Sunday, August 24, 2025

तिजको गित Teeg geet

आउ साथी मिलेर मनका पीडा भुलेर

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै


माइत जाने चेलीलाई रोकन खोजदा

भदौरे भेलले नी हार्‍यो बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै


दिदी बैनी साथी सँगी मनका कुरा खोलेर

दुख पीडा भुलेर बाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै


स्वामी ज्यूको दीर्घायुको कामना गरदै

व्रत बसि शिव पुजी दुखहरु भुलदै

दिदी बैनी सबै मिली नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै


आउ साथी मिलेर मनका पीडा भुलेर

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

यसपालिको तिजमा नाचौँ बरिलै

छमछमी कम्मर भाँचौँ बरिलै

Thursday, June 16, 2016

नेपाली घरेलु मसला उत्पादन, अभ्यास र अवधारणाः एक अध्ययन


नेपाली घरेलु मसला उत्पादन, अभ्यास र अवधारणाः एक अध्ययन



शम्भु घिमिरे
shambhughimire7@gmail.com
http:// shambhughimire.blogspot.com

परिचय


हाम्रो दैनिक भोजनमा मसलाको रूपमा विभिन्न औषधीयगुण भएका वस्तुहरू जस्तै जाइफल, जाइपत्री, दालचिनी, सुकुमेल, मरिच, अलैची, ल्वाङ्ग, हलेदो, जिरा, धनियाँ, खुर्सानी, ज्वानो, मेथी, टिंमुर, लसुन, प्याज, तोरी, रायो, अदुवा आदि उपयोग गरिन्छ । परापूर्वकालदेखि नै मसला राखेको भोजन उपयोग गरिंदै आएकोले यो हाम्रो दैनिक जीवनको आवश्यकता बनिसकेको छ । मसलामा विभिन्न सूक्ष्म पोषक तत्व तथा सुगंध पाइने भएकोले दिनचर्या तथा ऋतुचर्या अनुसारका मसला उपयोग गरी तैयार गरिएको भोजन स्वादिष्ट, बास्नादार हुनुका साथै शरीरलाई फाइदा गर्ने हुन्छ । देवकोटा (२०७२), अधिकारि (२०५५, पृ. २-५), खप्तडबाबा (२०६९) ले मसलालाई जडिवुटि भनेर सम्वोधन गर्दै यसका ‍औषधीय गुणहरु वर्णन गर्दै मसलाजन्य वस्तुहरु विभिन्न रोगको उपचारमा उपयोगी हुनेकुरा उल्लेख गर्नु भएको छ । बि.बि.सी. हिन्दी सेवा (२०१३) का अनुसार मशलाले पाचन तन्त्रको लागि अग्नीको काम गर्दछ, यो पेटको विरामीका लागी गुणकारी छ र केहि मसलाले एन्टिसेप्टिक (किटाणु प्रतिरोधक)को काम समेत गर्दछन् । मसलामा पाइने औषधीय गुणले गर्दा आयूर्वेदमा यसलाई मसला नभनि औषधि भनी सम्बोधन गरिएको छ । आयुर्वेदका अनुसार मसलामा हुने औषधीय तत्वले हाम्रो शरीरमा विद्यमान कफ, पित्त र बातलाई समभावमा ल्याउन महत्वपुर्ण भूमिका खेलेको हुन्छ । 
Kochhar (२००८)  अनुसार केहि प्रचलित मसलामा रहेको सूक्ष्म पोषक तत्वको अवस्था देहाय अनुसार छ । 
(मिलिग्राम/१०० ग्राम मसला)
मसला
क्याल्सीयम
फस्फोरस
फलाम
थयमिन (Thiamine)
नाइअसिन (Niacin)
भिटामिन ए
भिटामिन सी
प्याज
0.3
0.29
अवशेष
0.42
0.06
0.6
14.7
0.5
लसुन
0.1
0.42
0.01
0.68
0.08
0.7
12.0
0.05
अदुवा
0.1
0.15
0.01
0.05
0.13
1.9
12.0
0.05
वेसार
0.2
0.26
0.05
0.09
0.19
4.8
49.8
0.05
हरियो खुर्सानी
0.03
0.08
1.2
0.19
1.18
0.5
111.0
अवशेष
सुकेको रातो खर्सानी
0.16
0.37
2.3
0.93
0.43
9.5
50.1
0.18
तोरीको गेडा
0.3
0.79
0.01
0.65
0.45
8.5
22.1
0.06
इमली
0.2
0.11
0.01
0
0.07
0.7
3.0
0.03
धनीयाँ
0.8
0.44
0.01
0.26
0.23
3.2
4.0
3.78
जीरा
0.9
0.45
0.05
0.73
0.38
2.5
17.0
0.05


मसला र नेपाली भान्साकोठा विच अन्तरसम्वन्ध
नेपाली समाजमा प्रायजसो महिलाहरूले भान्साकोठाको नेतृत्व लिने प्रचलन छ । उनीहरूलाई सानै देखि आमा, हजुरआमाले सिलौटो/खलमा मसला पिस्न सिकाउने गर्नाले उनिहरु दिनचर्या तथा ऋतुचर्या अनुसार विभिन्न मसला तयार गर्न सक्षम हुन्छन् । मसला पिस्न सिकाउने क्रममा यदि छोरीले सिलौटो/खल चलाउन मन नगरेमा अथवा राम्ररी मन लगाएर मसला नपिसेमा लोहोरोले सिलौटो/खलमा हात थिंचिदिएर भए पनि मसला पिस्न पारंगत बनाउने प्रचलन पाइन्छ । यसरी सिलौटो/खल चलाउन पारंगत भईसकेपछि बिस्तारै खाना पकाउन सिकाईने भएकोले प्रायःजसो नेपाली महिलाहरू वयस्क भइसक्दा सम्म स्वादिलो तथा बास्नादार भोजन तैयार गर्न सिद्धहस्त भइसकेका हुन्छन् । उनिहरुले पकाएको मसालेदार भोजन यति स्वादिलो हुन्छ कि जिब्रोमै झुण्डिने हुन्छ । आ-आफ्नो घरमा परम्परागत तरिकाले शिक्षा-दिक्षा तथा तालिम प्राप्त गरी बारम्बार भोजन तयार गर्ने अभ्यास गर्ने भएकोले नेपाली महिलाहरूले पकाएको भोजन यसै विषयमा बिशेषज्ञता हासिल गरेको व्यक्तिले पकाएको भोजन भन्दा कम स्वादिष्ट, बास्नादार तथा पौष्टिक हुँदैन ।

