परम्परागत घरेलु उपचार विधिमा पाचन शक्ति र कर्मचारीको कार्यक्षमता बीच अन्तर सम्वन्ध: एक सिंहावलोकन
परम्परागत घरेलु उपचार विधिमा पाचन शक्ति र कर्मचारीको कार्यक्षमता बीच अन्तर सम्वन्ध: एक सिंहावलोकन Download गर्न यहाँ क्लिक गर्नुहोस ।

परम्परागत घरेलु उपचार विधिमा पाचन शक्ति र कर्मचारीको कार्यक्षमता
बीच अन्तरसम्वन्धः एक सिंहावलोकन ।

शम्भु घिमिरे
सारसंक्षेप
मानिसले खाएको खानालाई पचाउन सक्ने क्षमतालाई पाचन शक्ति
भनिन्छ । आजभोलि धेरै मानिसहरुमा पाचन शक्तिमा गिरावट आइरहेको पाइन्छ । परम्परागत
उपचार विधि अनुसार कमजोर पाचन शक्तिलाई पुनः पहिलेको जस्तै सकृय र मजवुत बनाउन
सकिन्छ । यस लेखमा मानिसको पाचन शक्ति र कार्यक्षमता बीच अन्तरसम्बन्ध उल्लेख
गर्दै पाचन शक्ति मवजुत बनाउने केही उपायहरु उल्लेख गरिएको छ ।
परिचय
हामी सबैले एकै प्रकारको भोजन एकै साथ गरेमा कसैले त्यसलाई
सजिलै पचाउन सक्दछौं भने कसैले पचाउन नसकी अमिलो डकार आउने, पेट फुल्ने, पेटमा जलन
हुने, छातिमा केही बिझाए जस्तो हुने, पखाला लाग्ने आदि विभिन्न समस्या देखा पर्न
सक्दछ । यसरी एकै साथ एउटै खाद्यपदार्थ खाए पनि व्यक्ति पिच्छे फरक-फरक लक्षण देखा
पर्नु पाचन शक्तिको क्षमताको कारणले गर्दा भएको हो । पाचन शक्ति वलियो भएको व्यक्तिले
खाएको भोजन सजिलै पच्दछ भने कमजोर व्यक्तिले खाएको भोजन अपच भई सड्दछ । पाचन शक्ति
बलियो भएको व्यक्तिले "ढुङ्गा माटो खाए पनि पच्दछ" भन्ने भनाइ गाउँघरतिर
प्रचलित छ । यही खाना पचाउने क्षमतालाई नै पाचन शक्ति भनिन्छ । अर्थात् "प्राणीमा
रहेको खाद्यपदार्थ पचाउन सक्ने क्षमतालाई पाचन शक्तिको संज्ञा दिइन्छ" ।
आफ्ना अग्रज पुर्खाहरुबाट प्राप्त ज्ञानको आधारमा
प्राकृतिकरुपमा प्राप्त जडि-बुटी तथा अन्य वस्तुबाट घरमा औषधि तयार गरी गरिने उपचार
पद्धतिलाई परम्परागत घरेलु उपचार विधि भनिन्छ । यस विधि अनुसार साधारणतया
मानिस जन्मँदा सबैको पाचन शक्ति समान हुन्छ । एकै पटक मानिसको पाचन शक्तिमा
परिवर्तनआई कमजोर अथवा बलियो हुँदैन । मानिसको उमेरमा बढोत्तरी सँग सँगै आहारविहार,
जीवनशैली, वरिपरिको वातावरण, शरीर विज्ञानप्रतिको सजगताआदि कारणहरुले गर्दा पाचन
शक्तिमा क्रमशः परिवर्तन आउन थाल्दछ । हामीले आफ्नो आहार-विहार, जीवनशैली,
वरिपरिको वातावरण आदिमा समुचित ध्यान दिन सकेमा आफ्नो पाचन शक्तिलाई क्रमशः सुधार
