै राति भिजाएको छोकडा पानी संग चपाउँदै खाने गर्नु पर्दछ ।
लु लागेमा
देवकोटा (२०७२), वैद्य, आचार्य बालकृष्ण
(२०११) अनुसार लु लागेमा लहरे गुर्जोको ४/५ अङ्गुल डाँठ चपाएर रस खाने अथवा
त्यसलाई राम्ररी पिसेर रस निकाली मिश्री संग बिहान खालिपेटमा खाने गरेमा लु
लाग्दैन । गर्मी महिनामा लहरे गुर्जोको रस दैनिक एकपटक खाने गरेमा गर्मीको कारणले
हुने कुनै पनि समस्या आउँदैन ।
मानसिक अशान्ति भएमा
सुवेदी (२०७२) अनुसार चन्द्रमाको
किरणले मनलाई शीतलता तथा शान्ति प्रदान गर्दछ, रक्तचापलाई सन्तुलित राख्दछ, मनमा
स्नेह, प्रेम बढ्दछ । त्यसैले मनमा चञ्चलता भएमा, रक्तचाप सम्बन्धी समस्या भएमा पूर्णिमाको
दिन अथवा चन्द्रमा आकाशमा देखिएको समयमा बाहिर १/२ घण्टा बस्ने । खीरलाई
चन्द्रमाको किरणमा १/२ घण्टा राखेर खाने । चन्द्रमाको किरण शरीरमा पर्नेगरी पातलो
कपडा लगाएर बहिर बगैंचामा बसेर प्रेमालाप गर्ने प्रेमीहरुले रात बितेको पत्तै
पाउँदैनन् ।
धातु रोगमा
धातु रोगमा गिलोय सत्त्व वा लहरे
गुर्जोको काडा पकाएर खाने गर्नु पर्दछ ।
प्रदर रोग
देवकोटा (२०७२) अनुसार प्रदर रोगमा
शिमलको खोटि मसुराको दाना जत्रो बिहान बेलुका खाने गर्नु पर्दछ ।
प्रदर रोगमा डुव्रिङको फल कीरा
नलागेको सुकाएर बनाएको धूलो खाने गर्नु पर्दछ । यदि रोग धेरै पुरानो छ र रोगको
प्रकोप ज्यादा छ भने डुव्रिङको धूलो अशोकको बोक्रासंग खाने गर्नु पर्दछ ।
दीक्षित (२०१२) अनुसार मासिकधर्मको
समयमा पेट दुःखने, कम अथवा ज्यादा रक्तश्रावहुने जस्ता कुनै पनि समस्या भएमा भकभक
उम्लेको १ गिलास तातो पानीमा १ चम्चा गाईको घिउ राखेर राम्ररी चलाउने र खान मिल्ने
सम्म तातो तातो चिया खाए जस्तो चुस्कि लिंदै खाने गर्नु पर्दछ । मासिकधर्मको समयमा
मात्र दिनमा २-३ पटक खानु पर्दछ तथा अन्य
समयमा खानु हुँदैन । श्वेत प्रदरमा सतावरी पनि खाने गर्नु पर्दछ । यसो गरेमा
मासिकधर्म सम्बन्धी प्रायःजसो समस्या समाधान हुन्छ ।
देवकोटा (२०७२) अनुसार श्वेत
प्रदरमा साजको बोक्रा, अशोकको बोक्रा, खयरको बोक्राको खोटी भए खोटी नभए झोल गाईको फाटेको
दूधको पानी संग खाने गर्नु पर्दछ । दूधमा थोरै फट्केरी राखेमा दूध फाट्दछ ।
पियास लागि रहने भएमा
दीक्षितका (२०१२) अनुसार पानी जति
खाए पनि प्यास लागि रहने, प्यास नमेटिने समस्या भएमा मनतातो पानी चियाको चुस्कि
जस्तै खाने गरेमा १ हप्तामै समस्याको समाधान हुन्छ ।
