Wednesday, August 26, 2015

परम्परागत घरेलु उपचार विधि अनुसार स्वस्थ रहन पालन गर्नुपर्ने आधारभूत आचरण एवं कुराहरु


शम्भु घिमिरे
shambhughimire7@gmail.com
सारसंक्षेप
मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण विभिन्न रोगको उत्पत्ति भएको पाइन्छ । आजकल मानिसमा आहार विहार सम्वन्धी ज्ञानको कमीका कारण धेरै रोगहरु मानिसले खान नपाएर भन्दा खान नजानेर वा धेरै खाएर बढेको पाइन्छ । परम्परागत घरेलु उपचार विधिको आधारभूत आचरण एवं कुराहरुलाई पालना गरेमा मानिसलाई सकभर रोग लाग्दैन, यदि रोग लागिहालेमा पनि न्यूनतम खर्चमा उपचार सम्भव छ भन्ने विश्वास समाजमा कायम छ । अतः यस लेखमा समाजमा विद्यमान परम्परागत घरेलु उपचार विधिका विज्ञहरु संग प्रत्यक्ष/परोक्ष सम्पर्कमा रही यस विधि तथा यसको अभ्यास अनुसार मानिसहरुले स्वस्थ रहन पालन गर्नुपर्ने केही आधारभूत कुराहरुलाई खोज तथा सङ्ग्रह गर्ने जमर्को गरिएको छ ।


परिचय
हाम्रो समाजमा प्रचलित भनाइ छ 'स्वास्थ्य नै धन हो' । आजको समाजमा मानिसहरु रुपैयाँ पैसाको लागि दौडिरहेका छन् । उनीहरु जतिजति पैसा कमाउँदैछन् उतिउति स्वास्थ्यमा समस्या आएर औषधि उपचारमा अर्थ खर्च गर्दै छन् । अर्थात् जुनमात्रामा मानिसले आम्दानी गर्दैछन् त्यहि अनुपातमा विभिन्न रोगको कारण स्वास्थ्यमा खर्च गर्ने दर वृद्धि भइरहेको छ । हाम्रो समाजमा मानिसको आम्दानीमा उल्लेखनीय वृद्धि नभएको अवस्थामा   आर्थिक अभावका कारण औषधि उपचारमा कठिनाई आउदैछ ।

हाम्रो समाजमा परम्परागत घरेलु उपचार विधिको आफ्नै बिशिष्ट स्थान छ । आफ्ना अग्रज पुर्खाहरुबाट प्राप्त ज्ञानको आधारमा प्राकृतिकरुपमा प्राप्त जडिवुटि तथा अन्य वस्तुबाट घरमा औषधि तयार गरी गरिने उपचार पद्दतिलाई परम्परागत घरेलु उपचार विधि भनिन्छ । रोगीलाई नभई रोगको जडलाई उपचार गरिने यस उपचार विधिमा ‍औषधीको प्रयोगको साथ साथै आहारविहार, नियममा समेत ध्यान दिनु पर्दछ । विरामीलाई औषधि खुवाएर सञ्चो गराउने मात्र यस उपचार विधिको उद्वेश्य होइन । यसको खास उद्वेश्य मानिसलाई रोग लाग्नै नदिने हो । त्यसैले रोग लाग्न नदिन दैनिकरुपमा पालना गर्नु पर्ने नियम, जिवनशैली, आहारविहार, आचरण आदिवारे यसका आफ्नै मूल्य मान्यता, बिश्वास हुनुका साथै रोग निदान गर्ने आफ्नै परम्परागत तरिकाहरु छन् जुन आधुनिक अवधारणा संग मेल नखान सक्दछ । यस उपचार विधिमा विरामीको लक्षणलाई ध्यानपूर्वक अध्ययन गरी रोग लाग्नुको कारणलाई पत्ता लगाएर सोही रोगलाग्ने कारणको उपचार गरिन्छ । यसरी रोगको कारण (जड) लाई नै उपचार गरिने भएकोले एकपटक यस्तो उपचार विधिवाट उपचार गरी सञ्चो भएको विरामीहरु लाई पुन: सोही रोग लाग्ने सम्भावना हुँदैन । यो उपचार विधि लामो समयसम्म समाजमा उपयोग भइरहेकोले प्रभावकारी हुनुका साथै कुनै दुष्प्रभाव (Side Effect) हुँदैन भन्ने सामाजिक मान्यता तथा विश्वास पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले परम्परागत उपचार विधिलाई यसरी परिभाषित गरेको छ "Traditional medicine is the sum total of the knowledge, skills, and practices based on the theories, beliefs, and experiences indigenous to different cultures, whether explicable or not, used in the maintenance of health as well as in the prevention, diagnosis, improvement or treatment of physical and mental illness".

परम्परागत घरेलु उपचार विधिका विज्ञ (गुरुवा, वैद्य, गुभाजु, ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, लामा, आम्ची, धामि‑झाँक्री, झारफूके, समाजसेवी) हरुले यस विधिलाई हाल सम्म पनि निरन्तरता दिइरहेकाछन् । उनीहरुले अर्थोपार्जनको आशमा कहिले विरामी आउला र यो औषधि बेचौँला भनी पहिल्यै औषधि तयार गरेर बस्दैनन् । जसरी मानिसको औँलाको छाप, आँखाको नानी, DNA (Deoxyribonucleic acid) फरक फरक हुन्छ त्यसैगरी एउटै रोगमा पनि रोगीको आहार विहार, रहन सहन, मानसिक स्थिति, कामको प्रकृति, शारीरिक संरचना आदिका कारण परम्परागत घरेलु औषधिको मात्रा, अनुपान पनि फरक फरक हुन्छ । रोगी आएपछि आफ्नो उपचार विधिअनुसार ध्यानपूर्वक रोगीलाई जाँची रोग लाग्नुको कारण पत्ता लागेपछि मात्र जडिबुटी  तथा अन्य आबश्यक बस्तु संकलन गरी त्यसलाई आवश्यकतानुसार कुटेर, पिसेर, तेल बनाएर औषधि तयार गरी उपचार शुरु गर्दछन । त्यसैले यसमा केही समय अवश्य लाग्दछ ।

मानिसहरुलाई सहज र सरल तरिकाले स्वास्थलाभ गराउन सफल गहन महत्त्वको परम्परागत घरेलु उपचार विधिप्रति अहिले आएर मानिसहरुमा खोजको कमी पाइन्छ । एकातिर समाजमा सामाजिक कल्याण तथा सेवाको भावनामा समेत ह्रास हुँदै गइरहेको छ भने अर्कोतिर हाम्रो परम्परागत घरेलु उपचार विधि सिक्ने सिकाउने परम्परा (गुरुशिष्य परम्परा) मा पनि कमी आइरहेको छ । यदि हामीले आफ्नो परम्परागत ज्ञान, सीप, क्षमतालाई समयमै संरक्षण तथा प्रोत्साहन गरेनौँ भने मृगले आफूसंग भएको कस्तुरी खोज्न वन वन भौतारिए जस्तै हामीहरुपनि सस्तो सर्वसुलभ उपचार विधिको ज्ञानको अभावमा अस्पतालमा भौतारी रहनु पर्ने अवस्था आउन सक्ने भएकोले यस विधिको अनुसन्धान गरी पुनर्जागरण गर्न अत्यन्त जरुरी छ ।

अनुसन्धानका प्रश्नहरु
परम्परागत घरेलु उपचार विधि संग सम्वन्धित निम्न लिखित प्रश्नहरुको जवाफ खोज्ने उद्वेश्यले यो लेख तयार गरिएको छ ।
परम्परागत घरेलु उपचार विधि के हो ?
परम्परागत घरेलु उपचार विधि अनुसार कसरी स्वस्थ रहन सकिन्छ ?  
किन परम्परागत घरेलु उपचार विधि समाजमा उपयोगी छ ?