गर्दै सवल बनाउन सक्दछौं । कमजोर पाचन शक्तिको कारण हामीले खाएको खाना राम्ररी
नपची सड्दा विभिन्न रोगको सुरुवात हुने भएकोले पाचन शक्तिलाई बलियो बनाई रोगको
सुरुवातै हुन नदिन यस विषयमा गहन अध्ययन हुनु जरुरी देखिन्छ ।
अनुसन्धानका प्रश्नहरु
परम्परागत घरेलु उपचार विधिमा पाचन शक्तिको ठुलो महत्त्व
हुन्छ । यस विधि अनुसार पाचन शक्ति र कर्मचारीको कार्यक्षमता विच अन्तरसम्बन्ध
बारेमा निम्न लिखित विषयमा जवाफ खोज्ने उद्धेश्यले यो लेख तयार गरिएको छ ।
परम्परागत घरेलु विधि अनुसार पाचन शक्तिको परिचय ।
यस विधिअनुसार पाचन शक्ति कमजोर हुने कारणहरु ।
यस विधि अनुसार पाचन शक्तिलाई बलियो बनाउने उपायहरु ।
पाचन शक्ति र कर्मचारीको कार्यक्षमता विच अन्तरसम्बन्ध ।
अध्ययन विधि
निजामती कर्मचारी अस्पताल, शहिद गंगालाल हृदय रोग अस्पताल, त्रि.वि.वि. शिक्षण अस्पतालमा
उपचार गराउन आउनु भएका केहि शिक्षक तथा कर्मचारीहरु संग छलफल गर्नुकासाथै तथा
अन्तरवार्ता लिई संकलित तथ्याङ्कलाई परम्परागत घरेलु उपचार विधिका विज्ञहरुसंग
छलफल गरि यो लेख तयार गरिएको हो ।
हामिले खाएको भोजन पच्ने प्रक्रिया
हामीले खाएको भोजन मुखबाट अन्ननली
हुँदै आमासयमा जान्छ । मानव शरीरमा आमाशय नाभि भन्दा केही माथि देब्रे तिर हुन्छ ।
यसैलाई जठर भन्दछन् । यही जठरमा भोजन पचाउन अग्नि "रस" उत्पन्न हुन्छ
जसलाई "जठराग्नि" भनिन्छ । यही जठराग्निले हामीले खाएको भोजन
पचाउँदछ [१-५,७-१२]। यहाँ भोजन बिस्तारै लेदोको रुपमा परिणत भई रस बन्दै पच्न थाल्दछ
। आमासयले विभिन्न तत्त्वलाई शोषण गरी भोजनलाई सानो आन्द्रा तर्फ पठाउँदछ । सानो
आन्द्राले भोजनलाई पचाउँदै त्यहाँ भएका तत्त्वलाई शोषण गर्दै ठुलो आन्द्रा तर्फ
पठाउने गर्दछ । सानो आन्द्रामा लगभग भोजन पच्ने प्रक्रिया पुरा हुन्छ [१]। सानो
आन्द्राले लिन नसकेको बाँकी रहेको तत्त्व ठुलो आन्द्राले शोषण गर्दछ । यसरी पाचनक्रिया
मुखबाट सुरु भएर ठुलो आन्द्रासम्म निरन्तर रुपमा चलिरहने भएकोले पाचन शक्तिको
सम्बन्ध मुख देखी आमाशय, सानो आन्द्रा हुँदै ठुलो आन्द्रा सम्म रहन्छ ।
पाचन शक्ति कमजोर हुनाका कारणहरु
जठराग्नि कमजोर भई भोजन पचाउने क्षमतामा कमी आउँदा खाएको
भोजन राम्ररी नपची सड्नुलाई कमजोर पाचन शक्ति भएको भनिन्छ । मनतातो पानी पच्न लगभग