भोजन तयार गर्ने कार्य अत्यन्त कठिन भए पनि आफूलाई जिम्मा दिइएको कार्य अत्यन्त लगनशिलताका साथ जिम्मेवारिपुर्वक सम्पन्न गर्ने नेपाली महिलाहरूको विशेषताको कारण पाकशाला सम्बन्धी सम्पूर्ण कार्य उनीहरूले उत्कृष्ट व्यवस्थापनका साथ सञ्चालन गर्दै आइरहेको जगजाहेरै छ । नेपाली समाजमा कुन समयमा कस्तोखालको मसला राखी भोजन तयार गर्नु पर्दछ भन्ने कुराको ज्ञान प्रायःजसो सबै महिलाहरूलाई हुने भएकोले उनीहरूले भोजन तयार गर्दा प्रयोग हुने मसला र यसको परिमाण विभिन्न मौसम तथा समय अनुसार फरक फरक हुन्छ । आयुर्वेदिक दृष्टिकोणबाट हेर्दा मानव शरीर बिहानदिउसो र साँझ क्रमशः कफपित्त र बातको प्रभावमा हुने भएकोले विहानीपख, दिउँसोपख तथा साँझपख प्रयोग गरिने मसला तथा यसको परिमाण फरक फरक हुनु स्वास्थ्यको दृष्टिकोणबाट समेत उपयुक्त देखिन्छ । संयुक्त परिवारको प्रचलन रहेको नेपाली समाजमा विभिन्न उमेर-समूह, बिचार, मूल्य-मान्यताका व्यक्तिहरू एउटै घरमा मिलिजुली बस्नुमा मसालेदार स्वादिष्ट तथा बास्नादार भोजनको महत्वपुर्ण योगदान देखिन्छ ।

नेपालमा उपयोग गरिने मसलाको प्रकार
नेपाली समाजमा दिनचर्या तथा ऋतुचर्या अनुसार भोजन तयार गर्दा उपयोग गरिने मसला र यसको परिमाण फरक फरक हुन्छन् । मसलामा विद्यमान गुणका आधारमा नेपालमा गरम मसला ज्यादा प्रचलित छ । यस्ता मसलाहरुमा शरीरमा ताप उत्पन्न गर्ने क्षमता हुन्छ । तसर्थ जाडोको समयमा, गरिष्टखालका पकवान तयार गर्दा, माछा मासु पकाउँदा, वाह्य बातावरण चिसो भयमा यस्ता खालका मसलाको प्रयोग गर्ने गरिन्छ । गरम मसलामा जाइफल, जाइपत्री, मरिच, ल्वाङ्ग, हलेदो, खुर्सानी, ज्वानो, मेथी, टिंमुर, लसुन, प्याज, अदुवा, जिम्मु, आदि पर्दछन् । साईन्टिफिक वर्ल्ड (२०१०) अनुसार मसलामा ज्वानो, सावित्री, जाईफल, अलैची, मरिच, मेथी, कलौंजी, जीरा, दालचीनी, लसुन, तोरिको विउ, तुलसी, पुदिना गरम तासीर (असर) राख्दछन्, जबकि हलेदो, अदुवा और सुकुमेल मिली जुली तासीर राख्दछन् । यसको ठिक विपरीत धनिया, मुलहठी, ल्वाङ्ग, सोंफ, कढ़ी पत्ता ठण्डी तासीर राख्दछन् । तर नेपालमा सितल गुणभएका र सम गुणभएका मसलालाई नाम बिषेशले सम्वोधन गरिएको पाइदैन । त्यसैले नेपालमा उपयोग गरिने मसलालाई यसमा विद्यमान गुणका आधारमा गरम मसला, सितल मसला र सदावहार मसला भनेर ३ (तिन) भागमा वर्गिकरण गर्न उपयुक्त देखिन्छ ।

१. गरम मसला
जाडो समयमा शरीरलाई गर्मि प्रदान गर्न उपयोग गरिने मसलालाई गरम मसला भनिन्छ । यी मसलाहरु गरम प्रकृतिकाहुने भएकोले शरीरमा गर्मी उत्पन्न गर्न सफल हुन्छन् । नेपाली समाजमा गरम मसलाको रुपमा जाइफल, जाइपत्री, मरिच, ल्वाङ्ग, हलेदो, खुर्सानी, ज्वानो, मेथी, टिंमुर, लसुन, प्याज, अदुवा, जिम्मु, आदिको ज्यादा उपयोग गर्ने गरिन्छ ।

२. सितल मसला
गर्मि समयमा शरीरमा शितलता प्रदान गर्न उपयोग गरिने मसलालाई सितल मसला भन्ने गरिन्छ । यी मसला सितल प्रकृतिका हुने भएकोले शरीरमा गर्मिलाई कमगरि सितलता प्रदान गर्न समफल हुन्छन । सितल मसलाकोरुपमा धनियाँ, पुदिना आदी पर्दछन् ।

३. सदावहार मसला
मानव शरीरमा न त गर्मी उत्पन्न गर्ने न त चिसो उत्पन्न गर्ने मसला यस वर्गमा पर्दछन । यस मसलामा बेसार, अदुवा, सुकमेल आदि पर्दछन् ।

नेपाली भान्साकोठामा दैनिक उपयोग गरिने मसला
भोजन तयार गर्ने समयमा विद्यमान मौसमी अवस्था अनुसार प्रयोग गरिने मसला र यस्को परिमाण फरक फरक हुने भए पनि प्रायजसो नेपालीहरुको भान्सकोठामा दैनिकरुपमा उपयोग गरिने मसलामा जिरा, ज्वानो, धनियाँ, अदुवा, वेसार, मेथी, टिंमुर, खुर्सानी आदि पर्दछन् । यिनीहरुको उपयोग गर्ने मात्रा भने उपयोग गरिने दिनको मौसम तथा बातावरण अनुसार कम बेसी हुन्छ । यसरी गरम र चिसोखालको दुबै मसलालाई मिलाएर दैनिकरुपमा उपयोग गरिने भएकोले यी मसला उपयोग गरि तयार गरिएको भोजनले मानव शरीरको तापक्रमलाई ज्यादा गरम अथवा चिसोहुन नदिई समभावमा राख्न मदत गर्दछ ।