अध्ययन विधि
परम्परागत घरेलु उपचार विधिमा प्रयोगहुने वस्तु तथा सामग्री सवैले थाहापाएमा सहजाने (उपचारले काम नगर्ने) विश्वासका कारण यस विधाका विज्ञहरुले आफ्ना अनुभव, ज्ञान, सिप तथा उपचार विधि संग सम्वन्धित कुराहरु बाहिर प्रकाशमा ल्याउन चाँहदैनन् । यसै कारणले गर्दा यसको अध्ययन अत्यन्त चुनौति पूर्ण छ ।
अनुसन्धानकर्ता ग्रामीण परिवेशमा हुर्केकोले प्रायःजसो परम्परागत घरेलु उपचार विधिसंग सम्वन्धीत ब्यक्तिहरुको सम्पर्कमा रहन्थ्यो । उनीहरुसंगको सङ्गतले गर्दा जडिबुटि खोज्न बनपाखा/डाँडाकाँडा जानेदेखि लिएर आबश्यक वस्तु सुकाउने, कुट्ने, पिस्ने, तेल वनाउने तथा औषधि तयार गर्ने गरेको प्रशस्त अनुभव छ । अनुसन्धानकर्ता बाल्यकालदेखि यस विधिको आधारभूतकुराहरु संग जानकार हुनुका साथै उपचारमा संलग्न भएको ब्यक्ति हो । यसरि आफूमा भएको अनुभव तथा समय समयमा यस विधिको विभिन्न ज्ञाताहरुसंगको प्रत्यक्ष/परोक्ष अन्तर्वार्ता, छलफल, वादविवाद तथा उनीहरुले उपचार गर्ने क्रममा गरेको सक्दो सहयोग, अवलोकलन आदिका आधारमा यो अध्ययन गरिएको हो ।

परम्परागत घरेलु उपचार विधिको तरिका/प्रक्रिया
हाम्रो समाजमा प्रचलित तथा लोकप्रिय उपचार पद्धतिमा आयुर्वेदिक, प्राकृतिक, एलोपेथिक, होमियोपेथिक, यूनानी, सुजोक, चुम्वकीय चिकित्सा, एक्यूप्रेसर, रेकी आदि उपचार विधि पर्दछन् । यहाँ एलोपेथिक चिकित्सा विधि प्रयोगमा आउनु पूर्व परम्परागत घरेलु उपचार विधिमा आधारित भएर बिरामीको उपचार गरिन्थ्यो । त्यस समयमा अहिले जसरी अधिक रोगी र रोगहरु थिएनन् । डाँडाकाँडा, बनपाखा, गाउँघरमा सर्वसूलभ रुपमा प्राप्तहुने जडिवुटि तथा अन्य वस्तुहरुको प्रयोगले रोगको कारण पत्ता लगाई उपचार गर्ने भएकोले रोगीहरुको संख्या पनि कम हुन्थ्यो । यसरी रोगको कारण (जड) को उपचार गरिने भएकोले निश्चित समयसम्म औषधि सेवन गरेपछि विरामीहरु पूर्णरुपमा निको हुन्थे । उनीहरुले खाना खाए जस्तै सधै भरी ‌औषधि खाइरहनु पर्दैनथ्यो ।

अहिले समाजमा आधुनिक जीवनशैली, शहरी रहनसहन जस्ता विभिन्न कारणहरुले गर्दा  पारिवारिक संरचना, आहार विहार, जीवनशैली, सोच, मूल्य-मान्यता आदिमा व्यापक परिवर्तन आएको छ । आधुनिक शिक्षादीक्षा प्राप्त गरेका आजका नयाँ पुस्तामा पश्चिमी तथा युरोपेली जीवनशैली, शिक्षा-दीक्षा, आहार विहार, मूल्यमान्यतामा झुकाव वढ्दैछ । समाजमा के खाने, के नखाने, कसरी खाने, कुन समयमा खाने, कुन कुन चिज सँगसँगै खाने, कुन कुन चिज सँगसँगै नखाने जस्ता अतिसामान्य कुराको ज्ञानको कमीका कारण रोग र रोगीहरुको संख्या व्यापक मात्रामा वढ्दै गइरहेको छ । क्यान्सर, मुटु, किड्नी, चिनीरोग (Sugar), वात (Uric Acid),  थाईराइड, मानशीकरोग जस्ता रोगीहरुको संख्या दिनानुदिन वढ्दै गइरहेकोछ ।

कतै हाम्रा परम्परागत घरेलु उपचार विधिमा यस्ता रोगहरुका उपचार विधि त छैनन् ? आधुनिकताको नाममा हामीहरु प्रकृतिवाट टाढा भाग्दै गर्दा आफ्नै गाउँघर, भान्सामा भएका महत्वपूर्ण औषधिलाई नचिनेर दैनिक औषधि सेवन गर्नु पर्ने अवस्थामा त छैनौ ? यस सम्वन्धमा अनुसन्धानकर्ताले जाने वुझेको तथा सम्पर्क गर्न सकेका समाजका विद्यमान परम्परागत घरेलु उपचार विधिका बिज्ञहरुसंग प्रत्यक्ष/परोक्ष सम्पर्कमा रही वहाँहरुको उपचार विधिको अवलोकन गरिएको छ । अर्थोपार्जन भन्दा समाज कल्याण, सामाजिक सेवा भावले विभिन्न विज्ञहरुले परम्परागत रुपमा गर्दै आईरहेका हुँदा उनीहरुको अनुभवको निष्कर्ष तथा अनुसन्धानकर्ता स्वयमले आफ्नो समुदायमा गरेका अभ्यास समेत विश्लेषण गरी यो लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

परम्परागत घरेलु उपचार विधि अनुसार स्वस्थ रहन अपनाउनु पर्ने केही आधारभूत कुराहरु
परम्परागत घरेलु उपचार विधि अनुसार रोग लाग्नुको मुख्यकारण गलत आहार-विहार, जीवनशैली, ऋतु परिवर्तन तथा वरिपरिको वातावरण आदि हुन । त्यसैले निरोगी तथा स्वस्थ रहन दिनचर्या, ऋतुचर्यामा ध्यान दिएमा रोग लाग्दैन । परम्परागत घरेलु उपचार विधिका विज्ञ अनुसार स्वस्थ रहन दैनिक रुपमा पालन गर्नु पर्ने प्रमुख कुराहरुलाई तल उल्लेख गरिएको छ ।

बिहान उठ्ने समय
स्वस्थ तथा निरोगी हुन चाहने व्यक्ति सदैब विहान ब्रम्हमूहूर्तमा (3-5) बजे भित्र उठ्ने गर्नु पर्दछ । गुरुवाहरुले भाले बास्ने समयमा उठ्नु पर्दछ भन्दछन् । बैद्यहरुले झिसमिसे विहानी समय उठ्नु पर्दछ भन्दछन् । ज्योतिष तथा पण्डितले व्रम्हमुहुर्तमा उठ्नु पर्दछ भन्दछन् । योगी विकाशानन्द, खप्तड स्वामीका अनुसार पनी ब्रम्हमूहूर्तमा उठ्नु पर्दछ । चोरडिया, २००४ का अनुसार विहान ३ बजे देखि ५ वजे सम्मको समयमा मानिसको फोक्सो सबभन्दा वढी सक्रिय रहन्छ । ब्रम्हमूहूर्तमा शरीरशुद्दीको लागि ज्यादा अक्सिजन आवस्यकता पर्दछ । रात भरी रुख बिरुवाले प्रशस्तमात्रामा अक्सिजन प्रवाह गर्ने हुँदा विहानको हावामा अक्सिजन प्रचुर मात्रामा पाईन्छ । त्यसैले विहान ब्रम्हमूहूर्तमा उठ्नु साह्रै राम्रो मानिन्छ ।

बिस्तरावाट उठ्दा जुन नाकको प्वालवाट सास वाहिर आइरहेको छ सोही तर्फको गोडाले पहिला भुँइमा टेक्ने । अर्थात यदि दायाँ तर्फको नाकको प्वालवाट सास फेरिरहेको छ भने दायाँ गोडाले भूइमा टेक्ने  । यदि बायाँ तर्फको नाकको प्वालवाट सास फेरिरहेको छ भने बायाँ गोडाले भूइमा टेक्ने । देवकोटाको अनुसार यसो गर्दा दिनभरी सरुवारोग लाग्ने सम्भावना कम हुन्छ, त्यो दिनको काम सहजताकासाथ सम्पन्न हुनुका साथै मानशीक तनाव समेत हुदैन ।

उषापान
बिहान उठ्ने वित्तिकै हातमुख नधोएर राति तामा, माटो अथवा काठको भाँडामा राखेको बासी पानी खाने गर्नु पर्दछ । यसलाई उषापान भन्दछन । यस सन्दर्भमा गुरुवाहरुले भाले बास्ने समयमा उठेर बिस्तारै वासी पानी खानु पर्दछ भन्दछन । उनीहरुले माटाको भाँडामा राखेको बासी पानी खान्छन । बैद्यहरुले झिसमिसे विहानी समयमा उठी तामा अथवा विजयसालको काठको भाँडामा राखेको बासी पानी खानु पर्दछ भन्दछन । ज्योतिष, पण्डितले ब्रम्हमूहूर्तमा उठेर तामाको भाँडामा राखेको बासी पानी खानु पर्दछ भन्दछन । खप्तड स्वामी (२०६९,११६) अनुसार समेत यसैलाई उषापान भनिन्छ । तसर्थ विहान 3-5 बजेको समयमा उठेर आफ्नो सामर्थ्य अनुसार बासी पानी विस्तारै सुरुप सुरुप गरेर चिया खाए जस्तै खानु पर्दछ ।

उषापानको परिणाम सन्दर्भमा दीक्षित (२०१२) अनुसार पानी खान शुरु गर्दा विस्तारै 1-2 गिलास वाट सुरु गर्दै आफ्नो उमेर तथा सामर्थ्य अनुसार वालक (18 वर्ष सम्म) ले 2 गिलास (750 मि.लि.), वयस्क (18-60 वर्ष सम्म)ले 4 गिलास (1 देखी सवा लिटर) तथा वृद्ध (60 वर्ष भन्दा माथि) ले 2 गिलास (750 मि.लि.)  पानी खाने गर्नु पर्दछ ।