पहेंलो रोग, प्याँले, कामला (जण्डीस)
भएमा
सुवेदी (२०७२) अनुसार पहेंलो रोग
परीक्षणगर्दा अलिकति खाने चुन र पानीको घोलमा १०/१५ मिनेट खुट्टा डुवाएर राख्ने र
त्यो चुन पानीमा पहेंलो रङ्गको मात्रा हेर्ने । चुन पानीमा रहेको पहेंलो रङ्गको
गाढापन अनुसार पहेंलो रोगको मात्रा थाहा हुन्छ । चुन पानीको घोलमा १०/१५ मिनेट हात
खुट्टा डुवाएर राख्दा त्यसले पहेंलो रोग केही मात्रामा शोषण गर्छ ।
सुवेदी (२०७२) अनुसार बयस्कले
अक्कासे वेलीको रस आधा गिलास मिश्रीसंग मिलाएर खाने गर्नु पर्दछ । बालक तथा
वृद्धले आधा गिलास भन्दा कम खाने गर्नु पर्दछ । यसरी रोगको प्रकोप अनुसार १५/२०
दिन दैनिक अक्कासे वेलीको रस खाने गरेमा जण्डिस रोग सञ्चो हुन्छ ।
अधिकारी (२०७०) अनुसार ४/५ अङ्गुल लहरे
गुर्जोको डाँठलाई राम्ररी पिसेर रस निकाली मिश्री सङ्ग बिहान खालिपेटमा खाने गर्नु
पर्दछ । शक्खर (गुढ, भेली) र पानी खाने तर चिनी नखाने गरेमा रोगको प्रकोप हेरी १५/२०
दिनमा पहेंलो रोग (जण्डिस) निको हुन्छ । गाउँघरमा जण्डिसका विरामीले कमलको जरा,
गेडा घोटेर खाने प्रचलन छ ।
शरीरमा सोडियमको मात्रा कमभएमा
दीक्षित (२०१२) अनुसार शरीर
झमझमाउने, हातगोडा काम्ने जस्ता समस्या अथवा रगत जाँच गराउँदा सोडियमको मात्रा कम
भएमा तुरुन्त आयोडिनयुक्त नून खान बन्द गरी सिधेनून खाने गर्नु पर्दछ ।
चिनी रोग (सुगर)मा
देवकोटा (२०७२) अनुसार चिनीरोग
भएमा विहिका गेडा दिनका २१ वटाका दरले ३/४ महिना खाने । कुट्की सुपाडी खाए जस्तै
खाने गर्नु पर्दछ ।
चिराइतोको जरा राति पानीमा भिजाएर बिहान
खाएमा सुगर, लु, ज्वरो, केही हुँदैन ।
लहरे गुर्जोको रस बिहान खालि पेटमा
खाने गरेमा चिनी रोगमा फाइदा गर्दछ ।
घिमिरे (२०७२) अनुसार आधा चिया
चम्चा पिप्ला र आधा चिया चम्चा हरियो बेलको धूलो मसिनो गरी पिसी एक आपसमा राम्ररी
मिलाउने । यो औषधीलाई बिहान सुर्योदय भन्दा पहिला जिब्रोको बीच भागमा राखने । यसलाई
तुरुन्त ननिली विस्तारै र्र्याल सँग बग्नदिने । सबै औषधी र्र्याल सँग बगिसकेमा
बल्ल निल्ने । यसरी ३ दिन सम्म औषधि सेवन गरेमा ६ महिना सम्म चिनीरोग सामान्य
अवस्थामा रहन्छ । पुनः ६ महिनापछि यही प्रक्रियाले औषधि सेवन गरेमा चिनीरोग
सामान्य अवस्थामा रहन्छ ।
पत्थरी परेमा
आसाराम बाबु (२०१४), आचार्य बालकृष्ण (२०१४), Borah (२०१३), Wadhwa (२०१३) अनुसार पत्थरी
परेमा पत्थरचट्टाको २ वटा पातलाई पिसेर मसिनो बनाएर अथवा पातको रस निकालेर मनतातो