मसला तयार गर्ने नेपाली परम्परागत घरेलु तरीका
नेपाली समाजमा मसला पिस्ने आफ्नै परम्परागत घरेलु विधि छ । यहाँ प्रायःजसो भोजन तयार गर्ने कार्य महिलाहरुले गर्ने गर्दछन् । उनिहरुले दैनिकरुपमा आवस्यक पर्ने मसला सिलौटा/खलमा मसला पिस्ने गर्दछन् भने चाड-पर्व, भोज-भतेर जस्तो धेरै मानीसलाई भोजन तयार गर्नु पर्ने अवस्था आएमा ढिकी, जाँतो, ओखलमा मसला पिस्ने गर्दछन् । दैनिक प्रयोजनको लागि अथवा थोरै परिमाणमा मसला पिस्दा सकभर भोजन तयार गर्ने ब्यक्तिले नै पिस्ने गर्दछन् भने धेरै परिमाणमा मसला पिस्नु परेमा परिवारका अन्य सदस्य अथवा गाउँघरका अन्य व्यक्तिहरुले स्वतस्फुर्तरुपमा सहयोग गर्ने प्रचलन छ किनकि नेपाली समाजमा एक अर्काको कामगर्दा रुपैयाँ पैसा लिएर भन्दा आपसी सहयोग, भाइचारालाइ ध्यानमा राखेर निसुल्क तथा निस्वार्थरुपमा गर्ने प्रचलन छ । मसलालाई भण्डारण गरेर राख्नु पर्ने भएमा काठको ठेकी, माटाको भुर्कि/घैटा, टिनको भाँडोमा हावा नछिन्ने गरी राखने गरिन्छ । हावा छिर्न नदिन काठको ठेकीमा काठको विर्को (ठेको) लगाउने, माटाको भुर्कि/घैटाको मुखमा माटाको पाला राखेर पिनाले टाल्ने अथमा बाक्लो कपडाले मुख बान्ने, टिनको भाँडोमा काठको विर्को वनाएर पिनाले टाल्ने गरिन्छ । दैनिकरुपमा उपयोग गरिने जिरा, धनियाँ जस्ता मसलालाई मसिनो हुनेगरि पिस्न घेरै समय लाग्ने भएकोले यस्तो मसलालाई राम्ररी पिस्न पानी राखेर लसलस पिस्ने गरिन्छ ।  जिरालाई जति मसिनोगरी पिस्न सक्यो त्यतिनै स्वादिलो तथा बास्नादार हुने भएकोले विस्तारै नहतारिएर धेर्यताकासाथ पिस्ने गरिन्छ । यस सम्बन्धमा नेपाली जनमानसमा प्रचिलत भनाई नै छ "जिराको ढाड भाँच्ने गरी पिस्नु पर्दछ" । महिलाहरुले मसला पिस्दा हातमा लगाएको चुराको खनखन आवाजले गर्दा त्यहाँको बातावरण संगीतमय तथा मनमोहक हुन पुग्दछ । विवाह जस्ता खुसियालीको अवसरमा मसला पिस्दा गित गाउँदै मसला पिस्ने प्रचलन समेत नेपाली समाजमा पाईन्छ ।

नेपालमा मसला तयार गर्ने तरिकामा आएको परिवर्तन
मानिसको जीवनशैलीमा आएको परिवर्तनको कारण ढिकी, जाँतो, खल, ओखलमा मसला पिसने घरेलु तरिका एकादेशको कथा जस्तो हुन लागि सक्यो । यिनको स्थानमा तिव्र गतिका विद्युतीय मिक्सर (Electric Mixer) तथा मिलको प्रयोग भईरहेको छ । घरघरमा सिलौटो/खलको स्थान विद्युतीय मिक्सरले लिंदैछ भने मानिसको घनावस्ती भएको स्थानमा मसला पिस्ने मिलको संख्यामा बृद्धि भइरहेको छ । सिलौटा/खलमा बिस्तारै पिसिने मसला २८०० RPM (Rotation per minute) वा सो भन्दा वढी गतिको मिक्सर तथा मिलमा पिसिन थालिएको छ । आजभोली बिवाह जस्ता शुभकार्यमा मसला पिस्दा गित गाउने प्रचलन समेत हराउन लागि सकेको छ । विद्युतीय मिक्सर तथा मिलले गर्दा सिलौटो/खलमा मसला पिस्नु पर्ने झण्झटबाट छुटकरा दिनुका साथै समयको समेत वचत गरेपनि भोजनको स्वादमा गिरावट आएको छ । जुन हामिहरु सबैले अनुभव गरेकै विषय हो ।

जाँतोमा पिसेको हलेदो बाट तयार गरिएको बेसार थोरै मात्रामा राखेपनि तरकारि पहेंलो हुने तथ्य हामिहरुले अनुभव गरेको बिषय हो । तर आजकल मिलमा बेसार पिस्ने प्रचलनले गर्दा धेरै परिमाणमा बेसार राख्दा समेत पहेंलो रंग आउँदैन । ढिकी, ओखलमा कुटेर तैयार गरिएको खुर्सानीको धुलो राखेर भोजन तयार गर्दा प्राप्त हुने तिख्खर स्वाद, बास्ना तथा रंग मिलमा पिसेको खुर्सानीमा पाईदैन । विद्युतीय मिक्सर तथा मिलमा तयार गरिएको मसलाको स्वाद, वास्ना तथा रंग परम्परागत तरिकाले सिलौटो/खलमा पिसेको मसला जस्तो नहुने भएकोले यि मसलामा कुनै पनि मिसावट नभए पनि सर्वसाधारणमा मसलामा मिसाबट भएको होकि भन्ने संका बढ्न गएको देखिन्छ ।

मसलाको स्वाद तथा वास्नामा आउने परिवर्तनको कारण
पहिला माछा/मासु पाकेको घरबाट आउने वास्नाको कारण माछा/मासु पाकेको घर टाढैवाट थाहा हुन्थ्यो । यसैगरी करेलाको भर्ता, भण्टाको तरकारी, हर्दी (हलेदो)को झोल, शाही पनिर पाकेको स्थान टाढैवाट थाहा हुन्थ्यो । तर आजकल भान्साकोठामा समेत के पाकेको छ थाहै हुँदैन । आजकल भोजन तयार गर्न प्रयोग गरिने मसला पिस्ने उपकरणमा आएको परिवर्तन बाहेक भोजन पकाउने विधि, त्यसमा प्रयोग गरिने सामग्री, भोजन तयार हुन लाग्ने समय आदिमा कुनै पनि परिवर्तन भएको छैन तर पनि भोजन पहिला जस्तो स्वादिष्ट तथा बास्नादार हुँदैन ।

भोजनलाई स्वादिष्ट तथा बास्नादार बनाउन यस्मा प्रयोग गरिने मसलाको प्रमुख भुमिका हुने भएकोले कतै परम्परागत घरेलु तरिकावाट तैयार गरिएको मसलाको सट्टामा विद्युतीय मिक्सर तथा मिलमा पिसेको मसलाको कारण भोजनको स्वाद तथा वास्नामा परिवर्तन आएको त हैन ? यो एउटा विचारणीय विषय हो । अतः भोजनको स्वाद तथा बास्नामा आएको परिवर्तनलाई अध्ययन गर्दा यसो हुनुमा मुख्यरुपमा निम्न लिखित कारणले प्रमुख भूमिका खेलेको देखिन्छ ।