उषापान गर्नुकोकारण
हामी मस्त निदाए पनि रात भर हाम्रो मुखका ग्रन्थीहरु सक्रिय हुन्छन । ती ग्रन्थिले रात भरमा पेटमा जम्मा भएको अम्ललाई तटस्थ Balance गर्न र्र्याल उत्पादन गरेका हुन्छन् । यहि र्र्याल क्षारीय भएकोले पेटमा गएर त्यहाँ भएको अम्लय लाई तटस्थ (Neutral) गराउने काम गर्दछ । यो नै यसको सर्वोत्तम औषधि हो । यसले गर्दा शरीरमा अम्लीयता बढ्न पाउँदैन र अम्लीयताको कारण हुने कुनैपनि रोगहरु लाग्न सक्दैन । हामी उठेको आधा घण्टा भित्र अथवा सूर्योदय भए पछि यी क्षारहरुको क्षमता क्रमश: ह्रास हुँदै जान्छ । त्यसैले उषापान जहिलेपनि व्रस, दतिवन गर्नु पूर्व र उठ्ने वित्तिकै गर्नु पर्दछ । यस कुरालाई पण्डित, गुभाजु, बैद्यले समेत अवलम्वन गर्दछन ।

प्रातःकालीन भ्रमण तथा दतिवन गर्ने वा दाँत माझ्ने
बिहान उषापान गरे पछि १५/२० मिनेट हिड्नु पर्दछ । बिहान हिडेर बाशस्थानमा आएपछि दतिवन अथवा दन्तमञ्जन गर्नु पर्दछ । यस सम्वन्धमा गुरुवा र अन्य विज्ञको धारणा निम्नानुसार पाइन्छ ।

गुरुवा
गुरुवाहरुका अनुसार उषापान पछि दतिवन गर्दै ५००-७०० मिटर जति हिड्नु पर्दछ । उनीहरुले सैजन, सेवाली, निम, जावुनो, अम्वाको हाँगाले दतिवन गर्दछन । गुरुवाले विहानको भ्रमण संगसंगै दतिवन गरी समयको वचत गर्नु पर्दछ भन्दछन ।

अन्य विज्ञ
घिमिरे (२०७१), देवकोटा (२०७२), लामिछाने (२०७१), तथा अन्य विज्ञहरुले समेत उषापानपछि १५/२० मिनेट हिड्नु पर्दछ भनेकाछन् । उनीहरुले प्रातःकालीन भ्रमणपछि दतिवन गर्नु पर्दछ भन्दछन । त्यसैले आफ्नो वासस्थानमा विद्यमान वातावरण तथा आफूमा भएको वात, कफ वा पित्तको प्रकोप अनुसार विस्तारै हिड्ने वा दौडने कार्य सम्पन्न गरेपछि दतिवन गर्नु पर्दछ ।

रौनियार (२०७२), दीक्षित (२०१२), वैद्य तथा पण्डितका अनुसार सकभर कसाय रस युक्त रुखबृक्ष जस्तै निम, जामुन (जामुनो), अम्वा, अपामार्ग (दतिवन) ले दतिवन गर्ने अथवा सिधेनुनको मसिनो धुलो र वेसारको धुलो मा तोरीको तेल राखेर ‍औलाले विस्तारै दाँतको मालिस गर्दै दन्तमञ्जन गर्नु पर्दछ । यसरी दतिवन गरेमा दाँत स्वच्छ तथा बलियो हुन्छ । यदि कुनै कारणवस दैनिक यसरि दतिवन गर्न नसकेमा कम्तिमा हप्तामा एक दिन भए पनि यो विधि अनुसार दन्तमञ्जन गर्नु पर्दछ ।

शौचालय
बिहान (आफ्नो नित्य समयमा) शौचालय (दिसा-पिसाव) जाने । प्रायः सबैजसो रोगको उत्पत्तिको कारण समयमा शौचालय नहुनु वा भएपनि पूर्णरुपमा नहुनु हो । त्यसैले हामीले शौचालय निश्चित समयमा जाने प्रयास गर्नु पर्दछ । संक्षिप्त गरुडपुराणांक (२०००) मा समेत बिहान नित्य समयमा शौचालय जानुपर्दछ भनिएको छ । दैनिक उषापान गरेमा प्रायः जसो निस्चित समयमा शौचालय हुने र यो सम्वन्धि कुनै पनि समस्या नआउने पाईन्छ ।

टुप्पि/कपाल हल्का तान्ने
शौचालयवाट निवृत्त भए पछि कपालको जरा सम्म पुग्ने गरी काईयोले कपाल कोर्ने । पुरुषले टुप्पि भएमा टुप्पि, टुप्पि नभएमा जहाँ भवरा छ त्यहाँको रौं र महिलाले आफ्नो कपाल विस्तारै  ५-७ पटक तान्ने । ज्योतिष, पण्डित, बैद्य र (२०७१) अनुसार यस्ले शरीरको सम्पूर्ण नसालाई सक्रिय तथा बलियो वनाउँदछ । भविष्यमा नसा तथा ढाड सम्वन्धी रोग लाग्दैन । एतिहासिक सन्दर्भलाई हेर्ने हो भने पनि यो प्रमाणित हुन्छ । जस्तै कपाल मुण्डन गरेका महिलालाई राँडी भन्ने चलन छ । नेपालमा जङ्गबहादुरले सती प्रथा बन्दगरेपछि बिधवा महिलाले आफुचाँडो मर्नको लागी कपाल मुण्डन गर्ने गर्दथे । यसको कारण उनीहरुमा यसरि कपाल मुण्डन गरेमा चाँडो नसा सम्वन्धी रोग लाग्ने र चाँडो मर्न पाउने विश्वास थियो । त्यसैले हाल सम्म पनि कपाल खौरदा टुप्पि राख्ने चलन कायम छ ।

व्यायाम
स्वस्थ व्यक्तिले दैनिक व्यायाम गर्नु पर्दछ । व्यायाम भन्नाले शारीरिक व्यायमका साथै योगलाई समेत जनाउँदछ । दैनिक व्यायाम गर्नाले शरीरको पाचनक्षमतामा वृद्धिहुन्छ, अनावश्यक मोटोपना तथा बोसो वढ्न पाउँदैन, कामगर्ने क्षमता वढ्दछ, शरीर बलियो तथा फूर्तिलो हुन्छ । व्यायाम सदैव आफ्नो शारीरिक क्षमता अनुसार गर्नु पर्दछ । शरीरमा हल्का पसिना आउँदा सम्म व्यायाम गर्नु पर्दछ । यदि पसिना ज्यादा आउनलागेमा तत्कालै व्यायाम गर्न छोड्नु पर्दछ । चरकमूनी साभारः खप्तड स्वामी (२०६९,११८) अनुसार
शरीरचेष्टा या चेष्टा स्थैर्यार्था बलवाहिनी । देह व्यायाम संख्याता मात्रया तां समाचरेत् ।। लाघवं, कर्मसामर्थ्य, स्थैर्य, क्लेशे सहिष्णुता । दोषापायाग्निवृद्धिश्य व्यायामादुपजापते ।।

वागभट्ट साभारः दीक्षित (२०१२,१७) अनुसार
लाघवं कर्मसामर्थ्य दीप्तोऽन्निर्मेदसः क्षयः । विभक्तघनगात्रत्वं ण्यायामादुपजायते ।।

व्यायाम शारीरिक तन्दुरुस्तीका लागी आबश्यक भएपनि शरीरमा घउखटिरा भएमा, कडारोग लागेमा, जण्डीस भएमा व्यायाम गर्नु हुँदैन । यस्का साथै बालक बृद्ध तथा अशक्तले समेत व्यायाम गर्नु हुँदैन । यस सम्वन्धमा वागभट्ट साभारः दीक्षित (२०१२,१७) भन्नुहुन्छ
वातपित्तामयी बालो वृद्धीऽजीर्णी च तं त्यजेत्