पानीसंग बिहान खालिपेट र साँझ खाना खानुभन्दा पहिला दिनमा २ पटक खाने गर्नु पर्दछ
। पत्थरचट्टाको पात त्यत्तिकै चपाएर खान पनि सकिन्छ । यो खाएको लगभग १ घण्टा सम्म
केही पनि खानु हुँदैन । १५-२० दिन लगातार पाखनवेदको काडा खाएमा शरीर (किड्नी तथा
पित्तथैली) मा रहेको पत्थरी नष्ट हुन्छ ।
देवकोटा (२०७२) अनुसार किड्निको
पत्थरीमा मख्खनकाडाको जरा खाली पेट दिनमा २ पटक १ महिनासम्म खाने गरेमा पत्थरी
टुक्रा-टुक्रा भएर पिसावसंग बाहिर आउँदछ ।
दीक्षित (२०१२) अनुसार पाखनवेदको
काडा दिनमा २ पटक खाने गरेमा किड्नी तथा पित्तथैलिमा रहेको पत्थरी गलेर नष्ट हुन्छ
। पाखनवेदको काडा बिहान सूर्योदय भन्दा पहिले खालि पेटमा खानु पर्दछ तथा साझ खाना
खानुभन्दा पहिला खाने गर्नु पर्दछ । पाखनवेदको काडा खाएको लगभग १ घण्टा सम्म केही
पनि खानु हुँदैन । यसरी नियमित दिनमा २ पटक पाखनवेदको काडा १/२ महिना सम्म लगातार
खाएमा शरीर (किड्नी तथा पित्तथैलि) मा रहेको पत्थरी गलेर नष्ट हुन्छ ।
Ruby, Dwivedi र Chauhan (2012) अनुसार पाखनवेदको पाउडर खाने
गरेमा पत्थरी गलेर नष्ट हुन्छ ।
कीर्तिपुरका बूढा नेवारका अनुसार प्रत्येक
वर्ष बोटमा पाकेर खर्सिपरेको (छिप्पिएको) एउटा ठुलो स्थानीय जातको काँक्रो राम्ररी
धोइपखाली सम्पूर्ण काँक्रा (बोक्रा, गिद्रो, बियाँ) खाने गरेमा वर्षदिन भरि जम्मा
भएको पत्थरीलाई गलाएर नष्ट गर्दछ र आगामी एक वर्ष दिन सम्म पत्थरी हुन दिंदैन ।
काँक्रो खाँदा नून खुरसानी धनियाँ मसला केही पनि खान हुँदैन । काँक्रो मात्र एक्लै
खानु पर्दछ र यसरी काँक्रो खाएको १/२ घण्टा सम्म केहि पनि नखाई आराम गरेर बस्नु
पर्दछ ।
हरिप्रसाद (२०५८), अधिकारी (२०५५) अनुसार पत्थरीका विरामीले गहतको
दाल, अञ्जीर, बोटमा छिप्पिएको स्थानीय जातको काँक्रो खाएमा पत्थरीलाई गलाउनमा मद्दत
गर्दछ ।
दमभएमा
भट्ट (२०७१) अनुसार दमका विरामीले पत्थरचट्टाको
पातको काढा बनाएर दैनिक खालिपेटमा खाने गरेमा दम सामान्य अवस्थामा रहन्छ बढ्न
पाउँदैन ।
थाइराइड भएमा
दीक्षित (२०१२) अनुसार थाइराइड
भएमा लोकल धनियाँको पात पिसेर २ चिया चम्चा अचार (लेदो/रस) बनाउने र यसलाइ मन तातो
पानी संग बिहान खालि पेट तथा साँझ खाना खानु भन्दा ४५ मिनेट पहिला खाने गर्नु
पर्दछ । दिनमा २ पटक लोकल धनियाँको चटनी मनतातो पानी संग ३/४ महिना खाएमा थाइराइड