उन्नतजातको मसलाको प्रयोग
स्थानीय जातको मसला प्रयोग गरि भोजन तयार गर्ने नेपाली परम्परा भए पनि आजभोली स्थानीय जातको मसला लोप हुने अवस्थामा पुग्न लाग्दैछ । यसको स्थानमा हाइब्रिड तथा उन्नतजातका विउ प्रयोगगरी व्यासायिक रुपमा खेती गरीएका मसला सर्वत्र पाइन्छन् । हाइब्रिड तथा उन्नतजातका मसलाहरु स्थानीय जातको मसला जस्तो वास्नादार तथा स्वादिलो नहुँदा आजकलको भोजन स्थानीय जातको समला प्रयोग गरि तयार गरिएको भोजनको तुलनामा कम स्वादिष्ट तथा वास्नादार हुन्छ ।

मानवीय भावना तथा बिचारको प्रभाब
भोजनलाई स्वादिष्ट, बास्नादार तथा पोशिलो बनाउन मसलालाई दैनिकरुपमा सिलौटामा बिस्तारै पिसेर प्रयोग गर्ने गरिन्छ । मसला पिस्ने समयमा भोजनलाई स्वादिष्ट, बास्नादार तथा पोशिलो बनाउने एकमात्र चाहना रहेको हुन्छ । खप्तड बाबा (      ) अनुसार कुनै पनि बिचारको प्रभाव बिचार गरिएको वस्तुमाथि परिरहेको हुन्छ । यसैले गर्दा मसला पिस्ने समयमा गरिएको बिचारको प्रभावको कारण मसलामा विद्यमान सुक्ष्मपोषकतत्व तथा बास्नालाई प्रभावित गरी अलिक बढी स्वदिलो तथा बास्नादार हुन्छ । मिलमा मसला पिस्ने कार्य त्यहाँ काम गर्ने कारमदारहरुले गर्दछन् । उनीहरूले मसला स्वादिलो बनाउने उद्धेश्य तथा बिचारले भन्दा अर्थोपार्जनको बिचारले काम गर्ने भएकोले मिलमा पिसेको मसलामा आत्मीय भावना मिसिएको हुँदैन । त्यसैले गर्दा घरमा पिसेको मसला व्यावसायिकरुपमा मिलमा पिसेको मसला भन्दा अलिक बढी स्वादिलो तथा बास्नादार हुन्छ । त्यसैले एउटै कार्य प्रकृतिको विद्युतीय मिक्सार र मिलमा पिसेको मसलाको बिच तुलना गर्दा घरमा पिसेको विद्युतीय मिक्सरमा पिसेको मसला मिलमा पिसेको मसला भन्दा अलिक बढी स्वादिलो तथा बास्नादार हुन्छ ।

मसला पिस्ने तरिका
सिलौटो/खल, ‌ओखल, ढिकी, जाँतोमा मसला बिस्तारै पिसिन्छ । कहिलेकाँहि जिरा/धनिया जस्ता मसला पानी राखेर पिसने गरिन्छ । शक्ति मसला उद्योग घट्टेकुलो (२०७२), chakkimasala (सन् २०१५) अनुसार सिलौटो/खल, ‌ओखल, ढिकी, जाँतोमा पसला पिस्दा यिनिहरुको गति लगभग १०० RPM भन्दा कम हुने भएकोले यिनमा मसला पिस्दा मसला तात्न पाउँदैन । मसला नतात्दा यसमा रहेको सूक्ष्म पोषक तत्व (Micronutrients), सुगंधमा कमी नआई प्राकृतिक अवस्थामा नै रहन्छ । यसरी प्राकृतिक अवस्थामा रहेको मसला प्रयोग गरी तयार गरिएको भोजन स्वादिष्ट तथा वास्नादार हुन्छ ।

विद्युतीय मिक्सर तथा मिल ज्यादा तिव्रगतिमा चल्दछन् । तिव्रगतिमा चलेको कारण विद्युतीय मिक्सर तथा मिलमा पिसेको मसला तैयार भई निस्कँदा तातो हुन्छ । कहिलेकाँहि त राम्ररी हातले छुन समेत सकिँदैन । यसरी मसला तात्न जाँदा यसमा भएको गुणमा कमी आउँदछ । शक्ति मसला उद्योग घट्टेकुलो (२०७२), chakkimasala (सन् २०१५) अनुसार विद्युतीय मिक्सरको गति लगभग २८०० RPM वा सो भन्दा बढि हुन्छ । विद्युतीय मिक्सर तीव्र गतिमा चल्ने भएको ले यसमा पिसेको मसला तात्न पुग्दछ । मसला तात्न जाँदा यसमा भएको सूक्ष्म पोषक तत्व तथा सुगंध केहि मात्रामा कमि हुन जान्छ । मसला पिस्ने मिलको चक्की पनि विद्युतीय मिक्सर जस्तै तीव्र गतिमा चल्ने भएकोले यसमा पनि विद्युतीय मिक्सरमा जस्तै सूक्ष्म पोषक तत्व तथा सुगन्ध नष्ट हुन जान्छ । तसर्थ विद्युतीय मिक्सर तथा मसला पिस्ने मिल जस्ता तीव्र गतिमा चल्ने उपकारणमा पिसेको मसलामा सूक्ष्म पोषक तत्व तथा सुगन्ध केही मात्रामा नष्ट हुने भएकोले यी मसला प्रयोग गरी तैयार गरिएको भोजन सिलौटो/खलमा पिसेको मसला प्रयोग गरी पकाएको भोजन भन्दा कम स्वादिलो तथा कम वास्नादार हुन्छ ।

मसला भण्डारण गर्ने तरिका
सिलौटो/खलमा पिसेको मसला दैनिकरुपमा तयार गरि उपयोग गरिने भएकोले यसमा रहेको सुक्ष्म पोषक तत्व तथा सुगंधमा खासै परिवर्तन हुन पाउँदैन तर मिलमा धेरै परिमाणमा मसला पिसिने भएकोले त्यसलाई भण्डारण गरेर राख्नु पर्दछ । मसला भण्डारण गर्दा हावा नछिर्नेगरी राम्ररी भण्डारण नगरिएमा अथवा लामो समयसम्म भण्डारण गरीएमा त्यसमा रहेको सुगंध तथा सुक्ष्म पोषक तत्व क्रमशः नष्ट हुँदै जान्छ । यसरी सूक्ष्म पोषक तत्व तथा सुगंधमा कमि आएको मसला प्रयोग गरि तयार गरिएको भोजन सिलौटो/खलमा पिसेको मसला भन्दा कम स्वादिलो तथा बास्नादार हुन्छ ।