स्नान
नियमित नुहाउनाले जठराग्नी प्रदीप्त हुन्छ, शरीरका रौका प्वालहरु खुल्दछन, शरीर शुद्धिहुनुका साथै मानिसलाई रोग लाग्दैन । दैनिक नुहाउँदा साधारणतया चिसो पानीले नुहाउने गर्नु  पर्दछ । रोगी अशक्त तथा बृद्ध व्यक्तिले भोजन गरेर घामलागेपछि मात्र नुहाउनु पर्दछ । नित्यकर्म पूजाप्रकाश (२०७०,४२) अनुसार
गुणा दश स्नानपरस्य साधो रुपं च तेजश्च बलं च शौचम् । आयुष्यमारोग्यमलोलुपत्वं दुःस्वप्ननाशश्च तपश्च मेधाः
अर्थात रुप, तेज, बल, पवित्रता, आयु, आरोग्य, निर्लोभता, दुःस्वप्नको नास, तप तथा मेधा यि दस गुण नुहाउने व्यक्तिलाई प्राप्त हुन्छ ।
स्नानमूलाः क्रियाः सर्वाः श्रुतिस्मृत्युदिदा नृणाम् । तस्मात् स्नानं निषेवेत श्रीपुष्टयारोग्यवर्धनम् ।।
अर्थात समस्त काम स्नानमूल छ । त्यसैले लक्ष्मी, पुष्टि एवं आरोग्यको वृद्दि चाहने मानिसले सधै नुहाउनु पर्दछ ।
वागभट्ट साभारः दीक्षित (२०१२,१९) अनुसार
दीपनं वृष्यमायुष्यं स्नानमुजबिलप्रदम् ।
कण्डुमल श्रमस्वेदतन्द्रातृड्दाहपाप्यजित ।।
उष्णाम्बुनाडधः कायस्य परिषेको बलावहः ।
तेनैव तूत्तमाडग्स्य बलहृत्मेशचक्षुषाम् ।।
अर्थात नुहाउनाले जठराग्नी प्रदीप्त हुन्छ । आयु तथा शारीरिक बल बृद्धि हुन्छ । शरीरका रोमकुप खुल्दछन् । शारीरिक थकान नष्ट हुन्छ ।

बिहानको खाजा/खाना
बिहानको खाजा/खानाको समय निश्चित गरी सकभर सधै भरी एकै समयमा खाने । उषापान गरेको १ घण्टा पछि खाजा/खाना खान मिल्दछ । विहानको पहिलो खाजा/खानाको सुरुमा अम्लीय पदार्थ र पानी कहिल्यै नपिउने । खानाको शुरुमा खाएको अमिलोले शरीरमा अम्लियताको मात्रालाई झनै वढाउँदछ भने पानी पेटमा पुग्ने वित्तिकै जठराग्नी शान्त हुन्छ र सो समयमा खाएको खाना नपचि सड्दछ । त्यसैले खानाको सुरुमा अम्लिय पदार्थ र पानी कहिल्यै नपिउने । यसै सम्वन्धमा गाउँघरमा प्रचलित भनाइ बिहानको अमिलो दिउँसोको राई, साँझको मुला कालको भाइ

खाना खान वस्ने तरिका
खाना सधै भरी ढाडलाई सिधा पारेर सुखासन वा गाईको दुधदुने आसानमा वसेर खानु पर्दछ । गुरुवाका अनुसार खाना खाँदा ढाडलाई सिधा राखेर पिर्का/विंडामा गाइको दुधदुने समयमा वसे जसरी वसेर प्रसन्नतापूर्वक खानुपर्दछ । अन्य बिज्ञका अनुसार खाना खाँदा सकभर भुईमा वा समथल स्थानमा पिर्कामाथि सुखासनमा (चाक्कलमाडी) वसेर ढाडलाई सिधा राखेर प्रसन्नता पूर्वक खानुपर्दछ । हाम्रो गाउँधरमा अहिलेपनि यसैगरी भुईमा वसेर खाना खाने प्रचलन छ । खाना कहिल्यैपनि उठेर, कुर्सिमा वसेर खानहुँदैन ।

दीक्षितका (२०१२) अनुसार भुईमा वसेर खाना खाँदा मूलाधार चक्रमा दवाव पुग्दछ र जठराग्नी प्रदिप्त भई खाएको खाना समयमा नै राम्रो सँग पच्दछ । आजकल कुर्सिमा वसि डाइनिङ्ग टेवलमा खाना खाने प्रचलनको कारण जठराग्नी पूर्णरुपमा सक्रिय हुन नपाई खाना राम्रो संग नपचेर सडिरहेको पाइन्छ । यहि सडेको खानाको कारण आजकल धेरै जसो मानिसहरु रोगी भइरहेका छन् ।

जीवनचर्या-विज्ञान (२०७०,११४) अनुसार कुर्सीमा बसेर भोजन गर्दा गोडा तलतिर तानिएर रहेको हुन्छ । यसरी गोडा झुण्डीदा नाभी संग सम्बन्धित तलको सवै धमनि तानीन्छन् र यसको पाचन क्रियामा खराव असर पर्दछ जसले गर्दा शारीरिक हानि हुन्छ ।

खाना खाने समय
बिहानको खाना सुर्योदयको समयवाट अढाइ घण्टा भित्र खाइ सक्नु पर्दछ । यथासम्भव चाँडो खानु पर्दछ, 9 बजे भन्दा ढिला गर्नु हुँदैन । गुरुवा तथा थारुहरुले विहान उठेको एक डेढ घण्टापछि खान शुरु गर्दछन । आयुर्वेदका अनुसार हाम्रो शरीरको जठराग्नी विहान सूर्योदयको अढाइ घण्टासम्म र साँझ सूर्यास्तको अगाडि 45 मिनेट सम्म ज्यादा सक्रिय हुन्छ । त्यसैले यो समयमा खाएको खाना सजिलै पच्ने भएकोहुँदा विहानको खाना सूर्योदयको समयवाट अढाइ घण्टा भित्र खाइ सक्नु पर्दछ ।

कस्तो खाद्यपदार्थ खाने
खानाको सम्वन्धमा सवै विज्ञहरुको धारणा एकै प्रकारको पाइन्छ । उनीहरुकाअनुसार आफू वसेको स्थान, वातावरण वरपर पाइने बिषादि प्रयोग नगरेको तथा अत्यधिक बिकासेमल नराखेको मौसमी खानयोग्य वस्तु, फलफुल, तरकारी खाने । विहानको समयमा दहि, फलफुल, फलफुलको जुस, आफूलाई मनपर्ने विभिन्न प्रकारका खाद्यपदार्थ, ज्यादा पौष्टिक तत्त्व भएका वस्तु, मुला, रायोको साग आदि खाने । फलफुलको जुस भन्दा फलफुल खाने । जुस खानु परेमा घरैमा वनाएर खाने । यथासम्भव रेसादार पदार्थ खानामा समावेश गर्ने । गहुँको आटा, खैरो चामल (पालिस नगरेको चामल), बोक्रा सहितको दाल, हरियो तरकारी आदि खाने । सम्भव भए दैनिक 1-2 वटा अमला अथवा अमलाको परिकार खाने । यस सम्वन्धमा योगी विकाशानन्दले '५ स' अर्थात ५ बटा सेतो पदार्थ (सेतो पालिस लगाएको चामल, सेतो मैदा, सेतो चिनि, सेतो नुन, सेतो वनस्पती तेल) खानु हुँदैन भन्नु भएको छ ।

खाना खाने तरिका
आफूलाई पस्केको खाना न तातो न चिसो हातले छुँदा नपोल्ने भएमा खान शुरुगर्नु पर्दछ । खाना पस्कँदा खाना पकाउने भाँडामा खाना पकाउने क्रममा जम्मा भएको पसिनालाई बाहिर फाल्नु पर्दछ । यो पसिना खाएमा वात रोग लाग्दछ भन्ने मान्यता प्रायः सवै ज्ञाताहरुमा पाईन्छ । खाना खाँदा उत्तर वा पूर्वी दिशामा फर्केर प्रशन्नतापूर्वक बिस्तारै चपाई चपाई खानु पर्दछ । खाना खाँदा कुरा गर्नु हुँदैन भन्ने धार्मिक मत पाइन्छ । हाल सम्म पनि गाउँघरमा केहि मानिसहरुले यो नियमलाई पालना गरेको पाइन्छ ।

खाना खाइसकेपछि
खाना खाइसकेपछि मुखमा पानी राखी कुल्ला गर्दै पानी निल्ने । यो ३ पटक गर्ने । यसरी पानी कुल्ला गर्दै निलेमा दाँतमा समस्या आउँदैन ।

खाना खाएर हातधुने समयमा
खाना खाएर हात मुख धोएर रुमालले मुख पुछ्नु भन्दा पहिले चिसो हातको चोर औँला र वुढी औँलाले दुवै आँखाको किनारावाट विचमा नाक तिर विस्तारै तान्दै ल्याउने । यो क्रिया ३ पटक गर्ने । घिमिरे (२०७१) अनुसार खाना खाँदा आँखामा तापक्रम वढेको हुन्छ । यहि तापक्रम लाई सामान्य अवस्थामा ल्याउन विस्तारै चोर औला र वुढी औलाले दुवै आँखाको किनारा वाट विचमा नाक तिर विस्तारै तान्दै ल्याउनु पर्दछ अथवा खप्तड स्वामी (२०६९,१२२) का अनुसार हात मुख धोइसकेपछि मुखमा टम्म पानी राखी दाँत टम्म पारेर दुवै आँखामा 15-20 पटक छ्याप्ने गर्नु पर्दछ । यसो गर्दा आँखाको रोग सजिलै लाग्दैन ।