सञ्चो हुन्छ । हरियो धनियाँको पात नपाएमा २ चम्चा सुकेको लोकल धनियाँलाई राम्ररी
पिसेर १ गिंलास पानीमा उमालेर काडा बनाएर खाने गर्नु पर्दछ । धनियाँ लोकल हुनु
पर्दछ र यसमा केही पनि मिलाउन हुँदैन । शरीरमा आयोडिनको मात्रा धेरै हुँदा
थाइराइडका विरामीहरुको संख्या बढ्दै गएको देखिएको ले थाइराइडका विरामीले
आयोडिनयुक्त नून खानु हुँदैन सिधेनून खानु पर्दछ ।
रक्सी, चुरोट, सुर्तीको व्यसन
छुटाउनु परेमा
दीक्षित (२०१२) अनुसार शुद्ध गाईको
मुत्र आधा गिलास बिहान खालि पेटमा खाने गर्नु पर्दछ । यसो गरेमा १/२ महिनामा
विभिन्न दुर्व्यसन छुट्दछ । नियमित रुपमा खानामा अदुवाको प्रयोग गर्नु पर्दछ ।
अरिङ्गाल, वारुलाले टोकेमा
अरिङ्गाल, वारुला आदिले टोकेमा
टोकेको स्थानमा खिल भएमा खिल निकाली पिंडालुको पातको चोप लगाउने, फलाम छुवाउने
गरेमा तुरुन्तै दुःखन छोड्दछ । यो विधि गाउँघरमा प्रचलित तथा लोकप्रिय छ ।
ताकत चाहिएमा
वैद्य, पण्डित, देवकोटा (२०७२)
अनुसार ताकत चाहिएमा गिलोय सत्त्वमा ४ लाल मकरध्वज मिलाएर खाने गर्नु पर्दछ ।
गौतम (२०७२) अनुसार अमचा चूर्ण (अमलाको
धूलो) मा मह मिसाएर खाने गर्नु पर्दछ ।
दीक्षित (२०१२) अनुसार शरीरमा ताकत
चाहिएमा १ चिया चम्चा त्रिफला चुर्ण बिहान खाना खानु भन्दा ४५ मिनेट पहिला मह वा
भेली (सख्खर गुड) सँग मिलाएर १-२ महिना खाने गर्नु पर्दछ ।
अधिकारी (२०७०) अनुसार शरीरमा कुनै
पनि रोग नलागे पनि आफूलाई कमजोरीको महसुस भइरहेमा हरियो केराको बोक्रा सहितको तरकारी
र भात लगातार ३ दिन सम्म दिनको १ पटक खाने गर्नु पर्दछ । केराको तरकारी पकाउँदा नून,
तेल, बेसार बाहेक अन्य कुनै पनि मरमसला राखनु हुँदैन । केराको तरकारी र भात खाँदा अन्य
तरकारी, दाल, दूध, दही, मही खान मिल्दैन ।
वैद्य, बिकासानन्द (२०७०), आचार्य बालकृष्ण
(२०१२), हरिप्रसाद (२०५८) अनुसार ज्यादा ताकत चाहिएका अथवा शारीरिक कमजोरी भएमा ३/४
वटा अन्जिर राति भिजाएर राखने र बिहान खालिपेटमा पानी सहित खाने गर्नु पर्दछ । यसको
असर १५/२० दिन पछि तपाईं आफैं अनुभव गर्नु हुनेछ । साधारण मानिसले खाएमा ज्यादा
ताकतको कारण खराव असर गर्न सक्ने भएकोले नखानु होला ।
वैद्य, पण्डित, गौतम (२०७२) अनुसार एक मुठी चना राम्ररी पखालेर राति
भिजाएर राखने र बिहान खालिपेटमा राति भिजाएको चना राम्ररी चपाई चपाई खाने गर्नु
पर्दछ । चना भिजाएको पानी र भेली खाने गरेमा शरीरमा ताकत आउनुका साथै शरीरलाई शीतलता