४५ मिनेट लाग्दछ भने खाएको खाना पच्न लगभग दुई देखि अढाई घण्टा लाग्दछ [५] । हामीले
भोजन गर्नु भन्दा अगाडि अथवा भोजन गरेपछि भोजन नपच्दा सम्म पानी खाएमा पाचन रस
पातलो हुन्छ अर्थात् जठराग्नि शान्त तथा कमजोर हुन्छ [४-५,७] । जसरी बलिरहेको
आगोमा पानी राखेमा आगो निभ्दछ त्यसैगरी खानाको शुरु तथा अन्तमा खाएको पानीले
जठराग्निलाई कमजोर गराउँदछ । यसरी जठराग्नि कमजोर हुँदा भोजन राम्ररी पच्न सक्दैन
र कुहिन थाल्दछ । त्यसैले भोजन गर्नु भन्दा पहिला र भोजन नपच्दा सम्म कहिल्यै पनि
पानी पिउनु हुँदैन । यसरी हेर्दा हामीहरुले उचित तरिकाले खाना खान नजान्दा पाचन
शक्ति कमजोर भएको पाइन्छ ।
कमजोर पाचन शक्ति र रोग बीचको अन्तरसम्बन्ध
पाचन शक्ति कमजोर भएको अवस्थामा खाएको भोजन पच्दैन र कुहिन
थाल्दछ [४,५,७,8] । यसरी कुहिएको खानावाट सर्वप्रथम पेटमा ग्यास बन्दछ । यही ग्यास
नै विभिन्न रोग उत्पत्तिको कारण हो । यही ग्यासको कारण शरीरमा अम्लियता बढ्दछ र
विभिन्न रोगहरु जस्तै अम्लियता, पाइल्स, फिस्टुला, अल्सर, क्यान्सर आदि
उत्पन्न हुनुकासाथै Bad Cholesterol, LDL, VLDL वन्दछ र वाथ, चिनिरोग, मुटुरोग जस्ता विभिन्न रोगहरु
उत्पन्न हुन्छन् [५]। त्यसैले रोग लाग्न नदिन सर्वप्रथम हामीहरुको पाचन शक्ति
बलियो हुनु पर्दछ ।
पाचन शक्तिलाई बलियो वनाउन अपनाउनु पर्ने केहि उपायहरु
बिहान सूर्योदय देखि अढाई घण्टा सम्म र साँझ सूर्यास्त हुनु
भन्दा लगभग ४५ मिनेट अगाडि प्राकृतिक रुपमा जठराग्नि सक्रिय हुन्छ [3-५,७] । जठराग्नि
प्राकृतिक रुपमा सक्रिय भएको समयमा खाएको खाना राम्ररी पच्दछ । त्यसैले यो समयमा
खाना खाने गरेमा पाचन शक्ति सबल हुन्छ । हामीले प्रकृतिलाई नियालेर हेर्ने हो भने
पनि साधारणतया प्राकृतिक अवस्थामा रहेका जीव जन्तु तथा चराचुरुङ्गीले बिहान
सूर्योदयको समयवाट खान सुरु गर्दछन [१२]। भरपेट खाए पछि
मात्र दिउँसो अन्य क्रियाकलाप गर्दछन् र राति खाँदैनन् मस्तले सुत्दछन् । आजकल
मानिसहरुको सङ्गतले गर्दा घरपालुवा जनावरको बानी बिग्रेको मात्र हो । त्यसैले हामीले
प्रकृतिलाई अनुसरण गर्दै जठराग्नि प्रबलहुने समयमा सही तरिकाले खाना खाएमा पाचन
शक्ति क्रमशः सबल हुँदै जान्छ ।
बिहान सूर्योदय भन्दा पहिला उठेर दतिवन समेत नगरी सबभन्दा
पहिला उषापान गर्नु पर्दछ [१-१२]। रातभर आमाशयमा
अम्लीय पदार्थ जम्मा हुने गर्दछ । यही अम्लीय पदार्थले पाचन शक्तिलाई कमजोर बनाई