खाना खाइ हातमुख धोए पछि 20-30 मिनेट जति बायाँ तर्फ कोल्टे सुतेर आराम गरेर आफ्नो दैनिक काम सुरु गर्नु पर्दछ । यस सम्वन्धमा अकवर र बिरवलको लोकप्रिय कथा "खाने के बाद लेटना" गाउँघरमा सुन्न पाईन्छ ।

खाना र पानी
खानाको शुरु र अन्तमा पानी नखाने । कम्तिमा पनि पानी खाएको ४५ मिनेटको पछि खाना खाने । यसै सम्वन्धमा महर्षि बागभट्टले भोजनान्ते विषम वारी अर्थात खानाको अन्त्यमा खाएको पानी विष समान हुन्छ भन्नुभएको छ । खप्तड स्वामी (२०६९,१२२) अनुसार समेत भोजन भन्दा अघि या अन्तमा पानी पिउनु हुँदैन । खानाको अन्तमा महि, मौसम अनुसारको फलको जुस जस्ता तरल पदार्थ पिउन सकिन्छ । यदि पानी खान परेमा खानाको विचमा २ अन्न जस्तै चामल (भात) र गहुँ (रोटी) को विचमा २-३ घुटकी पानी खान मिल्दछ ।

हाम्रो शरीरमा नाभि भन्दा केहिमाथि देव्रे तर्फ एउटा अंग हुन्छ । यसलाई आमासय (जठर) भनिन्छ । यसै जठरमा खानालाई पचाउन अग्नी वल्दछ (रस वन्दछ) । यसैलाई जठराग्नी भनिन्छ । यहि जठराग्नीले हामीले खाएको खाना पचाउँदछ । हामीले खाएको खाना पहिला आमाशयमा जान्छ । आमासयमा खाना पुग्ने वित्तिकै अग्नी वन्न थाल्छ (जठराग्नी सक्रिय हुन्छ) । खाना विस्तारै लेदोको रुपमा परिवर्तन हुन्छ र रस वन्दै पच्न थाल्छ । यदि हामीले खानाको अन्तमा पानी खाएमा पानीले अग्नीलाई वुझाउँदछ र अग्नी शान्त तथा कमजोर हुन्छ (वलिरहेको आगोमा पानी राखेमा आगो निभे जस्तै) । यसरी अग्नी कमजोर भएमा खाना पच्दैन र कुहिन थाल्छ । कुहिएको खानावाट सर्वप्रथम पेटमा ग्याँस वन्दछ । यही ग्याँस नै धेरै रोग उत्पत्तिको कारण हो ।

दीक्षित (२०१२) अनुसार यही ग्यासको कारण शरीरमा अम्लियता वढ्दछ र विभिन्न रोगहरु जस्तै अम्लियता, पाइल्स, फिस्टुला, अल्सर, क्यान्सर आदि उत्पन्न हुनुकासाथै Bad Cholesterol, LDL, VLDL वन्दछ र वाथ, मुटुको रोग जस्ता रोगहरु उत्पन्न हुन्छ । त्यसैले खाना खानु भन्दा पहिला र खानाको अन्तमा कहिल्यै पनि पानी पिउन हुँदैन ।

खाना पच्न लाग्ने समय
भौगोलिक स्थान तथा वातावरण अनुसार खाना पच्न लाग्ने समय फरक फरक हुन्छ । दीक्षित (२०१२) अनुसार हिउँ पर्ने स्थान वा ज्यादा चिसो मौसममा खाना पच्न साधारणतया अढाइ घण्टा सम्म लाग्दछ । शितल स्थान मा शितल मौसममा खाना पच्न साधारणतया दुई घण्टा सम्म लाग्दछ । गर्मी स्थान वा गर्मी मौसममा खाना पच्न साधारणतया डेढ घण्टा सम्म लाग्दछ ।  

पानी खाने तरिका
खाना खानु भन्दा ४५ मिनेट पहिला र खाना खाएको दुइ-तिन घण्टा पछि मात्र आफ्नो उमेर अनुसार दैनिक 2-3 लिटर मनतातो पानी खाने गर्नु पर्दछ । खाने पानी माटो, पित्तल, स्टिल, तामा, काठ, चाँदीको भाँडामा राख्नु पर्दछ । दैनिक खानेपानीको परिणाम हिसाव गर्दा दुध, दाल, तरकारी, फलफुल, जुस, तरकारी आदीमा रहेको पानीलाई समेत जोड्नु पर्दछ । पानी खाँदा घट घट एकै पटक नखाई वसेर विस्तारै चिया खाए जस्तै विस्तारै सुरुप सुरुप गरी मनतातो पानी खाने गर्नु पर्दछ ।

दीक्षित (२०१२) अनुसार शरीरले कुनै पनि वस्तुलाई पचाउन ती वस्तुलाई आफ्नो तापक्रमा परिवर्तन गर्दछ । यदि चिसो पानी खाएमा शरिरले पानीलाई पचाउन सर्वप्रथम तताउन लाग्दछ । पानी तताउन शरीरको सम्पूर्ण रगत पेट तर्फ जान्छ । यसरी रगत वारम्वार पानी लाई पचाउन पेटमा जान लागेमा शरीरको अन्य अंगमा रगतको कमी हुन्छ र ती अंगहरु कमजोर हुन्छन र समयभन्दा पहिला नै काम गर्न वन्द गर्दछन् । सर्वप्रथम ठूलो आन्द्रा संकुचित हुन्छ र कव्जियतको समस्या सुरु हुन्छ । यस्तै प्रकारले अन्य कमजोर अङ्गका कारण नै मस्तिस्कघात, हृदयघात जस्ता रोगहरु उत्पन्न हुन्छन । मनतातो पानी लाई पचाउन शरीरलाई सजिलो हुन्छ र यो पानी ४५ मिनेट भित्र पचि सक्दछ । त्यसैले पानी जहिल्यै पनी मन तातो खाने गर्नु पर्दछ, चिसो तथा फ्रिजमा राखेको खानु हुँदैन ।

खानाखाएपछि
खानाखाएको 5 घण्टा सम्म केहि खान हुँदैन । पेटलाई केहि समय आराम गर्न दिनु पर्दछ । यो समयमा मनतातो पानी, महि, फलफुलको जुस खान हुन्छ । जसरी भर्खर टन्न खाएर आराम गरेको बाघको नजिक जाँदा समेत वाघले खाँदैन भनिन्छ त्यसैगरी विहानको खाना खाए पछि पटक पटक खाइरहनु हुँदैन । गुरुवा तथा सुनपुरे छोड्काले बिहान खाना खाएपछि काममा जाने र एकैपटक दिउसो सितली फर्केपछी (लगभग ३-४ वजेतिर) नास्ता खानु पर्दछ भन्दछन् । थारु समाजमा यो नियमलागु भएको पाइन्छ । वागभट्ट साभारः दीक्षित (२०१२,२०) अनुसार
जीर्णे हितं भितं चाहान्न वेगानीरयेद् बलात् न वेगितोडन्यकार्यः स्यान्नाजित्वा साध्यमामयम्
अर्थात पहिले खाएको भोजन पचेपछि मात्र थोरै भोजन गर्नु पर्दछ । पटक पटक खाइरहँदा शरीरले खानालाई पचाउन लागिरहने भएकोले शरीरले सवै अङ्गमा राम्रो सङ्ग रगत प्रवाह गर्न सक्दैन र ती अङ्गहरु कमजोर भइ विभिन्न रोग उत्पत्ति हुन्छ । त्यसैले पटक पटक नखाई केहि समय पेटलाई आराम गर्न दिनु पर्दछ ।

दिउसोको नास्ता
दिउसको समयमा हल्का नास्ता खानु पर्दछ । महि, फलफुल, फलफुलको ताजा जुस खान हुन्छ । नास्ता विहानको खानाको परिणाम तथा क्यालोरिमा भन्दा कम हुनु पर्दछ ।

रात्रीको खाना
सुर्यास्त भन्दा ४५ मिनेट पहिला जठराग्नि ज्यादा सक्रियहुन्छ र खाएको खाना सवै पच्दछ । त्यसैले रात्रीको खाना सूर्यास्त हुनु भन्दा 45 मिनेट पहिला खाने गर्नु पर्दछ । यदि यो सम्भव नभएमा यथासम्भव चाँडो खाना खाने गर्नु पर्दछ । चोरडियाका अनुसार साँझ ७ बजे देखि ९ बजे सम्म आमाशय सवैभन्दा कम सक्रिय हुन्छ । यसरी आमाशय कम सक्रिय भएको समयमा खाएको खाना राम्ररी पच्दैन सड्दछ । अहिले पनि गाउँघरमा साँझ सूर्यास्त भन्दा पहिला खाना खाने तथा सूर्यास्त पछि ठोस खाना नखाने चलन पाइन्छ ।