प्रदान गर्दछ । गर्मी महिनाभरि भेली-चना-पानी खान सकिन्छ । गाउँघरतिर बिहान-बिहान
भेली-चना-पानी खाने प्रचलन छ ।
दाँतको समस्या भएमा
विभिन्न कारणहरुले गर्दा दाँतमा पानी लाग्ने,सिरिङ्ग गर्ने, पहेंलो
हुने, रगत तथा पिप आउने, गिंजा खिइने, मुखबाट दुर्गन्ध आउने जस्ता समस्याहरु हुन
सक्दछन् । यी सम्पूर्ण समस्याको समाधानकालागि दन्तमञ्जन गर्नु पर्दछ । रौनियार
(२०७२), वैद्य, पण्डितका अनुसार सिधेनूनको मसिनो धूलो र बेसारको धूलो मा तोरीको
तेल राखेर औलाले बिस्तारै दाँतको मालिस गर्दै दन्तमञ्जन गर्नु पर्दछ । यसरी दन्तमञ्जन
गरेमा माथिका दाँत सम्बन्धी समस्या समाधान हुनुका साथै दाँत स्वच्छ तथा बलियो
हुन्छन् ।
अन्य जानकारी
खोटिः खोटि बनाउने वस्तुमा आवश्यकतानुसार
पानी राखेर पकाउनु पर्दछ । यसरी पकाउँदा-पकाउँदा बाक्लो जम्न लायक लेदो भएमा सफा
भाँडामा निकाली गोलो गोलो बनाएर सुकाउनु पर्दछ । यसैलाई खोटि भनिन्छ ।
त्रिफलाः त्रिफला चूर्ण लगातार २/३ महिना
खाए पछि १० दिन खान छोड्ने र १० दिन पछि पुन: खान सुरू गर्नु पर्दछ । एवं रितले
प्रत्येक २/३ महिना पछि 10 दिन खान छोड्दै खाने बानी बसालेमा जीवन भर खान मिल्दछ ।
यसरी त्रिफला खाने गरेमा साधारण तया रोग लाग्दैन । शरीर निरोगी, स्वच्छ तथा फूर्तिलो
हुन्छ । आँखाको तेज बढ्दछ । वुढ्यौलीले भेट्न पाउँदैन ।
दीक्षितका (२०१२) अनुसार त्रिफला
जहिले पनि हर्रो १ भाग, वर्रो २ भाग तथा अमला ३ भाग हुनु पर्दछ । आजकल बजारमा बराबर
भाग हर्रो, वर्रो र अमला भएको त्रिफला पाइन्छ । यसले फाइदा गर्दैन । तसर्थ हर्रो १
भाग, वर्रो २ भाग तथा अमला ३ भाग भएको त्रिफला किन्ने वा आफूले घरमै त्रिफला बनाउने
। जस्तैः सुकेको हर्रो १ माना, वर्रो २ माना र अमला ३ माना राम्ररी खलमा कुटेर धूलो
बनाउने र हावा नछिर्ने डिब्वामा राख्ने, अव घरैमा त्रिफला तैयार भयो ।
प्रायः जसो जडि-बुटिवाट तैयार भएका
औषधिहरु लगातार २/३ महिना खाए पछि १० दिन खान छोड्ने गर्नु पर्दछ । खाना खाए जसरी
लगातार खानु हुँदैन । एवं रितले प्रत्येक २/३ महिना पछि 10 दिन खान छोड्दै खाने गर्नु
पर्दछ भन्ने मान्यता गाउँघरमा पाइन्छ ।
गाईको घिउः उपचारमा प्रयोग गरिने गाईको
घिउ भन्नाले दूधलाइ जमाएर दही बनाइ दहीलाई मथेर नौनी निकाली सोही नौनीलाई तताएर बनाएको
घिउ हुनु पर्दछ । डेरीमा दूधबाट फ्याट निकाली फ्याटलाई तताएर बनाएको घिउ हुनु
हुँदैन । गोरस,
गोमुत्र चर्न