अनेक समस्या उत्पन्न गर्ने भएकोले यसलाई तटस्थ बनाउन प्राकृतिकरुपमा रातभर मुखमा
क्षारीय पदार्थ जम्मा भएको हुन्छ । हामिले बिहान उठ्ने बित्तिकै वासी पानी खाएमा मुखमा
रहेको क्षारीय पदार्थ पेटमा गई आमाशयमा रहेको अम्ललाई तटस्थ गराउँदछ र पाचन शक्ति
कमजोर हुन पाउँदैन [४,५,७]। त्यसैले पाचन
शक्ति सबल बनाउन चाहने व्यक्तिले जहिले पनि सूर्योदय भन्दा अगाडि उठेर उषापान
अर्थात् वासी पानी खाने गर्नु पर्दछ ।
परम्परागत उपचार विधि अनुसार खाना खाने समयमा जहिले पनि समथर
स्थानमा बसेर पलेंटिकसेर सुखासन अथवा गाईको दूध दुहुने वेलामा बस्ने जसरी दुई
खुट्टामा बसेर खाना खानु पर्दछ । डाइनिङ्ग टेवलमा बसेर वा उठेर खाना खानु हुँदैन ।
डाइनिङ्ग टेवलमा बसेर वा उठेर खाना खाँदा हाम्रो नाभि भन्दा तलका धमनीहरु तन्किएका
हुन्छन र जठराग्नि राम्ररी सक्रिय हुन
पाउँदैन [२]। भुइमा पिर्कामाथि बसेर खाना खाँदा मूलाधार चक्रमा दवाव पुग्दछ र
जठराग्नि प्रदीप्त भई खाना पूर्णरुपमा पच्दछ [४,५,७]। त्यसैले
पाचन शक्ति बलियो बनाउन चाहने व्यक्तिले सधैंभरी भूइमा पिर्कामाथि बसेर खानु पर्दछ
।
परम्परागत घरेलु उपचार विधि अनुसार पाचन शक्ति धेरै कमजोर
भएमा मात्रा मिलाएर नियमित गाईको घिउ खाने गरेमा पाचन शक्ति क्रमशः बढ्दछ । पाचन
शक्ति बलियो हुन अग्नि तत्त्व राम्ररी सक्रिय हुनु पर्दछ [६,९,१२]। अग्नि तत्त्व को सम्बन्ध घिउ सँग हुन्छ [६,९,१२]। जसरी बलिरहेको
आगोमा घिउ राख्दा आगो जोडले बढ्दछ त्यसैगरी खानाको शुरुवातमा खाएको घिउले
जठराग्निलाई बढाउँदछ र खाएको खाना पुर्णरुपमा पच्दछ । त्यसैले पाचन शक्ति बलियो बनाउने
चाहना भएको व्यक्तिले नियमितरुपमा शुद्द गाईको घिउ खाने गर्नु पर्दछ ।
घिउखाने तरिका
घिउखाने भन्दैमा एकैपटक धेरै घिउ खाने होइन । यसो गरेमा शरीरले
घिउलाई पचाउन नसकी नयाँ समस्या उत्पन्न हुन सक्ने भएकोले दैनिक रुपमा मात्रा
मिलाएर आधा चम्चाबाट सुरु गरी बिस्तारै परिणाम बढाउँदै घिउ खाने गर्नुपर्दछ [१२]। आधा चिया चम्चा शुद्ध गाईको घिउ खाना खाने समयमा पहिलो
सात गाँस भात वा रोटी सङ्ग खाइसक्नु पर्दछ । विस्तारै ७ दिनको फरकमा घिउको मात्रा
थोरै थौरै गरेर बढाउँदै जाने गर्नु पर्दछ [७]। नून (दाल, तरकारी)मा मिसाएर खाएको
घिउ पचाउन गाह्रो हुने भएकोले घिउ कहिल्यैपनि नूनराखेको परिकारमा मिसाएर खानु