रातीको खाना दिउसोको नास्ताको परिणाम तथा क्यालोरिमा भन्दा कम हुनु पर्दछ । रातीको खाना पछि औषत 500-1000 कदम जति विस्तारै हिड्नु पर्दछ। राती शरीरलाई घेरै क्यालोरी आवश्यक पर्दैन । राति हामीले धेरै खाएमा त्यो अनावश्यकरुपमा बोसोको रुपमा जम्मा भएर वस्दछ र बिभिन्न रोगको उत्पत्तिहुन्छ । त्यसैले रातीको खाना हल्काहुनु पर्दछ । राती अमिलो वस्तु, अमिलो जातको फलफुल, मुला, दहि-महि, खान हुँदैन ।

रात्रीको खाना खाए पछि
रात्रीको खाना खाए पछि दुध खाने र दतिवन गर्ने, दाँत माझ्ने गर्नु पर्दछ । बैद्य, ज्योतिष, पण्डितका अनुसार समेत साँझ सुत्नु भन्दा पहिला दतिवन गर्नु पर्दछ । यसै सम्वन्धमा आधुनिक डाक्टरहरुले समेत साँझ सुत्नु भन्दा पहिला दतिवन गर्नु पर्ने मान्यता राख्दछन् ।

दुध खाने समय तथा तरिका
हाम्रो गाउँ घरमा भएको प्रचलन अनुसार दुध जहिल्यै पनि सुर्यास्त पछि खानु पर्दछ । सूर्योदय देखि सूर्यास्तको बिच को समयमा खानु हुँदैन । विहान खालिपेटमा दुध खाएमा पखाला लाग्ने समस्या हुन सक्दछ । दुधलाई पचाउने हार्मोन सधैभरी रात्रीको समयमा मात्र सक्रिय हुने भएकोले दुध जहिल्यै पनि सूर्यास्त भए पछि मात्र खाने गर्नु पर्दछ ।

गाउँघरमा भएको परम्परागत प्रचलन अनुसार जाडोको समय छ अथवा रुघा खोकी लागेको छ तर जण्डिस रोग लागेको छैन भने १ गिलास दुधमा अलिकति (आधा चिया चम्चा) वेसारको धुलो राखेर उमालेर खाने गर्नु पर्दछ । यो रुघा खोकीको राम्रो उपचार विधि हो । आचार्य वालकृष्ण (२०१४), दीक्षित (२०१२) अनुसार समेत वेसारवाला दुध रुघा खोकि लागेको समय तथा जाडो मौसममा अत्यन्त लाभप्रद छ ।

सुत्ने समय
साँझको खाना खाएको 2-3 घण्टा पछि मात्र सुत्नु पर्दछ । सदैव राती चाँडो सुत्ने र विहान चाँडो उठ्ने गर्नु पर्दछ । देवकोटा(२०७१), सुवेदी(२०७२) तथा गुर्ग्यान छोट्का (२०७१) अनुसार राती प्राकृतिकरुपमा अंध्यारो हुन्छ । सवै जिवजन्तु सुत्दछन । हाम्रो आँखाले पनि राम्ररी देख्दैन । त्यसैले शरीरको अङगले समेत सुत्नु पर्दछ भनेको समयमा हामीहरु अवेर सम्म जाग्राम वसेमा विभिन्न रोगको शुरुवातको कारण वन्ने भएकोले राती चाँडो सुन्ते र विहान चाँडो ऊठ्नु पर्दछ । खप्तड स्वामी (२०६९,९१) अनुसार राती अबेर सम्म जागा रहनु स्वास्थका लागि अहितकर छ ।

दुध र दही
दुध र दही सकभर स्थानीय गाईको नभए भैसिको हुनु पर्दछ । जर्सि, होलेष्टिएन, फ्रिजियन गाईको दुध दहि खानलाई राम्रो मानिदैन । स्थानिय गाइको काँधमा जुरो हुन्छ । यहि जुरोमा रहेको चन्द्र सूर्य नाडिले राति चन्द्रमा र दिउसो सूर्यको किरण को प्रकास वाट आवश्यक तत्त्व संग्रह गरेर दुधलाई अमृत वनाउँदछ । गाईले अखाद्य पदार्थ वा विषाक्त खाना खाए पनि घाटीमा रहेको मालामा त्यो विष जम्मा हुन्छ । गाईको माला भन्दा तल विष जान पाउँदैन । त्यसैले गाईको मालामा शिवजी वास गर्दछन भनेको हो । गाईको मालाको रङ्ग हेरेर गाईले त्यस समय सम्म कति विषाक्त पदार्थ खाएको छ भन्ने थाहा हुन्छ । यहि कारण गाईले जे खाए पनि दुध, गोमूत्र, गोवरमा विष जान पाउँदैन र यी पदार्थ मानिसलाई अमृत समान उपयोगी हुन्छन् । दीक्षित (२०१२), देवकोटा (२०७१) ले समेत यहि कुरालाई प्रकाश पार्नु भएको छ ।

जर्सि गाईमा जुडो नहुने भएकोले जर्सि गाईको गोरस खासै फाइदा जनक हुँदैन । दीक्षित (२०१४) अनुसार जर्सि गाईको दुधको कारण क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने सम्भावना देखिएको छ । जर्सि गाईको गोरस, मूत्र, गोवर मा स्थानीय गाईमा पाइने तत्व पाइदैन । त्यसैले सधै भरी जुरो भएको लोकल गाईको गोरस सेवन गरी स्वच्छ र निरोगी वन्न सकिन्छ । यसै गरी दही जहिल्यै पनि माटाको भाँडा, काठको भाँडामा जमाउने गर्नुपर्दछ।

परम्परागत घरेलु उपचार विधि अनुसार संग संगै खान नहुने केही परस्पर विरोधी खाद्यपदार्थहरु
परम्परगत घरेलु उपचार विधिअनुसार हामीले खाने गरेका केही खाद्यपदार्थहरु यस्ता छन जुन एकै साथ खान हुँदैन । यदि कसैले संग संगै खाएमा अपच, उल्टी हुनुका साथै खाएको खाना विषाक्त भई तत्काल ज्यान जान सक्दछ । आजकल भोज भतेरमा विभिन्न थरिका परिकार खुवाउने प्रचलन छ । हामीहरुमा खाद्य पदार्थ सम्वन्धी जानकारीका कमिका कारण परस्पर विरोधी परिकार खाँदा खाएको खाना विषाक्त भई झाडा पखाला, बान्ता हुने गरेको देखिएको छ । प्रायःजसो सवै बिज्ञहरुमा एकमत रहेको, गाउँघरमा प्रचलनमा रहेको तथा परम्परगत घरेलु उपचार विधिअनुसार हामीले खाना खाँदा ध्यानदिनु पर्ने केही परस्पर विरोधी खाद्यपदार्थ निम्नानुसार छन ।

कटहर
कटहर र चुन, खरानीमा पकाएको रोटी, दुध खानु हुँदैन ।

दुध
दुध, दुधको परिकार र मुला, लसुन, प्याज, माछा-मासु, नुनिलो तरकारी, अमिलो जातको फलफुल, दही, महि, लस्सि खानु हुँदैन । देवकोटा (२०७१), सुवेदी (२०७२) तथा घिमिरे (२०७०) अनुसार दुध, दुधको परिकार (पनिर, खुवा, खिर) खाएको ३ घण्टा भित्र माछा-मासु खानु हुँदैन । माछा-मासु खाएको 3 घण्टा भित्र दुध, पनिर, खुवा हुँदैन । सकभर माछा-मासु खाएको दिनमा दुध तथा दुधको परिकार खानु हुँदैन ।

घिउ
घिउ र मह बरावर मात्रामा खानु हुँदैन । खप्तड स्वामि (२०६९,१५३) अनुसार घिउ र मह वरावर मात्रामा खाएमा विष वन्दछ र शरीरलाई तुरुन्त असर गर्दछ ।

च्याउ
च्याउ र माछा-मासु नखाने । बैद्यका अनुसार बनमा पाइने च्याउ र लोकल कुखुराको मासु खाएमा खाना खाएको खाना विषाक्त भइ भई तत्काल ज्यान जान सक्दछ ।

परम्परागत घरेलु उपचार विधि अनुसार पालन गर्नु पर्ने केही नियमहरु
परम्परागत घरेलु उपचार विधिका अनुसार माथि उल्लेखित दैनिक पालन गर्नु पर्ने आधारभूत कुराहरुका साथ साथै अन्य केही नियमहरु पनि छन जसको पालना गर्नाले मानिसहरु शारीरिक तथा मानसिकरुपले निरोगी तथा स्वस्थ हुन्छन । परम्परागत घरेलु उपचार विधिका प्रायःजसो सवै ज्ञाताहरुमा समान अवधारणा रहेका अन्य केही नियमहरु तल उल्लेख गरिएको छ ।