जाने स्थानीय जात (जुरो भएको) को गाईको हुनुपर्दछ तथा गाई गर्भाधान भएको तथा
भर्खरै ब्याएको हुनु हुँदैन ।
रौनीयार (२०७२) अनुसार हाल सम्मको
अनुसन्धानमा मानिसलाई आवश्यक पर्ने भिटामीन तथा मीनरलहरु हरियो साग सब्जी, फल फुल
तथा दूधमा पाइएको छ । आधुनिक विज्ञानले केही भिटामीन तथा मीनरलहरु पत्तालगाई त्यस
सम्वन्धी औषधी तयार गरेपनि अझै धेरै भिटामीन तथा मीनरलहरु पत्तालगाउन बाँकी छ ।
त्यसैले हरियो साग सब्जी, फल-फुल तथा दूध नियमित खाएमा, शाकाहारी भएमा, धुम्रपान
तथा अत्यधिक मद्यपान नगरेमा रोगलाग्ने सम्भावना आधा कम हुन्छ ।
निष्कर्ष
आजकल खान नपाएर भन्दा धेरै खाएर वा खान नजानेर धेरैमानिसहरु विरामी
भइरहेको पाइन्छ । यस सम्वन्धमा गाउँघरमा प्रचलित भनाइ छ “खाउँ खाउँ भन्दा खानु हुँदैन तर शौचालय
जाउँ जाउँ भन्दा जानु पर्दछ”
। "आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको" भनेझैं आफ्नो समाज/समुदायमा परम्परा
देखि चली आएका यी परम्परागत घरेलु तथा मौलिक उपचार विधिप्रति सकारात्मक सोचको
विकासगर्नु आजको आवश्यकता हो । यी विधिबाट तैयार गरिएका औषधी उचित अनुपानका साथ सेवन
गरेमा प्रभावकारी हुनुका साथै कुनैपनि दुष्ष्रभाव नहुने तथा कम खर्चमा विरामी सञ्चोहुने
पाइएको छ । राज्यको नीति तथा आधुनिक एलोपेथिक उपचार विधिको व्यापकताको कारण यस
विधिप्रति मानिसको अनाकर्षण बढ्दै लोपहुने अवस्थामा पुग्दैछ । सबै उपचार विधिको
एउटै उद्देश्य मानिस तथा समाजलाई रोग मुक्त पार्नु हो । "यस्य देशस्य यो
जन्तुस्तज्जातं तस्य भेषजम्" भनेझैं हाम्रा यी उपचार विधि उपयोग गरेमा
यथासमयमा रोग निर्मूलभई मानव समाज रोगमुक्त हुनेछ ।
सन्दर्भ
सामग्रीहरु
अधिकारी श्याममणि, २०५५: स्थानीय जडिबुटीद्वारा स्वास्थ्य-रक्षा, महेन्द्र संस्कृत विश्वविद्यालय, वेलझुण्डी, दाङ
खप्तड स्वामी, स्वास्थ्य विज्ञान, २०६९: खप्तड आश्रम प्रकाशन समिति, काठमाण्डौ
गौतम स्थानेश्वर, २०५९: आयुर्वेद स्मारिका, शुभकामना, जनता विद्यापीठ आयुर्वेद
इकाई, द्वितीय बर्ष‑२०५९, दाङ
गीताप्रेस, जीवनचर्या विज्ञान, २०७०: गीताप्रेस, गोरखपुर (भारत)
हरिप्रसाद, २०५८: आरोग्यताको मूलबाटो, हरिप्रसाद मिसन, काठमाण्डौ नेपाल
हरिप्रसादः, २०६०: स्वास्थ्यसूत्र, हरिप्रसादः मिसन, काठमाण्डौ नेपाल
दीक्षित, राजीव,
2012: स्वदेशी चिकित्सा, स्वदेशी
प्रकाशन, (भाग १-4), सेवाग्राम वर्धा (भारत)