विद्युतीय मिक्सर तथा मिलमा मसला पिस्ने प्रमुख कारण
प्रायः जसो सवै नेपालीहरुको घरमा मसला तयार गर्ने कुनै न कुनै परम्परागत उपकरण (सिलौटो, खल, ढिकी, जाँतो, ओखल) हुन्छ । उनिहरुलाई विद्युतीय मिक्सर तथा मिलमा पिसेको मसला भन्दा परम्परागत घरेलु उपकरणमा विस्तारै पिसेको मसला राखेको भोजन स्वादिलो तथा बास्नादार हुने तथ्य अनुभव सिद्ध छ । कहिलेकाँहि अलिक मिठो मसिनो खानु परेमा अथवा घरमा पाहुना आएमा भोजन तयार गर्दा सिलौटो/खलमा मसला पिसेर प्रयोग गर्ने गर्दछन् । नेपाली समाजमा स्वादिलो तथा वास्नादार भोजन मनपराउने चाहानामा कुनै परिवर्तन आएको पनि छैन । तर पनि परम्परागत मसला तयार गर्ने उपकरणको स्थान आधुनिक विद्युतीय मिक्सर तथा मिलले लिंदैछ । अतः मसला पिस्ने परम्परागत तरिकाको सट्टामा विद्युतीय मिक्सर तथा मिलमा मसला पिस्ने प्रचलनमा आएको ब्यापकताको कारणहरु निम्नानुसार छन् ।

पारिवारिक संरचनामा आएको परिवर्तन
हाम्रो सामाजिक संरचनामा आएको परिबर्तनका कारण संयुक्त परिवार टुक्रदै एकल परिवारको निर्माण हुँदैछ । एकल परिबारमा एउटैको आर्जनले परिवार चलाउन गाह्रो हुने हुँदा महिला पुरुष दुबैले सक्दो अर्थोपार्जनको कार्यमा खट्नु पर्ने हुन्छ । यसले गर्दा पहिला जस्तो भान्साकोठाको नेतृत्व महिलाहरुको मात्र नरही यस कार्यमा पुरुषहरुले सहकार्य गर्ने प्रचलन विस्तारै वढ्दै गईरहेको छ । पुरुषहरु स्वभावैले भोजन तयार गर्ने कार्यमा महिलाको तुलनामा कम जाँगरिलो हुन्छन् । उनिहरु सिलौटो, खलमा दैनिक मसला पिस्न अल्छि मान्दछन् । विद्युतीय मिक्सर तथा मिलमा एकै पटकमा धेरै पिरमाणमा मसला पिस्न सकिने भएकोले एक पटक पिसेको मसला लामो समय सम्म प्रयोग गर्न सकिन्छ । यसले गर्दा समयको वचत हुनुका साथै दैनिक मसला पिसिरहनु पर्ने झण्झट हुँदैन । यसले गर्दा विद्युतीय मिक्सर अथवा मिलमा पिसेको मसला प्रयोग गर्ने प्रचलन बढ्दै गइरहेको छ ।


आधुनीक उपकरणको उपलब्धता
पहिला मसला पिस्ने परम्परागत उपकरणकहरु मात्र थिय । मनलागे पनि नलागे पनि तिनै उपकरणमा मसला पिस्नु पर्थ्यो । तर अहिले विद्युतीय मिक्सरको सहज उपलब्धता तथा घर नजिकै मसला पिस्ने मिलको स्थापनाले गर्दा मसला पिस्ने विभिन्न विकल्पहरु उपलब्ध छन् । शाहि मशला उद्योग घट्टेकुलोको अनुसार आधुनिक मिलमा मसला पिस्दा समयको बचत हुनुका साथै मशला मसिनो हुने भएकोले मिलमा पसला पिस्ने प्रचनन वढेको छ । यसरी आधुनीक उपकरणको उपलब्धताको कारणले गर्दा विद्युतीय मिक्सर अथवा मिलमा पिसेको मसला प्रयोग गर्ने प्रवृत्तीमा वढोत्तरी गर्दैछ ।

शारीरिक सुखः चाहने प्रवृत्ती
मानिस स्वाभाविकैले शारीरिक सुखः चाहने प्राणी हो । उसलाई कसरी शारीरिक परिश्रम कम गर्न सकिन्छ भन्ने चिन्ता हुन्छ । दैनिक रुपमा सिलौटो/खलमा ठ्वाक ठ्वाक पार्दै मसला पिस्नुको सट्टामा विद्युतीय मिक्सर अथवा मिलमा विनाकुनै परिश्रम सरल तरिकाले मसला पिसेर उपयोग गर्दा भोजन तयार गर्दा शारीरिक परिश्रम गर्नु पर्ने मात्रामा केहि कमि आउँदछ । तसर्थ भोजन तयार गर्दा भोजनको स्वाद भन्दा पनि शारीरिक सुखानुभुतीको चाहनाले गर्दा विद्युतीय मिक्सर अथवा मिलमा पिसेको मसला प्रयोग गर्ने प्रवृत्तीमा वढोत्तरी गर्दैछ ।

तसर्थ स्वादिष्ट तथा बास्नादार भोजन मन परे पनि सिलौटो, खलमा दैनिक मसला पिस्न झण्झट मान्ने, आधुनिक उपकरणको प्रयोगमा गर्व गर्ने, शारीरिक सुखः चाहने, भोजन तयार गर्दा समयको वचत गर्न चाहने प्रवृत्तीले आदि विभिन्न कारणले गर्दा सिलौटो/खलमा दैनिक मसला पिस्नुको विकल्पमा विद्युतीय मिक्सर तथा मिलमा पिसेको मसला प्रयोग गर्ने प्रचलन ब्यापक रुपमा वढ्दै गइरहेको पाइन्छ ।

परम्परागत घरेलु उपचारमा मसलाको प्रयोग
मसलामा विद्यमान औषधिय गुणलाई ध्यानमा राखी यसलाई भोजनमा मात्र सिमित नराखी ‍औषधिको रुपमा समेत उपयोग गर्ने प्रचलन नेपाली समाजमा हालसम्म कायमै छ । परम्परागत घरेलु उपचारको नामवाट यस्ता उपचार विधि नेपाली समाजमा लोकप्रिय छन् । Gewalii (सन् २००८, पृ. १५-२१), दिक्षीत (सन् २०१५), अधिकारी (२०५५, पृ. २-५), घिमिरे (२०७२, पृ. ४१-४६), देवकोटा (१९६८), देवकोटा (२०७२), सुवेदी, घिमिरे, बैद्यका अनुसार केहि रोग तथा समस्याम औषधिको रुपमा उपयोग गरिने केहि वहु प्रचलित मसला देहाय अनुसार छन् ।