हुँदैन । यसै कारणले गर्दा किरीया पुत्रीले जति घिउ खाए पनि पचेको हो । यसरी दैनिकरुपमा
घिउखाने गरेमा केही समयको अन्तरालमा पाचन शक्ति प्रबल भई एक माना घिउ समेत पचाउन
सक्ने क्षमताको विकास हुन्छ । घिउ सकभर जुरो भएको स्थानीय गाई अथवा भैंसीको दहिबाट
घरेलु तरिकाले बनाएको हुनु पर्दछ [५]। जर्सी, होलेष्टीएन, फ्रिजिएन गाईको घिउले
खासै फाइदा नगरी क्यान्सर जस्तो भयानक रोग लाग्ने सम्भावना हुन्छ [१३]। काठको अथवा
माटोको भाँडामा राखेको एक वर्ष पुरानो घिउ औषधीय प्रयोजनको लागि उत्तम मानिन्छ [१,१२]।
परस्पर विरोधी खाद्यपदार्थको सेवनले खाएको खाना विषाक्त भई
पाचन शक्ति कमजोर हुने भएकोले परस्पर विरोधी खाद्यपदार्थ एकै साथ खाने गर्नु
हुँदैन [१,२,४,५,१०,१२]। समय समयमा व्रत बस्ने गर्नु पर्दछ । अन्य समयमा व्रत
बस्न नसके पनि वर्षमा एक पटक निर्जला एकादशीका दिन व्रत बस्ने गर्नु पर्दछ [५,७]। यसरी
ब्रत वसेको समयका शरीरका विभिन्न अङ्गहरुले आराम गर्न पाउँदछन [१,५,७]। हामीले
माथि उल्लेखित कुराहरुलाई पालना गरेमा आफ्नो पाचन शक्ति बलियो बनाई सदैव निरोगी रहन
सकिन्छ ।
पाचन शक्ति र कर्मचारीको कार्यक्षमता विचको अन्तरसम्वन्ध
हामी आफू स्वयं तथा परिवारका सदस्यहरुको पाचन शक्ति कमजोर
भएमा विभिन्न रोगहरु लाग्ने भएकोले प्रायः जसो समयमा अस्पताल गइरहने तथा औषधि खाइरहने
अवस्था आउन सक्दछ । कार्यालयको समयमा अस्पताल जाँदा काममा बाधा पर्दछ भने शारीरिक
तथा मानसिक अशान्ति समेत हुन सक्दछ । सधैंभरि विरामी भैरहेमा आफ्नो कार्यक्षमता अनुसार
काम गर्न नसक्दा आफूमा आत्मग्लानि हुनुका साथै सेवाग्राहीबाट समेत विभिन्न आरोप सुन्नु
पर्ने अवस्था सृजना हुन सक्दछ । भोज भतेरमा समेत बिभिन्न परिकारहरु खादैन भन्नु
पर्दा भोजमा निमन्त्रणा गर्ने मानिसलाई समेत नमज्जा हुन्छ । अहिलेको जस्तो
प्राकृतिक विपत्तिको समयमा कमजोर पाचन शक्ति भएको मानिसलाई झाडापखालाले चाँडो असर
गर्ने सम्भावना हुने भएकोले आफुलाई हेर्ने कि अरुको उद्धार गर्ने भन्ने समस्या
देखा पर्दछ । यी विविध कारणहरुले गर्दा कमजोर पाचन शक्तिले व्यक्तिको काम गर्ने
क्षमतालाई प्रत्यक्ष/परोक्ष प्रभाव पार्ने भएकोले पाचन शक्ति बलियो हुनु पर्दछ ।
निष्कर्ष
मानिसको स्वास्थ्य नै उसको काम गर्ने उर्जा हो । परम्परागत