·     घामवाट घर भित्र आउना साथ, व्यायाम सकिना साथ यदि शरीरमा पसिना आएको छ भने तुरुन्त पानी खाने तथा कपडा खोल्ने गर्नु हुँदैन । केही समय विश्राम गरेर पसिना सुकि सकेपछि मात्र कपडा खोल्ने  र पानी खाने गर्नु पर्दछ ।
·    घिउलाई सिसाको भाँडामा राख्नु हुँदैन । काठ तथा माटाको भाँडामा राख्नुपर्दछ । खप्तड स्वामी (२०६९,१५३) अनुसार 15-20 दिन भन्दा वढी सिसाको भाँडामा राखेको घिउले विगार गर्दछ ।
·         नुहाउँदा वा अन्य समयमा टाउकामा धेरै तातो वा घेरै चिसो पानी हाल्नुहुँदैन । जाडो महिनामा सोझै टाउकामा चिसो पानी हाल्दा टाउकाको नसा विग्रने सम्भावना ज्यादा हुन्छ ।
·         अल्मुनियमको भाँडा कुनै पनि काममा प्रयोग नगर्ने । पुर्विय दर्शनमा अल्मुनियमलाई चोखो पानिदैन । त्यसैले धार्मिक कार्यमा यस्को प्रयोग वर्जित छ । हरिप्रसाद (२०६०), बैद्य, योगी विकाशानन्द (२०७०), दीक्षित(२०१२)ले समेत अल्मुनियम (गिल्टि-सिल्पट) को भाँडा खाना पकाउन तथा खाना खान प्रयोग  गर्नु हुँदैन भन्नु भएको छ । राइसकुकरमा अल्मुनियम हुने भएकोले राइसकुकरमा पकाएको खाना खानु हुँदैन । अल्मुनियमको सट्टामा माटो, काँस, पित्तल, फलाम, स्टिलको भाँडा प्रयोग गर्नु पर्दछ ।
·         औंसी र एकादशीमा माछा-मासु, गरिष्ट खाना खानु हुँदैन । ज्योतिष, पण्डितका अनुसार आकाशमा रहेका नवग्रहको प्रभाव हाम्रो शरीरमा परिरहेको हुन्छ । औंसी र एकादशीको दिनमा हाम्रो शरीरको पाचन शक्ति कमजोर हुने भएकोले माछा मासु जस्ता गरिष्ट खाद्यपदार्थ शरीरले राम्ररी पचाउन सक्दैन । त्यसैले यो समयमा गरिष्ट खाना खानु हुँदैन । कम्तिमा पनि बर्षमा एक पटक निर्जला एकादशीका दिन व्रत वस्नु स्वास्थ्यकोलागी राम्रो मानिन्छ । यी ग्रहहरुको प्रभाव अनुसार समुद्री ज्वारभाटा आउने तथ्यलाइ आधुनिक विज्ञानले समेत स्वीकार गरेको पाइन्छ ।
·         ग्रहणलागेको समयमा खाना खानु हुँदैन ।  औंशी, चतुर्दशी, पुर्णिमा, ग्रहणलागेकोको समयमा मैथुन तथा गर्भाधान क्रिया नगर्ने । ज्योतिष तथा पण्डितका अनुसार पुर्णिमाकादिन गर्भाधान भएर जन्मेको बच्चामा मानसिक समस्या हुन सक्दछ । औंसी, चतुर्दशी, ग्रहणलागेको समयमा गर्भाधान भएको वच्चा अन्धो अथवा आँखाको रोगी हुन सक्दछ । लामिछाने (२०७१) अनुसार केहि अन्धा मानिसको बुवालाई सोध्दा ग्रहण लागेको समयमा गर्भाधान गरेको पाईयो । ग्रहणलागेको समयमा नाङ्गो आँखाले सूर्य/चन्द्रमालाई हेरेमा आँखाको ज्योतिमा असर पर्ने कुरा आधुनिक विज्ञानले स्वीकारेको पाईन्छ । (२०६९,११६)
·         हाँसो, आँसु, दिसा, पिसाव, हाछिउँ, अपानवायु (पाद), भोक, निद्रा, खोकि, हाई, उल्टी, शुक्र वेग जस्ता प्राकृतिक वेगलाई कहिल्यै पनि रोक्नु हुँदैन । खप्तड स्वामी (२०६९,११२), दीक्षित (२०१२), वैद्य, ज्योतिष तथा पण्डितका अनुसार यस्ता प्राकृतिक वेगलाई कहिल्यै रोक्नु हुँदैन । यस सम्बन्धमा वागभट्ट साभारः दीक्षित (२०१२,४२) भन्नुहुन्छ
वेगान्न धारयेद्दातविण्मूत्रक्षवतृट्क्षुधाम् । निद्राकासश्रमश्वासजृम्भाऽश्रुच्छर्दिरेतसाम् ।।
·         चिनी खानु हुँदैन । यस्को विकल्पमा सख्खर (गुड-भेली) खानु पर्दछ । चिनी अम्लीय पदार्थ हो । चिनीलाई पचाउनको शरीरलाई अतिरिक्त शक्ति खर्च गर्नु पर्दछ भने सख्खरले खाना पचाउन मद्दत गर्दछ । हाल आएर आधुनिक डाक्टरहरुले समेत चिनी स्वास्थ्यलाई हानिकार वस्तु भएकोले खानु हुँदैन भनेका छन्
·         खाना पकाउन शुद्ध तोरीको तेल प्रयोग गर्ने । Refined, Double-Triple Refined तेल, भट्मासको तेल, सूर्यमुखीको तेल कहिल्यै पनि प्रयोग नगर्ने । शुद्ध तेल चिप्लो र वास्नादार हुन्छ । तेलमा धेरै कुरा पाइन्छ । तेलमा रहेको चिप्लोपना तथा वास्ना नै तेलको महत्वपूर्ण वस्तु हो । दीक्षित अनुसार यहि चिप्लोपना मा Fatty Acid र वास्नामा प्रोटिन हुन्छ । यदि तेलमा रहेको चिप्लोपना तथा वास्ना निकालिदिने हो भने तेल तेल नरहेर पानी जस्तो तरल पदार्थ हुन्छ । यस्तो तेल खानुको कुनै फाइदा छैन । तेललाई Refined, Double-Triple Refined गर्दा यस्मा विभिन्न केमिकल मिसाइन्छ र तेलमा रहेको चिप्लोपना र वास्नालाई नष्ट गरिन्छ । यस्तो Refined तेलमा महत्वपूर्ण तत्त्व नहुने भएकोले यस्तो तेल खानु नखानुको कुनै अर्थ छैन । हामीले शुद्ध तोरीको तेल खाएमा तेल वाट कलेजोमा HDL (High-density lipoprotein) वन्दछ । यहि HDL को कारणनै रगतमा अम्लियता वढ्न पाउँदैन LDL (Low-density lipoprotein), Cholesterol, Triglycerides वढ्न पाउँदैन । HDL राम्रो भए मुटुरोग, रक्तचाप जस्ता रोगहरु कहिल्यै पनि लाग्दैन । LDL, Cholesterol, Triglycerides को मात्रा शरीरमा वढी भएर मुटुरोग जस्ता रोगका समस्या भएका रोगीहरुले यी रोगवाट छुटकरा पाउन अनिवार्य रुपमा शुद्ध तोरिको तेल खानु पर्दछ ।
·         शुद्घ गाईको घिउ खाने । शुद्घ गाइको घिउले कहिलेपनि LDL, Cholesterol, Triglycerides वढ्न दिदैन । तसर्थ गाइको घिउले शरीरलाई फाइदा मात्र गर्दछ वेफाइदा गर्दैन । भैसीको घिउले ज्यादा शारीरिक परिश्रम गर्ने व्यक्तिलाई मात्र फाइदा गर्दछ ।
·         गाईको घिउ भन्नाले दुधलाई जमाएर दही बनाई दहीलाई मथेर नौनी निकाली सोहि नौनीलाई तताएर बनाएको घिउ हुनु पर्दछ । सुवेदी (२०७२), खप्तड स्वामी (२०६९,१४९) अनुसार एक वर्ष पुरानो घिउ औषधिय प्रयोजनको लागि राम्रो मानिन्छ । आजकल डेरीमा दुध वाट फ्याट निकाली फ्याटलाई तताएर वनाएको घिउलाई प्रयोग गर्नु हुँदैन । यस्तो फ्याटवाट वनाएको घिउ औषधिय प्रयोजनका लागि प्रयोग गरेमा खासै फाइदा हुँदैन ।
·         गोमूत्र चर्न जाने स्थानीय जात (जुरो भएको) को गाईको हुनु पर्दछ । गाई गर्भाधन भएको तथा भर्खरै वियाएको हुनु हुँदैन । कालो रङ्गको गाइको गोमुत्र सवभन्दा राम्रो हुन्छ । देवकोटा (२०७१), घिमिरे (२०७१), सुवेदी (२०७२), वैद्य, ज्योतिष, लामिछाने (२०७१), पण्डितहरुले समेत यही भनाइलाई समर्थन गर्दछन् ।
·         व्रत वस्दा, दिनभर खालि पेट वस्नु पर्ने भएमा गोमूत्र/पञ्चगव्य खाएर मात्र व्रत वस्ने । लामिछाने (२०७१), पण्डितका अनुसार लामो समय सम्म दिनभर खालि पेट वस्नु पर्दा आमासयमा अम्लियएता वढ्न गइ अल्सर सम्म हुन सक्दछ । तसर्थ गोमुत्र/पञ्चगव्य खाएमा आमासयमा अम्लिएता वढ्न नदिई अल्सर जस्तो रोगहरु लाग्न दिंदैन ।
·         विहानको समयमा घाम ताप्ने वा घामका काम गर्ने गर्नु पर्दछ । आजभोलि धेरै मानिसहरुमा भिटामिन 'डि' को कमी पाइन्छ । हामीले नियमितरुपमा घाम ताप्ने वा घामको सम्पर्कमा रहि काम गरेमा भिटामीन डि लगायत अन्य धेरै प्रकारमा भिटामीनको कमीहुन पाउँदैन ।
·         नियमित रुपमा तेल मालिस गर्ने गर्नु पर्दछ । वागभट्ट साभारः दीक्षित (२०१२,१६) अनुसार
अभ्यङंगमाचरे नित्यं स जराश्रमवातहा दृष्टिप्रसादपुष्टआयुः स्वप्नसुत्वकत्वदाढर्यकृत् शिरःश्रवणपादेषु वं विशेषेण शीलयेत्
अर्थात शरीरमा प्रतिदिन तेल मालिश गर्नाले बृद्धाबस्था तथा ज्यादा श्रम गरेको कारण हुने थकाई हट्दछ । शरीरमा पुष्टि तथा आयू प्राप्त हुन्छ । बिशेषगरि टाउको, कान तथा गोडामा तेल मालिश गर्नु पर्दछ ।
·         म र मेरो भन्ने भावनालाई त्यागी हामी भन्ने भावनाको विकासगरी सामाजिक सेवाभावले काम गर्ने गर्नु पर्दछ ।