मसलाको नाम
परम्परागत घरेलु उपचार विधिमा मसलाको उपयोग
अलैंची
अरुची, खोकी, सास गन्हाउने, भोजन पचाउन
अदुवा
खोकी, दम, अजिर्ण, भोजन नपच्ने, भोक नलाग्ने, उल्टी, दुखेको कम गर्न
खुर्सानी
मोटोपन घटाउन, विशालु किट-पतंग तथा जनावरले टोकेमा
जाइफल/जाइपत्री
शरीरमा गर्मीपन ल्याउन, पाचन शक्ति बढाउन, शुल, दुखेको कम गर्न, शुक्रस्तंभन
जिरा
अजीर्ण, सुत्केरीको पाठेघर सफागर्न तथा दुध वढाउन, पिसाव पोलेमा, खानामा अरुची भएमा
ज्वानो
सुत्केरी महिलाको दुध वढाउन, शरीरमा क्याल्सीयमको मात्रा कम भएमा, पाचन शक्ति वढाउन, खाना अपच भएमा, पेट दुःखेमा
टिंमुर
अजीर्ण, दाँत दुःखने, खाद्यपदार्थमा भएको बिशालु पदार्थलाई निष्तेज गर्न, दाँत सम्वन्धी समस्या
दालचिनी
खोकी, दम, बात, चिनीरोग, हृदयरोग, दाँतको समस्या
धनिया
थाइराइड, पिशाव पोल्ने, अरुची, अपच, शरीरमा मुसा आएमा, शरीरमा शितलता प्रदान गर्न, उल्टी, धेरै तिर्खा लाग्ने
पुदिना
लु, शरीरमा शितलता प्रदान गर्न, अजिर्ण, पेट दुःखेमा, खान रुची बढाउन, खोकी, दम
बेसार
रक्त सुद्धि गर्न, लडेर चोटपटक लागेमा अथवा रगत वगिरहेमा रगत रोक्न, शरीरमा घाउ भएमा, दाँत दुःखेमा, दाँतमा पानी लाग्ने भएमा
मरिच
खोकी, लहरे खोकी, अजिर्ण, दाँतको समस्यामा, छालारोग, हावा भरिएर पेट फुल्ने
मेथी
चीनीरोग, बात, हृदयरोग, सुत्केरीकोलागी फाइदा गर्ने, दुःखेमा
ल्वाङ्ग
खोकी, दाँतदुखेमा, दाँतलाई बलियो बनाउन, दाँत सम्वन्धी समस्यामा, अम्ल पित्त
लसुन
चिसोबाट वचाउन, पाचन शक्ति वढाउन, बात, रक्तचाप नियन्त्रण गर्न, पेट दुःखेमा, खोकी
सुकमेल
शरीरमा वोसो जम्मा हुन नदिन, मुखको दुर्गन्ध हटाउन, उल्टी, खोकी, खानामा अरुची, पिसाब पोल्ने, धेरै तिर्खा लागेमा
सुँप/सम्फो
सुत्केरीको गर्भासय सफा गर्न र दुध वढाउन, सुत्केरीको पेट बान्न (ठुलोहुनवाट रोक्न), आँउ,
हलेदो
रुघा-खोकी, टण्सील, सुत्केरीलागी हितकारी, जाडोको समयमा शरीरलाई चिसोबाट वचाउन, अर्वुदरोग
हिंग
पाचन शक्ति वढाउन, कब्जियत हटाउन, पेट दुःखेकोमा, महिनावारी हुँदा दुःखनेमा

मसला पिस्ने प्रचलन र मानव स्वास्थ्य विच अन्तरसम्वन्ध
चुराको खनखन आवाजका साथ मसला पिस्दा आउने सुमधुर संगीतले खाना तयार हुन लागेको सवैलाई थाहा हुन्छ । यस्ले विभिन्न काम गर्दा उत्पन्न भएको मानसिक तथा शारिरिक थकानलाई तुरन्तै हटाउँदछ । हाम्रो शरिरले समेत खाना पाक्न लागेको महसुस गरी पाचन प्रकृयामा सहभागीहुने अंगहरु लाई तयारी अवस्थामा राख्दछ । पाचन प्रकृयाकालागी आवश्यक रसहरु निस्कन तयारी भएर वस्दछन् । यसरी सम्पुर्ण शरीर भोजनलाई स्वागत गर्न तम्तयार भएर वस्दछ ।  जठराग्नी समेत प्रज्वोलीत हुन पुगी खाएको भोजन समयमानै पच्दछ र सड्न पाउँदैन । तर आजकल मिलमा पिसेको मसलाको कारण भोजन तयार गर्दा चुरा बज्ने तथा सिलौटोको आवाज आउने अवस्थानै रहेन । खाना पाक्न लागेको शरिरले महसुस गर्न नसक्दा भोजनलाई स्वागत गर्न शरिर पुर्णरुपमा तैयार भएर वसेको हुँदैन । तसर्थ यस्तो समयमा भोजन ग्रहण गर्दा पाचनरस प्रयाप्त मात्रामा निस्कन नसकी भोजन पुर्णरुपमा पच्न पाउँदैन र सड्न पुग्दछ । यहि सडेको भोजनको कारण नै विभिन्न रोगको उत्पत्ति भई मानिसहरु अस्पतालको चक्कर लगाउन विवस हुन्छन् ।

नेपालमा मसला बाली तथा जडिवुटीको स्थिति
आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण (पृ.१५८) अनुसार नेपालमा दर्ता भएका कुल सहकारी संस्था ३१६०५ मध्ये कार्यप्रकृति जडिवुटी भएको सहकारी संस्था १९४ वटा छन् । यि सहकारी संस्थामा पुरुष ४९०१ र महिला ७१८५ गरि जम्मा ७१८५ जना सदस्य छन् । यि सहकारी संस्थाहरुमा पुरुष ३३ जना र महिला ३५ जना गरी जम्मा ६८ जनाले प्रत्यक्षरुपमा रोजगारी पाइरहेका छन् ।

आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण (पृ. १४३) अनुसार नेपालमा मसला बालीहरुको उत्पादनको प्रारम्भिक स्थिति निम्न अनुसार छ ।
मसला बालीहरुको उत्पादनको प्रारम्भिक स्थिति
मसलाबाली बालीहरु
आर्थिक वर्ष २०७०/७१
आर्थिक वर्ष २०६९/७०
क्षेत्रफल
(हेक्टर)
उत्पादन
(मे.टन)
उत्पादकत्व
(मे.टन/के.जी.)
क्षेत्रफल
(हेक्टर)
उत्पादन
(मे.टन)
उत्पादकत्व
(मे.टन/के.जी.)
अदुवा
२४२५०
२८५५५०
११७७५
२४२२६
२७६१५०
११३९९

(.)
(.)
(.)
(.)
(१४.)
(११.)
लसुन
६६१०
४७५००
७१८६
६५६९
४५०३५
६८५६

(.)
(.)
(.)
(-.)
(-११.)
(-.)
बेसार
७३२५
६९७९०
९५२८
७३१०
६७६३१
९२५२

(.)
(.)
(.)
(-.)
(-१४.)
(-.)
खुर्सानी
८०५०
३६८१०
४५७३
८०३३
३५६६८
४४४०

(.)
(.)
(.)
(-.)
(.)
(१०.)
अलैंची
११६५०
५३५०
४५९
११५०१
५२२५
४५४

(.)
(.)
(.)
(१३.)
(-.)
(-.)
स्रोत कृषि विकास मन्त्रालय
नोटः कोष्ठ भित्रको अंकले अघिल्लो बर्षको तुलनामा भएको वृद्धिदरलाई प्रतिशतमा जनाउँदछ ।

माथिको तालिकालाई अध्ययन गर्दा नेपालमा मसला बालीकोरुपमा मुख्य रुपमा अदुवा, लसुन, बेसार, खुर्सानी, अलैंची आदिको खेति गरिन्छ । आ.व. (आर्थिक वर्ष) २०६८/६९ को तुलनामा आ.व. २०६९/७० मा मसला बाली खेति गर्ने क्षेत्रफल तथा उत्पादनमा केहि ऋणात्मक परिवर्तन देखिए पनि २०६९/७० को तुलनामा आ.व. २०७०/७१ मा मसला बाली खेति गर्ने क्षेत्रफल तथा उत्पादन बढ्ने अनुमान छ । मसला बालीहरु मध्ये अदुवा, लसुन, बेसार, खर्सानी र अलैंचीको उत्पादन क्रमशः ३.४, ५.५, ०.१, ३.२ र २.४ प्रतिशतले वृद्धि हुने अनुमान छ भने अदुवा, लसुन, बेसार, खर्सानी र अलैंची खेती गर्ने क्षेत्रफलमा क्रमशः ०.१, ०.६, ०.२, ०.२ र १.३ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

मसला बाली र जडिवुटीको निर्यातको अवस्था
नेपालमा उत्पादित मसलाबालीहरु स्वदेशमा मात्र खपत नभई बिदेस निर्यात समेत हुने गरेको छ । आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण तालिका सूची (पृ. ६०-६१) अनुसार नेपालबाट भारत तथा अन्य मुलुक तर्फ निर्यात गरिएका मसला बाली तथा जडिवुटीको अवस्था देहाय अनुसार छ ।

भारत निर्यात भएका मसला बाली र जडिवुटी
                                                                                                                                                                                           रु. करोडमा
विवरण
२०६०
/६१
२०६१
/६२
०६२
/६३
२०६३
/६४
२०६४
/६५
२०६५
/६६
२०६६
/६७
२०६७
/६८
२०६८
/६९
२०६९
/७०
२०७०
/७१
प्रथम आठ महिना
'२०७०
/७१
२०७१
/७२*
जडिवुटी
.
१३.
१३.
१०.
१४.
२०.
२३.
१७.
.
३१.
२४.
१३.
३८.
सुठो
.
.
.
.
.
.
.
.
.
.
.
.
.
अदुवा
२८.
१६.
२७.
५४.
५४.
३३.
३५.
३०.
३८.
१३१.
४६.
३३.
२५.
अलैची
४५.
६०.
६०.
८४.
१०३.
१२१.
१३१.
१९१.
३२७.
३८५.
४२६.
३३३.
२१०.
* अपरिष्कृत
स्रोत नेपाल राष्ट्र बैंक

अन्य मुलुकतर्फ निर्यात भएका मसला बाली र जडिवुटी
                                                                                                                                                                                           रु. करोडमा
विवरण
२०६०
/६१
२०६१
/६२
०६२
/६३
२०६३
/६४
२०६४
/६५
२०६५
/६६
२०६६
/६७
२०६७
/६८
२०६८
/६९
२०६९
/७०
२०७०
/७१
प्रथम आठ महिना
'२०७०
/७१
२०७१
/७२*
अलैंची
२३.
२०.
१०.
१३.
.
.
.
.
.
.
.
.
.
जडिवुटी
.
.
.
.
.
४१.
२३.
१२.
१९.
.
१३१.
६५.
.
* अपरिष्कृत
स्रोत नेपाल राष्ट्र बैंक


मसलाको सूचकाङ्क
आर्थिक बर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण तालिका सूची (पृ. २९,३६) अनुसार समूहगत उपभोग्य बस्तुहरुको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क, बार्षिक र राष्ट्रिय थोक मुल्य सूचकाङ्क (प्रथम आठ महिना) देहाय अनुसार छ ।

समूहगत उपभोग्य बस्तुहरुको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क, बार्षिक
(आधार वर्ष २०६२/६३=१००)
उपभोग्य बस्तुहरु
भार प्रतिशत
२०६४
/६५
२०६५
/६६
२०६६
/६७
२०६७
/६८
२०६८
/६९
२०६९
/७०
२०७०
/७१
प्रथम आठ महिनाको औषत
'२०७०/७१
२०७१/७२*
प्रतिशत परिवर्तन
मसला
.४६
१२२.
१३७.
१७५.
२१५.
१९६.
२०५.
२२५.
२२४.
२५१.
१२.
* अपरिष्कृत
स्रोतः नेपाल राष्ट्र बैंक

राष्ट्रिय थोक मुल्य सूचकाङ्क (प्रथम आठ महिना)
(आधार वर्ष २०५६/५७=१००)

समूह / उपसमूह
भार प्रतिशत
२०६६
/६७
२०६७
/६८
२०६७
/६८
२०६८
/६९
२०६८
/६९
२०६९
/७०
२०६९
/७०
२०७०
/७१
२०७०
/७१
२०७१
/७२
प्रतिशत परिवर्तन**
असार
फागुन
असार
फागुन
असार
फागुन
असार
फागुन
असार
फागुन*
२०७०
/७१
२०७१
/७२
मसलाहरु
.९५
२४५.
२८१.
२५८.
२२६.
२१६.
२३४.
२८२.
३१४.
३१४.
३२१.
३२.
.