घरेलु उपचार विधि अनुसार मानिसमा विभिन्न रोगको सुरुवात कमजोर पाचन शक्तिबाट हुन्छ
। पाचनशक्ति बलियो भएमा साधारणतया मानिसलाई रोग लाग्दैन । त्यसैले स्वस्थ रहन
चाहना गर्ने व्यक्ति सदैव आफ्नो पाचन शक्ति तर्फ सतर्क रहनु पर्दछ । परम्परागत
घरेलु उपचार विधि अनुसार आहार-विहार, जीवनशैली, वरिपरिको वातावरण, शरीर विज्ञान
प्रतिको सजगताआदिमा ध्यान दिएमा पाचन शक्तिलाई क्रमशः बढाउन सकिन्छ । स्वस्थ व्यक्तिको
कार्यक्षमता अस्वस्थ व्यक्तिको कार्यक्षमता भन्दा बढि हुन्छ । मानिसको रोगको जड
भनेको खाएको खाना नपची सड्नु हो । कमजोर पाचन शक्ति भएमा खाना नपची सड्दछ ।
त्यसैले पाचन शक्ति सवल बनाउन खाना राम्रो सङ्ग पच्नु पर्दछ । जठराग्नि प्रदीप्त
भएको समयमा खाना खाएमा अथवा खाना खाएको समयमा जठराग्नि राम्ररी प्रदीप्त भएमा खाना
राम्ररी पची सड्न पाउँदैन । यसरी खाना नसडेमा मानिसलाई रोग लाग्न सक्दैन । पाचन
शक्ति सवल भएमा शारीरिक तथा मानसिक समस्या नआई आफ्नो कार्यक्षमता अनुसार कार्य
सम्पादन गर्न सकिने भएकोले यसलाई बलियो बनाउनु हरेक मानिसको कर्तव्य हो ।
सन्दर्भ सामग्रीहरु
1.
खप्तड स्वामी, स्वास्थ्य विज्ञान, २०६९: खप्तड आश्रम प्रकाशन समिति, काठमाण्डौ
2.
गीताप्रेस, जीवनचर्या विज्ञान, २०७०: गीताप्रेस, गोरखपुर (भारत)
3.
चोरडिया, डा.चंचलमन, २००४: स्वदेशी चिकित्सा स्वावलम्वी और
अहिंसक उपचार, स्वराज प्रकाशन
समूह, जोधपुर (भारत)
4.
डा. हरिप्रसादः, २०६०: स्वास्थयसूत्र, हरिप्रसादः मिसन, काठमाण्डौ नेपाल
5.
दीक्षित, राजीव, २०१२: स्वदेशी चिकित्सा, स्वदेशी प्रकाशन, (भाग १-४),
सेवाग्राम वर्धा (भारत)
6.
पंचगव्य
अनुसन्धान केंद्र,
http://www.panchgavya.org/संशोधन-एवं-अनुसंधान/
7.
व्यक्तिगत
कुराकानी, डा. मधुसुदन
लामिछाने, २०७१।२।२२ गते, काठमाण्डौं
8.
व्यक्तिगत
कुराकानी, डा. मुरली
मनोहर रौनियार, २०७२।२।८ गते, दाङ्ग
9.
व्यक्तिगत
कुराकानी, तारा प्रसाद
देवकोटा, २०७२।१।१८ गते, दाङ्ग
10.
व्यक्तिगत
कुराकानी, पं दामोदर
देवकोटा, २०७१।६।७ गते
11.
व्यक्तिगत
कुराकानी, भाष्कर घिमिरे, २०७१।१०।१४ गते, भक्तपुर
12. व्यक्तिगत कुराकानी, हरि सुवेदी,
२०७२।२।६ गते, दाङ्ग
13. व्यक्तिगत
प्रवचन, don't drink
jarsi cow milk, राजीव दीक्षित,
https://www.youtube.com/watch?v=yqMLtY_LQG4

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home