माथि उल्लेखित कुराहरुलाई राम्रोसँग पालना गरेमा हाम्रो शरीर स्वच्छ तथा निरोगी रहन्छ । शरीरमा pH Balance हुन्छ । शरीर तथा रगतमा अम्लियता वढ्न पाउँदैन । कव्जियत जस्ता समस्याहरु उत्पन्न हुँदैन । शरीरका सम्पूर्ण अङ्गहरुमा आवश्यक मात्रामा रगतको प्रवाह भइ सवै अङ्गहरु मजवुत र स्वच्छ रहन्छन् । यसरी शरीरका अङ्गहरुले आ-आफ्नो कार्य नियमित रुपमा प्राकृतिक तरिकाले गर्ने भएकोले मानिसलाई साधारणतया शारीरिक तथा मानशिक रोग लाग्दैन । यदी रोग लागिहालेमा पनि परम्परागत घरेलु चिकित्सा विधि अपनाउनुका साथै दिनचर्या तथा ऋतुचर्यामा ध्यान दिएमा चाँडो रोग सञ्चो हुन्छ र सधै भरी ‍औषधि खाइरहनु पर्ने दुष्चक्रमा फस्नु पर्दैन भन्ने मान्यता तथा विश्वास परम्परागत घरेलु चिकित्सा विधिका विज्ञहरुमा पाइन्छ ।

निष्कर्ष
परम्परागत घरेलु उपचार विधि कुनै नयाँ बिषय नभई हामीहरुले पालना गर्दै आइरहेको विधि हो । हामीहरुले विभिन्न कारणहरुले गर्दा यसलाई विर्सेको मात्र हो । आफ्ना अग्रज पुर्खाहरुबाट प्राप्त ज्ञानको आधारमा प्राकृतिकरुपमा प्राप्त जडिवुटि तथा अन्य वस्तु बाट घरमा औषधि तयार गरी गरिने उपचार पद्धतिलाई परम्परागत घरेलु उपचार विधि भनिन्छ । यस उपचार विधिमा ‍औषधीको प्रयोगको साथ साथै आहारविहार, आचारण, जिवनशैली, नियममा समेत ध्यान दिनु पर्दछ । यसको प्रमुख उद्वेश्य मानिसलाई रोग लाग्न नदिनु हो । यसका आधारभूत मान्यतालाई पालना गरेमा मानिसलाई सकभर शारीरिक तथा मानसिक रोग लाग्दैन । यदि रोग लागेमा पनि यस विधिमा रोगीलाई नभई रोगको कारण (जड) लाई नै उपचार गरिने भएकोले एकपटक यस्तो उपचार विधि वाट उपचार गरी सञ्चो भएको विरामीहरुलाई पून: सोही रोग लाग्दैन । रोगीलाई ध्यानपूर्वक जाँची रोग लाग्नुको कारण पत्ता लागेपछि मात्र जडिबुटी  तथा अन्य आबश्यक बस्तु संकलन गरी त्यसलाई आवश्यकतानुसार कुटेर, पिसेर, तेल बनाएर औषधि तयार गरी उपचार शुरु गरिन्छ । यो उपचार विधि लामो समयसम्म समाजमा उपयोग भइरहेकोले उचित अनुपानकासाथ सेवन गरेमा प्रभावकारी हुनुका साथै कुनै दुष्प्रभाव हुँदैन ।

आर्थिक उपार्जन भन्दा सेवा भावले गरिने यस्ता उपचार विधिहरु सस्तो तथा सर्वसुलभ भएकोले आर्थिक अभावका कारण औषधी उपचारवाट वञ्चित हुनु नपर्ने हुँदा समाजमा तनाव व्यवस्थापनमा समेत यो उपचार विधि सहयोगी भएको पाइएको छ  यस विधिमा मानिसलाई स्वस्थ तथा निरोगीरहने सूत्र रहेको छ । त्यसैले हामीहरुले वेवास्ता गर्दा लोपहुन लागेको गहन महत्त्वको परम्परागत घरेलु उपचार विधिलाई पुनर्जागरण गरी समाज, राष्ट्र तथा विश्वलाई रोग मुक्त गर्नु आजको आवश्यकता हो ।

सन्दर्भ सामग्रीहरु
खप्तड स्वामी, स्वास्थ्य विज्ञान, २०६९: खप्तड आश्रम प्रकाशन समिति, काठमाण्डौ
गीताप्रेस, संक्षिप्त गरुडपुराणांक, 2000: गीताप्रेस गोरखपुर (भारत)
गीताप्रेस, जीवनचर्या-विज्ञान, 20७0: गीताप्रेस गोरखपुर (भारत)
चोरडिया, डा. चंचलमन, 2004: स्वदेशी चिकित्सा आपका स्वास्थ्य आपके हात, स्वराज प्रकाशन समूह, जोधपुर (भारत)
चोरडिया, डा.चंचलमन, 2004: स्वदेशी चिकित्सा स्वावलम्वी ‍और अहिंसक उपचार, स्वराज प्रकाशन समूह, जोधपुर (भारत)
दीक्षित, राजीव, 2012: स्वदेशी चिकित्सा, स्वदेशी प्रकाशन, (भाग १-4), सेवाग्राम वर्धा (भारत)
दीक्षित, राजीव: खाद्य तेलों की असलियत, हिन्द स्वराज अभियान, धमतरी इकाई (भारत)
नेपाली निघण्टु, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ
हरिप्रसादः, २०६०: स्वास्थ्यसूत्र, हरिप्रसादः मिसन, काठमाण्डौ नेपाल
व्यक्तिगत कुराकानी, गुर्ग्यान छोट्का, २०७१।६।१० गते
व्यक्तिगत कुराकानी, डा. मधुसुदन लामिछाने, २०७१।२।२२ गते
व्यक्तिगत कुराकानी, डा. मुरली मनोहर रौनियार, २०७२।२।८ गते
व्यक्तिगत कुराकानी, तारा प्रसाद देवकोटा, २०७२।१।१८ गते
व्यक्तिगत कुराकानी, पं दामोदर देवकोटा, २०७१।६।७ गते
व्यक्तिगत कुराकानी, भाष्कर घिमिरे, २०७१।१०।१४ गते
व्यक्तिगत कुराकानी, सुनपुरे छोड्का चौधरी, २०७१।६।४ गते
व्यक्तिगत कुराकानी, हरि सुवेदी, २०७२।२।६ गते
व्यक्तिगत कुराकानी, योगि विकासानन्द, 2071।2।3
दीक्षित राजीव, व्याख्यान, 15-1 Swasthya kaise rahe bina dawa aur doctor ke, 1-8,
    http://rajivdixit.net/content-index-राजीव_दीक्षित_जी_के_व्याख्यान
दीक्षित राजीव, व्याख्यान,२०१४: Do Not Drink Jarsi Cow Milk.Must Watch Exposed By Rajiv Dixit
    https://www.youtube.com/watch?v=AclsCffns1c
हिंदी पटल हिन्दी की उत्कृष्ट रचनाएँ,२०१५: 
       https://hindipatal.wordpress.com/लोक-कथाएँ/अकबर-बीरबल-के-रोचक-किस्से/