निष्कर्ष
नेपालमा मसलाको आफ्नै बिशिष्ट महत्व छ । यहाँ मसला भन्नाले मसला बाली का साथसाथै केही जडिवुटी जस्तैः जाइफल, जाइपत्री, दालचिनी, सुकुमेल, मरिच, अलैची, ल्वाङ्ग, हलेदो, जिरा, धनियाँ, खुर्सानी, ज्वानो, मेथी, टिंमुर, लसुन, प्याज, तोरी, रायो, अदुवा आदि लाई बुझिन्छ । मसलामा विद्यमान औषधिय गुणले गर्दा आयुर्वेदमा यसलाई औषधि भनेर सम्वोधन गरिएको पाइन्छ । मसला भित्र विद्यमान सुक्ष्म पोषक तत्व, सुगंध तथा औषधिय गुणका कारण बिदेशमा यसको धेरै माग छ भए पनि प्रयाप्तमात्रामा उत्पादन नहुँदा माग अनुसार आपुर्ति गर्न सकिएको छैन । यदि मसला बाली तथा जडिवुटीको ब्यावसायीक खेती गर्न सकेमा देशको आबस्यकता पुर्ति गरि निर्यात गर्दा बैदेशिक मुद्रा प्राप्त गर्नुका साथै ब्यापारघाटा कम गर्न सकिन्छ । यसले कृषकलाई निर्बाहमुखी खेतिवाट ब्यावसायिक खेति तर्फ रुपान्तरण हुन अभिप्रेरित गर्दै ग्रामीण बिकासमा महत्वपुर्ण खुड्किलो सावित गर्न सक्दछ । परम्परागत घरेलु तरिका अनुसार सिलौटो/खल, ओखल, ढिकी, जाँतोमा विस्तारै पिसेको मसला राखेर स्वादिष्ट तथा बास्नादार भोजन तयार गर्ने नेपालीको आफ्नै बिशिष्ट परम्परा छ । यसरी पकाएको भोजन जिव्रोमा झुण्डिने स्वादिलो हुन्छ । परम्परागत घरेलु तरिका अनुसार मसला पिस्ने कार्य बिस्तारै गरिने भएकोले यसरी पिसेको मसला तात्न पाउँदैन । तर विद्युतीय मिक्सर तथा मसला पिस्ने मिल जस्ता उपकरण तीव्र गतिमा चल्ने भएकोले यिनमा पिसेको मसला तातन जाँदा त्यसमा रहेको सूक्ष्म पोषक तत्व तथा सुगन्ध केहि मात्रामा नष्ट हुन्छ । विद्युतीय मिक्सर तथा मिलमा एकै पटकमा धेरै मात्रामा मसला पिसिने भएकोले यसरी पिसेको मसला ब्यवस्थित तरिकाले भण्डारण नगरेमा अथवा लामो समय सम्म भण्डारण गरेर राखेमा स्वतः मसलामा रहेको सूक्ष्म पोषक तत्व तथा सुगंधमा क्रमसः कमि आउँदै जान्छ । मसलामा विद्यमान सूक्ष्म पोषक तत्व तथा सुगन्धको मात्रा अनुसार भोजनको स्वाद तथा वास्नामा फरकपन आउँदछ । यिनै विभिन्न कारणहरुले गर्दा तिव्रगतिको विद्युतीय उपकरणमा पिसेको मसला भन्दा सिलौटो/खलमा पिसेको मसला प्रयोग गरी तयार गरिएको भोजन ज्यादा स्वादिलो, वास्नादार तथा पोषिलो हुन्छ । तसर्थ स्वादका पारखी तथा मसलामा विद्यमान ‍औषधीय गुणलाई कायम राखी भोजन गर्न चाहने व्यक्तिले सिलौटो/खलमा पिसेको मसला उपयोग गर्नु पर्दछ । यदि ‍विद्युतीय मिक्सार अथवा मिलमा मसला पिस्न परेमा बिस्तारै चल्ने (कम्तीमा पनि १०० RPM भन्दा कम गतिको) विद्युतीय उपकरणमा समला पिस्ने गरेमा विद्युतीय उपकरणको गति कम हुन गई यसमा पिसेको मसला तात्न पाउँदैन र यसमा रहेको सूक्ष्म पोषक तत्व तथा सुगन्धमा कमि आउन नपाई मसलाको प्राकृतिक गुणस्तर कायम रही सिलौटो/खलमा पिसेको मसला जस्तो स्वादिलो तथा वास्नादार हुन्छ तर यसरी पिसेको मसला हावा नछिर्ने गरि भण्डारण गरेर राखी यथा सक्य चाँडो उपयोग गरि सक्नु पर्दछ ।

सन्दर्भ सामग्रीहरु
अधिकारी श्याममणि, २०५५: स्थानीय जडिबुटीद्वारा स्वास्थ्य-रक्षा,  महेन्द्र संस्कृत विश्वविद्यालय, वेलझुण्डी, दाङ
खप्तड स्वामी, स्वास्थ्य विज्ञान, २०६९: खप्तड आश्रम प्रकाशन समिति, काठमाण्डौ
दीक्षित राजीव, सन् २०१५: व्याख्यान, 15-1 Swasthya kaise rahe bina dawa aur doctor ke, 1-8,
    http://rajivdixit.net/content-index-
देवकोटा कोषनाथ, १९६८: नेपाली निघण्टु, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ
व्यक्तिगत कुराकानी, शक्ति मसला उद्योग घट्टेकुलो काठमाण्डौं, २०७२: २०७२।०५।०३ गते
व्यक्तिगत कुराकानी, तारा प्रसाद देवकोटा, २०७२।१।१८ गते
व्यक्तिगत कुराकानी, भाष्कर घिमिरे, २०७१।१०।१४ गते
व्यक्तिगत कुराकानी, सुनपुरे छोड्का चौधरी, २०७१।६।४ गते
व्यक्तिगत कुराकानी, हरि सुवेदी, २०७२।२।६ गते
chakkimasala, August 5 2015: http://www.chakkimasala.com/#!about1/c1he7
Kochhar K. P., Indian J Physiol Pharmacol 2008; 52 (4) : 327–354 DIETARY SPICES IN HEALTH AND DISEASES (II), Department of Physiology, All India Institute of Medical Sciences, New Delhi – 110 029
Gewalii Mohan Bikram,२००८: Aspects of Traditional Medicine in Nepal, Institute of Natural Medicine, University of Toyama
बिबिसि हिन्दी सेवा
     http://www.bbc.com/hindi/science/2013/01/121226_spices_dp
scientificworld
     http://www.scientificworld.in/2010/01/blog-post_14.html