नेपाली निघण्टु, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ
व्यक्तिगत कुराकानी, मधुसुदन
लामिछाने, २०७१।२।२२ गते
व्यक्तिगत कुराकानी, गिरिराज
अधिकारी, २०७०।१।१४ गते
व्यक्तिगत कुराकानी, मुरली मनोहर रौनियार, २०७२।२।८ गते
व्यक्तिगत कुराकानी, ताराप्रसाद देवकोटा, २०७२।१।१८ गते
व्यक्तिगत कुराकानी, पं दामोदर देवकोटा, २०७१।६।७ गते
व्यक्तिगत कुराकानी, विष्णु देवि घिमिरे,
2070।10।1
व्यक्तिगत कुराकानी, भाष्कर
घिमिरे, २०७१।१०।१४ गते
व्यक्तिगत कुराकानी, सुनपुरे
छोड्का चौधरी, २०७१।६।४ गते
व्यक्तिगत कुराकानी, हरि
सुवेदी, २०७२।२।६ गते
व्यक्तिगत कुराकानी, योगि
विकासानन्द, 207०।2।3
व्यक्तिगत कुराकानी, सन्तोष शाह, २०७१।३।१८
व्यक्तिगत कुराकानी, घनश्याम गौतम, २०७२।२।५
व्यक्तिगत कुराकानी, गिरिधारी भट्ट, २०७१।१०।21, काठमाण्डौ
आचार्य बालकृष्ण, २०११: Tinospora,Giloye गिलोय,
https://www.youtube.com/watch?v=c0BOcpnLaxk
आचार्य बालकृष्ण,२०१२:,
https://www.youtube.com/watch?v=PzOTMbjHMKo
आचार्य बालकृष्ण, २०१४: PATTHAR CHATTA KA AYURVEDIC PRAYOG,
https://www.youtube.com/watch?v=UkkZcPcl3NU
आचार्य बालकृष्ण,२०१४: Ayurvedic
use Turmeric (Haldi),
https://www.youtube.com/watch?v=R3YS4JRZQwc
आसाराम बाबु, २०१४: pathari (stone) ka dushman pathar chatta,
https://www.youtube.com/watch?v=EX4uh5e46xo
पंचगव्य अनुसन्धान केंद्र, २०१५:
http://www.panchgavya.org/संशोधन-एवं-अनुसंधान/
बाबा रामदेव, २०१४: Benefits of Giloy, https://www.youtube.com/watch?v=YYtsfOn3u8w
दीक्षित राजीव, व्याख्यान, 15-1 Swasthya kaise rahe bina dawa
aur doctor ke, 1-8,
http://rajivdixit.net/content-index-राजीव_दीक्षित_जी_के_व्याख्यान
राजीव दीक्षित २०१२:
Chuna se Ayurvedic Ilaj,
https://www.youtube.com/watch?v=QuYaq5M_3u4
KM Ruby, Jaya Dwivedi, Rajani Chauhan, Pashanbeda A Golden Herb of
Himalaya: A review, International Journal of Pharmacy Review & Research, www.ijprr.com
Wadhwa Sahiba, २०१३:
Natural Way to Cure Kidney and Gall Stones,
http://fitness.makeupandbeauty.com/kidney-and-gall-stones/
तपाइको अमूल्य सुझाव तथा सल्लाह shambhughimire7@gmail.com मा लेखि पठाउन सक्नुहुनेछ । धन्यवाद ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home